Saturday, 27th July, 2024
वि.स.

महासंघको सचिवमा थाहानगर इन्चार्ज बल निर्वाचित

नेकपा (एमाले) निकट आदिवाशी जनजातिहरुको संगठन नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघको प्रथम महाधिवेशनबाट केन्द्रीय सचिवमा मकवानपुरका रामचन्द्र बल चयन भएका छन् । सचिवमा निर्वाचित बल नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहानगर इन्चार्ज एवं नेपाल लोकतान्त्रिक तामाङ संघका सचिवालय सदस्य हुन् । सम्पन्न अधिवेशनबाट मकवानपुरबाटै मिना लामा महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । लामा नेकपा एमाले मकवानपुरको उपसचिव हुन् । 
यसअघि महासंघ मातहत ३३ जातिय घटक संघका अध्यक्षहरु स्वत केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् । तसर्थ नेपाल लोकतान्त्रिक चेपाङ संघका अध्यक्ष गोबिन्दराम चेपाङ र नेपाल लोकतान्त्रिक दनुवार संघका अध्यक्ष रामचन्द्र दनुवार पनि मकवानपुरकै हुन् ।

महासंघको अध्यक्षमा पृथ्वी सुब्बा गुरुङ चयन भएका छन् । नेकपा ९एमाले० को भातृ सङ्गठनको रुपमा रहेको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनको उद्घाटन शनिबार भएको थियो । यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ चयन भएका छन् भने उपाध्यक्षहरुमा तीलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपासुर शेर्पा, झकबहादुर थापा, शान्ता चौधरी र चित्रबहादुर थापामगर चयन भएका छन् ।

महासचिवमा भने परशुमेघी गुरुङ चयन भएका छन् । उपमहासचिवद्वयमा टासी लामा र विजय लोप्चन चयन भएका छन् । यसैगरी सचिवहरुमा बलका अलावा पीके राई, शारदा कुमाल र देवराज राई चयन भएका छन् । कोषाध्यक्षमा भने राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चयन भएका छन् ।

यसअघि नेतृत्व चयनमा कुरा नमिलेपछि सम्मेलन सोमबारसम्म लम्बिएको थियो । अध्यक्षका लागि पार्टीका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङ र पोलिट्ब्युरो सदस्य शेरबहादुर तामाङले दाबी गरे पनि अन्तिममा भने तीनै जनाले सहमति गरेको बताइन्छ । 

यसअघि महासंघको ६७ सदस्यीय कार्यसमितिका लागि १ सय ५० जनाको उम्मेदवारी परेको थियो । तर, पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन हुन पुगेको छ ।