Saturday, 29th August, 2026
वि.स.

बागमतीमा विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

Bag-1607954585.jpg

बागमती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा २९ मंसिरमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गर्दै प्रदेश सरकारले विसं २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारीसाधन विस्थापन गरी प्रदूषणरहित तथा नवीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिए ।

उनले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनर्भरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने पनि बताए । उनका अनुसार पहिलो चरणमा काठमाडौँको चक्रपथका साथै काठमाडौँ–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाइने छ ।

सोही अवसरमा भौतिक विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जीव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणानुरुप बोर्ड गठन गरिएको बताए ।उनले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने जानकारी दिए ।

बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा.सहदेवबहादुर भण्डारीले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्य क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताए ।

बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने बताइएको छ । प्रदेश सरकारले प्रदेशभरी विभिन्न सडक मार्गमा ३० भन्दा बढी विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०