nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फागुपूर्णिमामा ऋषेश्वर जाँदै हुनुहुन्छ ? यी हुन् ३ मुख्य पदमार्ग

IMG-20240323-WA0005-1711183177.jpg

चन्द्रपात्रो अनुसार ११ चैतमा यस वर्षको फागुपूर्णिमा परेको छ । होलीको पर्व फागुपूर्णिमामा थाहा नगरपालिकाको प्रशिद्ध ऋषेश्वरमा भने ठूलो मेला लाग्ने गर्दछ । हिन्दु र बौद्धमागी दुबैको आस्थाको केन्द्रस्थल ऋषेश्वरमा वर्षको फागुपूर्णिमा र ठूलो एकादशीमा ठूला मेला लाग्छ भने पहिले शनिबार र सोमबार भक्तजनहरुको भीडभाड हुने गरेकोमा अहिले दिनहुँ ऋषेश्वर दर्शन गर्न जानेहरु भेटिन्छन् । ऋषेश्वर दर्शन गर्न स्थानीय र नेपालीहरु मात्र होइन, तिब्बत, भारत, भुटान,म्यानमार, श्रीलङ्का लगायत देशहरुबाट आउने गर्छन् । समुद्र  सतहदेखि २४०० मिटरको उचाइमा रहेको महाभारत पर्वतको टाकुरामा रहेको यहाँ पुग्न सडकमार्गलाई छोडेर पैदल हिँड्नुपर्दछ । त्रिभुवन राजमार्गमा ओर्लिएर तीन प्रमुख पदमार्गबाट ऋषेश्वर पुगन सकिन्छ ।
 

शिखरकोट–धारापानी–ऋषेश्वर


टाढाका तीर्थयात्रीहरु त्रिभुवन राजपथको शिखरकोट वा धारापानीमा सवारीबाट ओर्लेर यो पदमार्ग पकड्न सकिन्छ । ऋषेश्वर पुग्ने यो सबैभन्दा पुरानो बाटो हो  । पहिले स्थानीयदेखि बाह्य धर्मावलम्बी, तीर्थयात्रीहरु यही मार्ग भएर ऋषेश्वर पुग्थे । राजा पृथ्वी बहादुर सिंह विवाहको लामो समयसम्म सन्तान नभएकोले ऋषेश्वरको दर्शन गरी सन्तान मागेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने सुनेपछि ऋषेश्वर आउँदा यही बाटो भएर ऋषेश्वर पुगेका थिए । खोलाको ठूलो दहमा रानीले नुहाएकी थिइन् जुन दहलाई रानी दह भनेर चिनिन्छ । नुहाएपछि रानीले ढुङ्गामा आगो बालेर तापिन्, जुन ढुंगालाई स्थानीयले अगेनु ढुंगा भन्दछन् । ऋषेश्वरलाई ऐतिहासिक पालुङबाट पाण्डुकेश्वरको मुकुट पहि¥याउन जाँदा लावालस्कर लाग्ने मार्ग पनि यही हो ।  

२०५० सालको बाढीले यो मार्गको खोला क्षेत्र बढी बिग्रियो । अहिले वर्षा याममा खोला बढेर खोलैखोलाको बाटो हिँड्न गाह्रो हुन्छ  जसको लागि धारापानीबाट हरकेसी भन्ने गाउँपट्टि लागेर पाखैपाखाको बाटो जान सकिन्छ । वर्षा याममा समेत पैदल यात्रीलाई सजिलो होस् भनेर अहिले खोलाको पारीपट्टी पाखाबाट थाहा नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय वडा कार्यालयले पदमार्ग मर्मत र सुधार गरेको छ । ठाउँठाउँमा ढुङ्गा सोलिङ गरेर यो पदमार्गको ऋषेश्वरसम्मै मर्मत सुधार गरिएको छ । पदमार्ग मर्मत गरिएसँगै अहिले यो मार्ग पदयात्रीहरुको आँखामा पर्न थालेको छ । 

हिउँद याममा अहिले खोलैबाट पनि जान सकिन्छ । केही माथि पुगेपछि खोला र पाखा दुवैतिरको बाटो एकै ठाउँमा मिसिन्छ । उत्तरवाहिनी हिमगंगाको सुशेली र कलकल आवाजको साथ उकालोउकालै लाग्न निकै मज्जा हुन्छ । चराको चिरविर आवाजले छुट्टै आनन्द प्राप्त हुन्छ । ठाउँठाउँमा मोवाइल सम्पर्क विच्छेद हुने भएकोले मावोइल फोनमा बस्दाबस्दा दिक्क हुनेहरुलाई त यो मार्ग झनै शान्ति मार्ग हुन्छ ।  सहरको कोलाहल र प्रदुशष खेपिरहेकाहरुलाई यो मार्ग हिँड्दा बेग्लै अनुभूति हुन्छ । जस्तै चिसो मौसमा पनि यो मार्गबाट ऋषेश्वरसम्म पुग्दा पसिना छुटेको हुन्छ । धारापानीबाट करिब एक घण्टाको आसपासमा ऋषेश्वर पुगिन्छ । 
 

दामन–ऋषेश्वर


दामन बजार र सीमभञ्ज्याङ बजारको बीचमा त्रिभुवन राजपथको हाल ऋषेश्वर मोड भनिने स्थानबाट एक किलोमिटर दुरीको अर्को पद मार्ग रहेको छ ।  शिखरकोट–धारापानी हुँदै खोलाको बाटो उकालो र लामो महशुस गर्नेहरुको लागि यो मार्ग रोजाइमा पर्न थालेको हो । ऋषेश्वर मोडसम्म सवारीमा आएर त्यसपछि सुविस्तायुक्त सिंढी र स्लाब गोरेटो मार्गको प्रयोग हुने हुँदा यो मार्ग तीर्थालुहरुको रोजाइमा परेको हो । २०५० सालमा बाढीले खोलाको बाटो बिग्रिएपछि यो मार्ग बढी चल्तीमा आएको हो । अहिले ऋषेश्वर मोडमा  तीर्थयात्री लिएर आएका दैनिक दर्जनौ सानाठूला सवारीहरु भेटिन्छन् भने उक्त मार्गमा ऋषेश्वर दर्शन गर्न जाने र फर्किनेहरुको लस्कर भेटिन्छन् । 
 

सीमभञ्ज्याङ–ऋषेश्वर मार्ग


ऋषेश्वर पुग्न सीमभञ्ज्याङ बजारबाट नयाँ मार्ग खुलेको छ । सीमभञ्ज्याङको पर्यटन सूचना केन्द्रको निर्माणाधीन संरचनादेखि ऋषेश्वरसम्म अहिले चिटिक्क पदमार्ग निर्माण गरिएको छ । यस मार्गको केही खण्डमा यसअघि नै ढुंगाको सिँढी बनाएर चल्तीमा ल्याइएको भए पनि मर्मतसम्भार हुन नसक्दा ओझेलमा पर्दै गएको थियो । अहिले थाहा नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा कार्यालयको सहकार्यमा यो मार्गको पुरानो खण्ड मर्मतसम्भार गरेर चिटिक्क बनाउनुका साथै नवनिर्माण समेत गरिएको छ । पर्यटन सूचना केन्द्रबाट केही परसम्म झण्डै सानो गाडी जानसक्ने ट्रयाक बनाइएको छ भने यहाँ वडा कार्यालयको सहयोगमा स्लाब गर्ने योजना रहेको छ । 

त्रिभुवन राजपथबाट ऋषेश्वर पुग्ने सबैभन्दा छोटो पदमार्ग यही हो । पदमार्ग ‘क्लिएर’ भएपछि  अहिले पदयात्री तथा तिर्थयात्रीहरुले यो मार्गको प्रयोग गर्न थालेका छन् । यहाँबाट ऋषेश्वर माथि टाकुरामा पद्म सम्भवले राक्षसहरुलाई टोपीले थुनेको स्थल र देवताले दैत्यहरुलाई दफन गर्न बनाएको चुलोमा पनि पुग्न सकिन्छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)