Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा ४ अर्ब खर्चेर हाइड्रोपावरको काम हुँदै

देशमा लोड सेडिड्डको चरम समस्या भएको बेला मकवानपुरको इपाबाट २२ मेगावाटको विद्युत निकाल्ने तयारी भएको छ । मकवानपुरको इपा गाविसबाट सुरुङतर्फको काम हाल धमाधम भैरहेको छ। बाग्मतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो । माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या–९ मा आउँदो २०७५ सालभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालेको हेटौडाबाट प्रकाशन हुने सक्रिय साप्ताहिकले खबर लेखेको छ ।

बाग्मती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न ४ अर्ब रुपैयाँ खर्च लाग्ने बताएको छ। इपा पञ्चकन्या ९ दोभानबाट खन्न थालिएको हाइड्रोको अहिले सुरुङपट्टीको २४ प्रतिशत काम सकिएको ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चर प्रालिका इन्जीनियर जीवन भट्टराईले बताउनु भयो। अहिले दुई पट्टीबाट सुरुङको काम चलिरहेको छ । दोभानबाट ५ सय ६० र पावरहाउस रहने ठाउँ बेसीबगरबाट २ सय २० मिटर खनिएको इन्जीनियर भट्टराईले बताउनु भयो । अबको डेढबर्षमा काम सकिने समय रहेको छ। २०७२ जेठबाट निर्माण थालेको कम्पनीको सम्पुर्ण काम मध्ये अहिलेसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाइएको छ। हालसम्म २४ सय ४० मिटरमध्ये ७ सय ७२ मिटर सुरुङ खन्ने काम सकिएको छ।

रन आफ रिभर अनुसार निर्माण थालिएको हाइड्रोमा ३ दशमलव ५ मिटर अग्लो र ५५ मिटर लामो ड्याम निर्माणको काम भइरहेको छ । बाग्मतीको पानी इपापन्चकन्या–९ दोभानमा ड्याम बनाइ कुलेखानी, बाग्मती र कोगटेको पानी छेकेर सुरुङ मार्फत इपाकै बगरबेसीमा विद्युत् उत्पादन गरिनेछ। ड्याम र पावर हाउसबीचको दूरी साढे २ किलोमिटर रहेको छ । हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फ्रास्ट्रक्चर फण्डले लगानी गरेको छ भने मकवानपुर को माण्डु हाइड्रोपावर कम्पनीले प्रवर्धकको काम गरिरहेको छ ।

२२ मेगावार्डको बिद्युत उत्पादन गर्ने लक्ष्य हो । २०७५ सम्मका काम सक्ने लक्ष्यका साथ काम गरिरहेको र उत्पादन भएको बिद्युत कुलेखानी पहिलोको ६६ केभिए प्रशारण लाइनमा जोड्ने निर्माण कम्पनी माण्डु हाइड्रोका इन्जिनियर सुरज पन्तले बताउनु भयो। कुलेखानी पहिलोमा जोड्नका लागि हाइड्रोको पावर हाउस इपाको बेसीबगरबाट १४ किलोमिटर लामो प्रशारण लाइन बनाउँनुपर्ने उहाँले जानकारी दिनु भयो। अबको तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न काम गरिरहेको हाईड्रोको निमार्ण पक्षले जनाएको छ। नाकाबन्दी र भूकम्पका कारण केही समय काम प्रभावित भएकाले निर्माण सम्पन्न हुन थप केही समय लाग्न सक्ने अनुमान गरिएको छ । हाइड्रोमा दैनिक २ सय मजदुरले सुरुङ निर्माण सहित अन्य काम गरिरहेको बताइएको छ। मकवानपुरको बिकट इपापन्चकन्या गाविसमा विद्युत् आयोजना निर्माण सुरु भएपछि यहाँका स्थानीय उत्साहित रहेका छन् ।

जनप्रिय पत्रकारिताका लागि सक्रियता निर्माण पक्षका अनुसार अहिले सम्म स्थानिय बासिन्दाको अवरोधका कारण काम रोकियो भन्ने कुनै दिन छैन । कम्पनीले आयोजना प्रभावित मकवानपुर को इपापन्चकन्या, सिस्नेरी, कोगटे र ललितपुरको माल्टा र घुसेलका स्थानीयलाई सेयर वितरण गर्ने जनाएको छ । विद्युत् आयोजना निर्माणले यस क्षेत्रका स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा रहेको आयोजना सरोकार समितिका संयोजक हिदम लामाले बताउनु भयो। पावर हाउसको पूर्ण निर्माण यस क्षेत्रको भविष्यसँग जोडिएकोले स्थानीयहरुले पनि सक्दो सहयोग गरेको आयोजना सरोकार समितिका संयोजक लामाको दावि छ । स्थानीय क्षेत्रबाट हुने पर्ने सहयोगमा हामीले कुनै कन्जुस्याँई गरेका छौनौ उहाँले भन्नु भयो ।