Wednesday, 17th December, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिको आवेदन खुल्यो
३० कात्तिकभित्र आवेदन पेस गरिसक्नुपर्ने

scholarship-1761713079.jpg

सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन खुलाएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिबालयले सूचना प्रकाशन गरी यस्तो आवेदन आह्वान गरेको हो । उक्त सूचनालाई थाहा नगरपालिकामा विद्यालय तथा सम्बन्धित परिवारसम्म पु¥याउन शिक्षा शाखा, रोजगार सेवा केन्द्र र सुरक्षित आप्रवासन कार्यक्रम(सामी)ले पहलकदमी लिएका छन् ।

थाहा नगरपालिकामा वैधानिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका मध्ये २०७८ साल यतामात्रै ९ जनाको मृत्यु भएको रोजगार संयोजक कुमार नेगीले जानकारी दिए । यस अवधिमा ७ जना विरामी तथा अंगभंग भएका व्यक्ति नगरपालिकाको सम्पर्कमा आएका छन् ।

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिको सुविधा प्राप्त गर्नका लागि वैधानिक रुपमा श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अंगभंग वा विरामी भई कल्याणकारी कोषबाट बोर्डका सचिबालयमार्फत् शत् प्रतिशत आर्थिक सहायता प्राप्त गरेको हुनुपर्ने बोर्डले जनाएको छ । शत्प्रतिशत आर्थिक सहायता लिएको भन्नाले २०६५ कार्तिकदेखि २०६८ जेठसम्म रु. १ लाख, २०६८ असारदेखि २०७१ असोजसम्म रु. १ लाख ५० हजार, २००७१ कार्तिकदेखि २०७४ साउनसम्म रु. ३ लाख, २०७४ भदौदेखि २०८१ कार्तिकसम्म रु. ७ लाख र २०८१ मंसिरदेखि रु. १० लाख प्राप्त गरेको भनेर बुझ्नुपर्ने बोर्डले स्पष्ट पारेको छ ।

नेपालको जुनसुकै सामुदायिक एवम् संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर पूर्व प्राथमिक कक्षा वा नर्सरी या सो सरहदेखि कक्षा १२ सम्मका १८ वर्ष मुनिका बालबालिकाहरुले तोकिएको कागजात राखी विद्यालयको प्रधानाध्यापक समक्ष वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि–२०८० को अनुसूची(१)बमोजिमको ढाँचामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

अनुसूची १ बमोजिमको निवेदन पेश गर्दा कामदारको राहदानीको प्रतिलिपि, अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस, जन्मदर्ताको प्रतिलिपि, अभिभावकको नागरिकताको प्रतिलिपि, कामदार, अभिभावक र विद्यार्थीको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि र आफ्नो या अभिभावकको चालु अवस्थामा रहेको बैंक खाता चेकको प्रतिलिपि पेश गर्नुपर्नेछ । पहिलेदेखि नै छात्रवृत्ति पाइरहेकाहरुले भने अनुसूची १ बमोजिमको निवेदनको साथ कामदारको राहदानीको प्रतिलिपि, अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस र आफ्नो या अभिभावकको चालु अवस्थामा रहेको बैंक खाता चेकको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

२०८२ असोज मसान्तसम्म आर्थिक सहायाता प्राप्त गर्ने कामदारका बालबालिकालाई मात्र शैक्षिक सत्र २०८२ को छात्रवृत्ति प्रदान गरिने बोर्डले जनाएको छ । आगामी ३० कात्तिकभित्र विद्यालयमा आवेदन पेस गरिसक्नुपर्नेछ ।

वार्षिक रुपमा आधारभूत तहमा अध्ययनरत बालबालिकाले रु. १२ हजार र माध्यमिक तहमा अध्ययन गर्नेहरुले रु. १६ हजार छात्रवृत्ति प्राप्त गर्नेछन् । एउटा कामदारका जति सङ्ख्यामा योग्यता पुगेका सन्तति भए पनि सहायता उपलब्ध हुने बोर्डले जनाएको छ ।