nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

विश्वकप छनौटमा फ्रान्सको सुरुवात कमजोर

युरो २०१६ को उपबिजेता फ्रान्सले विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न असफल भएको छ ।

बेलारुसको घरेलु मैदान बोरिसोभ एरिनामा गएराति भएको खेलमा डिडिएर डेसच्याम्पको टोली फ्रान्सले गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएरपनि उसले गोल भने गर्न सकेन । घरेलु समर्थक उत्साहित बनेको खेलमा बेलारुसले रक्षात्मक खेलको नमुना प्रस्तुत गरेको थियो ।

पाउल पोग्वा र ओलिभर जिरोडका केहि शशक्त प्रहार बेलारुसका गोलरक्षक आन्द्रे गोर्बुनोभले बिफल पारिदिएका थिए । दोस्रो हाफको सुरुमै जिरोडको एक प्रहार क्रसबारमा लागेर बाहिरिएपछि फ्रान्सले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो ।

करिम बेञ्जिमालाई अझै फ्रान्सेली टोलीमा समावेश गरिएको छैन । टोलीको प्लेमेकरको जिम्मा पाएका जिरोर्डले पनि अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि बेलारुससँग फ्रान्स निराश बन्न पुग्यो ।

समूह ए को अर्को खेलमा स्वीडेनले नेदरल्याण्ड्ससँग पनि गोलरहित बराबरी खेलेको छ । यस समूहमा बुल्गेरियाले लक्जेम्बर्गलाई ४-३ गोलले पराजित गर्‍यो । फ्रान्सले अक्टोवर ७ मा छनौट प्रतियोगिताको दोस्रो खेलमा बुल्गेरियाबिरुद्ध खेल्दैछ ।