nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सेमिफाइनलमा नेपाल र भारत आमनेसामने

women-tim-1483327450.JPG

नेपालले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेलको सामना गर्नुपर्ने भएको छ । 
अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् । नेपालले सोमबार भारतसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतका बीच प्रतिस्पर्धा भएको थियो । त्यसमा भारत विजयी भएको थियो । त्यसयता दुई टोलीबीच सोमबार भेट हुनेछ ।
शनिबार समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा स्टेडियममा गोलरहित बराबरी खेलेपछि भारत समूहको उपविजेताका रुपमा अघि बढ्दै बंगलादेश समूह ‘बी’को विजेता बनेको छ । नेपाल समूह ‘ए’को विजेता हो भने माल्दिभ्स उपविजेता । अब अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्सबीच हुनेछ ।
भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको छ । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो ।
महिला साफ च्याम्पियनसिपको ६ बर्ष लामो इतिहासमा भारत पहिलो पटक बराबरीमा रोकिएको हो । नेपाल समूह चरणका तीनै खेल जितेर विजेता बनेको थियो भने दुई खेल जितेको माल्दिभ्स उपविजेता । श्रीलंका १ खेल जित्दै र भुटान अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । अर्को समूहबाट अफगानिस्तान च्याम्पियनसिपबाट बाहिरसकेको छ ।


‘हामी भारतलाई रोक्छौं’
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले भने ‘त्यो सेमिफाइनल भएपनि हाम्रो लागि फाइनल सरह हुनेछ ।’ उनले भारतविरुद्ध सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् र हामी सफल नतिजाका लागि प्रयास गर्नेछौं ।’ 
    भारतीय टोलीका प्रशिक्षक दारले नेपाललाई बलियो प्रतिद्वन्द्वि मानेका छन् । ‘नेपाल निकै बलियो टोली हो । हामी सागमा जस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछौं’ उनले भने,‘सावित्रा निकै खतरनाक छिन् उनलाई रोक्ने योजना बनाउनेछौं ।’

नवीन तिमल्सिना