Monday, 24th August, 2026
वि.स.

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

Youtube-1600387580.jpg

नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि राष्ट्र बैंकले सूचना जारी गर्दै विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने बताएको छ ।

राष्ट्र बैंकको यो व्यवस्थापछि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्नेछन् ।

यसअघि युटुव जस्ता सामाजिक सञ्जालबाट आम्दानी भएका रकम धेरै जसो वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् आउने गरेको थियो । राष्ट्र बैंककाअनुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्नेछ ।

यसरी आम्दानी भएको रकमका सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने तथा सम्पन्न कारोवारहरुको मासिक विवरण तोकिएको ढांचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र यस्तो कारोबार गर्ने बैंक तथा अन्य संस्थाले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०