Monday, 24th August, 2026
वि.स.

विद्युत् प्राधिकरणमा नाफै नाफा

Pradhikaran-1585918094.jpg

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युतको औसत खरीद दरमा आएको कमीका कारण प्राधिकरणको नाफा बढेको हो।  नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा रु. १० अर्ब ६६ करोड ७९ लाख नाफा कमाएको छ। यो नाफासँगै संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युतको औसत खरिद दरमा आएको कमीका कारण प्राधिकरणको नाफा बढेको हो। आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६ मा आइपुग्दा १५.३२ प्रतिशतमा झरेको छ।

एक प्रतिशत विद्युत चुहावट घटाउँदा करिव रु. ७० करोड प्राधिकरणलाई फाइदा हुन्छ।  प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५/७६ मा रु. ७ अर्ब २० करोड खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो। महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले गत आर्थिक वर्षमा रु. ९ अर्ब ८१ करोड २५ लाख खुद नाफा कमाएको देखिएको छ । यसमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी रु. ८५ करोड ५४ लाखसमेत थपिदाँ नाफा रु. १० अर्ब ६६ करोड पुगेको हो।

त्यस्तै, प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ। अघिल्लो आर्थिक आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख भएको थियो। आव २०७२/७३ मा रु. ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष रु. ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरणले कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछिका वर्षहरुमा वित्तीय स्थितिमा फड्को मारिरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा वृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको बताएका छन्।

- हिमालबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०