nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पुष्प अधिकारी अञ्जली र नेपाली गजलको प्रारूप
बिर्खे अञ्जान

ram_parsad_gautam_9NMmzH6-1632070555.jpg

पूर्व पृष्ठभूमि

नेपाली साहित्य पछिल्लो समय उर्वर देखिन्छ ।संचार माध्यमको विकास ,बौद्धिक पाठकको अभिवृद्धि र बजारिकरणको सहजतासँगसँगै लेखन कार्यमा प्रतिवद्ध स्रष्टाहरूको निरन्तरताले नेपाली  वाङमय गरिमामय भएको छ।जुन गति र रफतारमा बजारको ब्यबस्थापन हुनुपर्ने हो त्यो गतिमा नभएता पनि निजी क्षेत्रको लगानी भाषिक ,साँस्कृतिक र साहित्य क्षेत्रमा पनि क्रमशः देखिनुले भविष्यमा एउटा निश्चित मार्ग निर्माण गर्ने धेरै सम्भावना देखा पर्नु सुखद पक्ष हो।भौतिक निर्माणलाई मात्रै विकास ठान्ने राजनैतिक मनोवृत्तिका कारण नेपालमा भाषिक धरातल खतरामा परेको सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसले निर्धारण गरेको संघिय शासन प्रणाली मार्फत निर्वाचित जनप्रतिनिधिबाट सूक्ष्म  गतिमै भएपनि हाल कतिपय स्थानीय तहले भाषिक ,सांस्कृतिक र साहित्यिक संरक्षणकालागि सानातिना गतिविधि संञ्चालन गर्नु सुखद संकेत हो।भाषा र साहित्यले बौद्धिक चेतनाको अभिवृद्धि गर्छ र त्यो बौद्धिकताको माध्यमबाट सामाजिक र आर्थिक उन्नतिमा टेवा पुग्छ भन्ने मान्यता पछिल्लो समयमा विकसित हुदै जानुले अबको नेपाली साहित्यको दिशा निर्धारण हुनेमा आशावादी हुनेमा धेरै सम्भावना विकास भएको देखिन्छ ।

गुटगत स्वार्थ ,संकुचित सोचको पराकाष्ठा ,दिगो कार्यदिशाको अभावमा नेपाली साहित्यको स्तर जुन गतिमा उच्चता प्राप्त गर्नुपर्ने हो त्यो गति निर्धारणमा बाधक तत्व राज्य मात्र नभइ सिङ्गै सिर्जनशिल स्रष्टाहरू पनिहुन् धन्ने तथ्य हामीले विर्सन हुदैन

समान हक ,समान अधिकार स्थापनामा साहित्यकारहरू एउटै कित्तामा उभिन नसक्नु पनि प्रमुख कारक तत्व हो ।राजनैतिक आस्था र विचार  विभाजनले कहिल्यै पनि समान मुद्दामा ऐक्यबद्धता जाहेर गर्न नसक्नु संस्थागत साहित्यको बाधक भएको तितो तथ्य स्रष्टाहरूले स्वीकार्नु पर्छ।दलिय मोर्चाबन्दीमा राजनैतिक तलुवाधारी भएर जवसम्म साहित्यकारहरू एकआपसमा विभाजन हुन्छन्  र मूल मुद्दामा एकताबद्ध हुन सक्दैनन् तवसम्म नेपाली साहित्यको हवीगत आशातित अबस्थामा आँउन सक्दैन ।तसर्थ साँचो अर्थमा स्रष्टा  नेपाली भाषा संस्कृति र साहित्यको संस्थागत विकास चाहान्छ भने गुटगत स्वार्थ बाट आफूलाई टाढा राख्न सक्नुपर्छ ।यद्यपि जेजति काम राज्य स्तरले गर्नुपर्ने हो त्यो गरेपनि ब्यक्तिगत पहल, पहुचका आधारमा धेरै काम सम्पादन भैरहेको यथार्थ  हामीले भुल्नु हुदैन ।आफ्नो गाँस काटेरै भए पनि वाङमय विकास ,विस्तारमा अहोरात्र  समर्पित ,धेरै नामहरू मध्ये नेपाली साहित्य इतिहासले नविर्सने एउटा नाम हो --- पुष्प अधिकारी अञ्जली।

पृष्ठभूमि
पुष्प अधिकारी अञ्जली मूलतः गजलकार हुन्।परन्तु कविता ,मुक्तक,हाइकु, समीक्षा लगायत अन्य बिधामा पनि यिनको कलम अग्रसर देखिन्छ ।मोफसल भित्र बसेर पनि निरन्तर शब्द र सिर्जनाको खेती गरिरहन चाहाने अञ्जलीले भाषा सेवामा बिताएको हिउँद बर्खा निकै भैसकेको छ।लेखन कार्य आरम्भ गर्दा उनको अनुहारमा जुँघाको रेखीपनि  बसेको थिएन।हेर्दाहेर्दै ती किशोरको अनुहारमा बुढ्यौलीको धर्सा देखिन थालेको छ।कपालमा तिलचामलले भएका छन् ।विहान बेलुकी अौषधीको डिब्बा  अघि सार्नुपर्ने भएका छन् ।स्वास्थचौकी  र अस्पताल दैनिक जीवनका चौतारी भएको छ। र पनि आफूलाई कहिल्यै उमेर र रोगले छोएको अनुभूति उनमा छैन।संस्थागत साहित्यको विकास तथा सिर्जनाको गतिशीलता हिजोको जस्तै युवा जोस ,जागर र दृढ संकल्प यद्यपि कायमै छ।

पुष्प अधिकारी अञ्जली उर्जाका स्रोत हुन्।आफूमात्रै लेख्नुको अतिरिक्त नयाँ पुस्ताका स्रष्टालाई पनि प्रेरणा ,हौसला र मञ्च प्रदान गर्दै साहित्य जागरणको अभियानमा अभिछिन्न क्रियाशील रहने यिनको जुन स्वभाव छ त्यसले नेपाली साहित्यमा उदाहरणीय कार्य गरेको प्रतीत हुन्छ।

देशले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको छ।र पनि सर्वहारा वर्ग उत्पीडित जाती,समूदाय र भूगोलमा वास्तविक गणतन्त्रको प्रत्याभूति हुन सकेको छैन।राज्य प्रणाली र त्यसले निर्धारण गरेको राजनैतिक संरचना भित्र दमित आवाज अझैसम्म पनि मुखरित हुननसक्नु विडम्बना छ।देशको अर्ध- आैपनिवेशिक स्थिति ,सामान्ती संस्कार र पीडित वर्गहरूको दयनीय आर्थिक ,सामाजिक जुन विसंगत आर्तनाद परिवेश छ त्यसका विरूद्ध पुष्पको कलम हतियार भएर उभिएको छ।क्रान्ति र समानताको आवाज बोकेको अञ्जलीका सिर्जना आत्मा सन्तुष्टिका लागि मात्रै होइन परिवर्तनको हुँकार भएर पाठक माझ आएको छ।साहित्यलाई केवल मनोरञ्जनको साधन मात्र ठान्ने कतिपय वर्गको संकुचित धारणाको दैलो नाघेर जागरण,चेतना र बौद्धिक खुराकको साधन पनि हो भन्ने प्रमाण अञजलीका सिर्जनाबाट प्रष्ट हुन्छ।

राजधानी वादको चपेटामा भौतिक विभेदको सिमा नाघेर मोफसलमै पनि केही गर्न सकिन्छ भन्ने यथेष्ट प्रमाणका साथ संस्थागत  साहित्य र सिर्जना लेखनमा सक्रिय अञ्जलीका प्रकाशित कृति अध्ययन गरिरहदा दृष्टिकोण र विचार मात्रै पनि साहित्य होइन भन्ने थाहा हुन्छ।कलात्मक सौन्दर्यका साथ प्रस्तुत भएका विचारका हुँकारहरूले परिवर्तनका आशा बोक्दै विसंगत परिवेशको विरोध पनि गरेको देखिन्छ ।सद्भावना ,सद्ज्ञान र सद्ब्यहारबाटै असल समाज बन्छ भन्ने अनुभूति बोकेका दर्जनौं सिर्जनाको सेरोफेरोबाट समय चेतका बैचारिक तर्क बोकेका पुष्पको साहित्य धरातल हामी बाँचेको परिवेश , हामीले भोगेको परिस्थिति र हामीले नै झेलिरहेका पीडाबोधका घटनाहरू नै हुन्।साहित्य रहर र लहड दुबै होइन ।यी त त्याग ,समर्पण र साधनाको सागर हो।यसअर्थमा पुष्प अधिकारी अञ्जलीको साहित्य सन्दर्भ जोड्ने हो भने उनीबाट नयाँ र पूराना दुबै पुस्ताले सिक्नुपर्ने धेरै कुराहरू छन् ।त्यसो त अञ्जली दोष रहित मनुष्य हुन् भन्न किमार्थ  खोजीएको होइन  ।ससाना कमी कमजोरी र गल्तीहरूलाई सच्याउँदै जाने र अग्रजबाट नबुझेका र नजानेका कुरा सिक्दै जाने हो भने सफलता जीवनको वरिपरि नै रहन्छ।जीवन सिकाइको रङ्गशाला हो।जसले सिक्छ र संघर्षलाई जीवन ठान्छ ऊ नै यात्रामा सबै भन्दा अगाडि रहन्छ।

मान्छेका कतिपय रहर यस्ता पनि हुन्छन् जुन कठिन परिश्रम र लामो संघर्ष पछि मात्रै सम्पन्न हुन्छ।समस्याहरू झेलिरहदा यस्तो काम अर्को पटक कदापि गर्दिनँ भन्ने सोच पनि आउँछ।परन्तु यात्राको कठिनाइ पारगरि सफलताको शिखर टेक्दै गर्दा अर्को कठिन यात्रा तय गर्न हौसला प्राप्त हुन्छ।अञ्जली यस्तै कठिन यात्रा निरन्तर गरिरहने संघर्षशील स्रष्टा हुन्।राम्रो लेख्ने तर साहित्य जगतमा परिचय स्थापना गर्न पहुँच  नपुगेका कयौं साधकहरूलाई उचित स्थान , मूल्यांकन गर्दै हौसला बढाउँने कार्यमा तल्लीन यिनको जुन आदत छ त्यो साच्चिकै स्वागतयोग्य छ।अहिले यिनी यस्तै लोभलाग्दो कार्यमा जुटिरहेका छन् ।आशा छ त्यो कार्यले गजल विधामा नयाँ आयाम , अस्तित्व र पहिचानको खोजी गर्ने छ।

गजलमा संरचनागत मुद्दा
मूलतः साहित्य विचारको सौन्दर्य हो।र पनि सम्प्रेषित विचारलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न कलाको आबश्यकता पर्दछ।जसरी दूधमा चिया पत्ती र चिनीको अन्तर घुलनबाट चियाको निर्माण  हुन्छ त्यसैगरी साहित्यमा विचारलाई अभिब्यक्त गर्दा कलाको अपरिहार्य हुन्छ।नेपाली साहित्य लेखनको पछिल्लो समय बहसको प्रमुख मुद्दा नै विचार कि कला भन्ने सन्दर्भमा छलफल चलिरहेको छ।एउटै धारणा र परिभाषाले निष्कर्ष निकाल्न कठिन भएता पनि स्रष्टाको विवेक र बौद्धिक क्षमता अनुसार यी दुबै तत्वको सन्तुलित प्रयोग आबश्यक छ।

अब जो कोही पनि गजलकार हुँ भनेर स्थापित हुन् सहज छैन।लेखनको दायरा,प्रस्तुतिगत भिन्नता ,विषयलाई विशेष ढंगले उठान गर्ने शैली र पाठकीय चेतनाको पहिचान गर्नसक्ने हैसियत भएकाहरू मात्रै आजको प्रतिस्पर्धात्मक बजारमा टिक्न सक्छन् ।अन्यथा लेखनको सौख पूरा गरेर गुमनाम हुनुपर्ने बाध्यात्मक परिवेश कायम भैसकेको छ।लेखन केवल सौख र आत्मा सन्तुष्टि  मात्रै पनि होइन ।लेखनको निश्चित नियम भित्र बजारिकरणको मागलाई मुख्य मुद्दा मानेर बौद्धिक प्रतिस्पर्धामा उत्रन सक्ने सामर्थ्य कायम गरि साहित्यको सौन्दर्यतालाई सिघार्न सक्ने क्षमतावान स्रष्टाको मात्रै साचो अर्थमा स्थापित हुन सक्छ भन्ने धेरै घटना हामी सामु जीवितै छ।त्यसमा पनि गजल लेखन हेर्दा जति सहज छ लेख्न उति सजिलो छैन।गजलको आफ्नै निश्चित नियम,सिद्धान्त छ।त्यसलाई पालना गर्दै प्रभावपुर्ण अभिब्यक्ति सहजता पूर्वक सम्प्रेषण गर्ने कौशलता लेखनमा विद्यमान हुन् जरुरी छ।अनुभवहरूको सुन्दर अनुभूति साहित्य भएकाले कोरा कल्पना,सपाट प्रस्तुतिकरण र बिषय माथि भद्दा अभिब्यक्ति मात्र  लेख्न थालियो भने त्यो विचारको थुप्रो मात्रै हुन्छ, साहित्य हुन्न।साहित्यमा पाठक लाई आक्रषित गर्ने क्षमता र शैली अनिवार्य हुन आवश्यक छ।

गजल लेखन अंक गणितको जस्तो शुत्र घोकेर मात्रै  लेख्ने विधा होइन ।मनको ज्यामितिय आकारलाई विचारको बिचगणित जस्तै भावनाको तरङ्गलाई चमत्कारी ढंगले प्रस्तुति गर्न जानियो भने मात्रै सफल हुने बिधा हो।कोमल भइकन पनि कठोरता र कट्टरता भित्र पनि सहजताको खोजी गर्दै विषय माथि बग्दैबग्दै भावनालाई  छछल्काउँन सकियो भने मात्रै गजल हुन्छ भन्ने तथ्य हामीले किमार्थ विर्सन हुन्न।

गजल भन्ने बित्तिकै यो कोमल र गेय बिधा हो भन्ने यथार्थ हामीले भुल्न हुन्न।बौद्धिकताको नाममा क्लिष्ट शब्दको प्रयोग र क्रान्तिकारीताको नाममा नारा र गाली लेख्ने परम्परा पनि पछिल्लो समय देखा परेको छ।तत्कालीन परिवेशमा त्यसले केही सफलता प्राप्त गरेको महसुस भएता  पनि त्यस्ता किसिमको सिर्जनाको कालजयीता शून्य रहने कुरा हामीले हेक्का राख्नु जरुरी छ।साधना, शैली र चिन्तनबाट नै साहित्यको कुनै पनि बिधामा निख्खरता आँउने भएकाले छोटो समयमै चर्चाको आशा राख्नु केवल महत्वकांक्षा पाल्नु मात्रै हो।अश्लीलता वा उत्ताउलोपना गजलमा प्रर्दशन गरेर कतिपय स्रष्टाहरू नेपाली साहित्य बजारमा देखा परेका पनि छन् ।नेपाली समाज,संस्कृति  र परम्पराको मूल्यांकन नगरीकनै मर्यादा माथि तिलाञ्जली दिने लेखनको धरातल वालुवाको पुल जस्तै हो।तसर्थ श्रृङ्गारिक गजलमा प्रणय स्वर उराल्दा शालीनता र नैतिक मर्यादाको पृष्ठभूमि हेर्न जरुरी छ।

नेपालीमा एउटा उखान निकै प्रचलित छ त्यो हो -- कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा ।साहित्यका विशिष्ट ब्यक्ति मानिने कतिपयको गलत सल्लाहले विधागत संरचना माथि  धावा बोल्नेहरू पनि छन् ।कुनै पनि विधाको निश्चित मूल्यमान्यता हुन्छ,त्यसलाई  पालन गरिएन भने विधागत पहिचान र अस्तित्व समाप्त हुन्छ।गजल लेखन पनि त्यस्तै कार्य हो।अतः गजल विधाप्रतिको नकारात्मक हल्ला , अफबा र भ्रम सिर्जना गर्नेहरूको भीडबाट बच्नु आजको अनिवार्यता पनि हो।विधागत सिद्धान्त ,स्वरूप र श‌लीलाई सतत: स्वीकार्दै स्रष्टाहरूले स्थिरता , धिरता र गम्भीरता अगाल्दै साधना गर्नु पर्छ।कतिपय प्रयोग धर्मी स्रष्टाहरूको केही मान्यता पनि यदाकदा सुन्नमा आउँछ।त्यो के हो भने -- साहित्य सूत्रहरूको मात्रै श्रृङखला होइन ।तै पनि साहित्यमा सूत्र हुनु हुदैन भन्ने मान्यता चाहिँ हामीले राख्नु हुदैन ।तर यसका अरू गुणहरू समाप्त  भएर गणितीय वा ज्यामितीय सूत्र मात्र वाकी रह्यो भने त्यो साहित्य बन्न असफल प्रयास मात्रै बाकी रहन्छ।अत : चिन्तन, दर्शन र कथानकता सँगसँगै जोडिएर सूत्रमा बैचारिकताको स्वतन्त्रतालाई सहज विचरण गर्न स्रष्टाले सक्नुपर्छ ।ब्याकरणको यान्त्रिकता र अभिब्यक्तिमा कृतिमताबाट बच्न सक्नु नै लेखकीय कौशलता हो। यो अपरिहार्य पनि छ।

नेपाली गजलमा बेलामौकामा केही उतारचढाव पनि देखिन्छ ।संरचनागत मुद्दालाई लिएर अतिवादी दृष्टिकोण राख्नेहरू वीच घम्साघम्सी र पानी बाराबारको स्थिति पनि छ।वहरवादी र स्वतन्त्र शैली अवलम्बन गरि लेख्ने दुई पक्ष वीचको वैचारिक बहसको अन्त्य र संरचनागत एकतामा सहमति कहिले , कहाँ र कसरी हुन्न भविष्यले बताउला तर शब्दको खेतीमा भावनाको बिरुवा रोप्नेहरू वीचको आरोप प्रत्यारोपको अन्त्य नभएसम्म विधागत विकासमा बाधा पुग्ने यथार्थ हामीले विर्सन भने हुदैन ।

गजलको अस्तित्व रक्षाको सिद्ध कवज नै बहर हो भन्ने एउटा जमात र शास्त्रीय अनुशासनले भावनालाई बाधेर ल्याउँछ र कथ्य सीमित पारिदिनुको साथै वैचारिक स्वतन्त्रतालाई सहज विचरण गर्न दिदैन भन्ने अर्को जमातको टकरावले वास्तविक गजल कुन हो र कस्तो हुनुपर्छ भन्ने अन्योल नयाँ पुस्तामा परिरहेको सन्दर्भमा गजल लेख्ने सबै तह र क्षेत्रका स्रष्टाहरू एउटै मञ्चमा उभिएर  साझा धारणा र सहमतिमा नउभिएसम्म द्वन्द्वको अन्त्य हुने देखिन्छ ।

समकालीन गजलको बिषय
गजल लेखनको थालनी जहाँ भयो त्यहीँबाट यसको विषय प्रेम नै प्रमुख भयो ।प्रणय स्वर बोकेर स्थापित भएको गजल लेखन कार्य जुन माटो बाट भयो त्यो माटो र भूगोलमा मात्रै सिमित रहन सकेन।गजल सुन्दा पाठकलाई पार्ने प्रभाव र यसको सटिक र सरल अभिब्यक्ति क्षमताले गर्दा बिबिध भाषा,भूगोल  नाघेर अधिकांश  माटो को सुगन्ध आफूमा निहित गर्दै विश्वब्यापीकरण भएको गजल बिधा यतिखेर चर्चाको शिखरमा छ।राजा महाराजाको दैलोबाट प्रवेश पाएको गजल विधा यतिखेर भुँई मान्छेसम्म आइपुगेको छ।गजल सुन्ने मान्छेको हैसियत र अौकातसँगै यसले आफ्नो  वैचारिक विषयहरूपनि रूपान्तरण गर्दै हिडिरहदा के स्पष्ट हुन्छ भने गजल जुन भूगोल मा पुग्छ त्यो भूगोलको परिवेश, परिस्थिति सँगै आफूलाई बिषयगत रूपमा परिमार्जन गर्छ।शासकहरू साधन र स्रोतमा पुर्ण हुन्छन् ।तिनीहरूलाई प्रणय स्वर भन्दा अरू आबश्यक थिएन।तसर्थ दरवारमा गजल सुनिरहदा यसको प्रमुख बिषय नै प्रेम भयो । यसलाई नै आधार मानेर कतिपय अतिवादी सोच राख्ने ब्यक्तिहरूबाट प्रणय स्वर भन्दा अन्य विषय गजलले उठान गर्नै नहुने तर्क पनि राखेको देखिन्छ ।त्यही गजल राजाबाट जब रैतीसम्म आइपुग्यो तब अन्यायमा परेकाहरूका लागि क्रान्तिको स्वर बन्यो र विद्वान कहाँ पुग्दा विचार को विगुल बन्यो ।आज गजलले संकुचित मूल्य र मान्यताको पर्खाल भत्काएर विषयको ब्यापकता अंगाली सकेको छ।साहित्यको अन्य विधाले जसरी जुनजुन विषय उठान गर्न पाउँछन् त्यसरी नै आफ्नो अनुकूलता ,क्षमता र हैसियत अनुसार विषय माथि चमत्कारी धारणा राख्ने मौका गजलले प्राप्त गरिसकेको छ।यश आधारमा नेपाली माटोमा जो जसले गजल लेख्नु भएको छ, तिनीहरूको मुख्य बिषय तपशिल अनुसार भएको देखिन्छ ।

  • दमन, विद्रोह र आक्रोशको स्वर
  • साँस्कृतिक तथा राजनीतिक प्रदूषणको विरोध
  • गरीबी र भोकको पीडा बोध
  • नेपाली समाजको मगन्ते स्वभाव ,चरित्र ,उच्च महत्वकांक्षा बोध
  • आधुनिक प्रेमको फोस्रोपना र आडम्बरी संस्कारको संकेत
  • नैतिक क्षयिकरण तथा जीवनवादी आदर्शको उलंघन
  • मानवीय स्वभावको मनोवैज्ञानिक विश्लेषण
  • स्वार्थ लोलुपता,कामुकता ,अविश्वसनीय चरित्र
  • मान्छे मान्छे वीचको असमझदारी र विश्वासको संकट
  • देशको दुर्ब्यवस्था र त्यसले सिर्जना गरेको अकर्मन्यता
  • शोषण ,उत्पीडन , अन्याय , अराजक परिवेशको आवाज
  • युगीन यथार्थ ,दार्शनिक चिन्तन तथा मनोसामाजिक यथार्थ
  • सामाजिक असमानता ,कुरिति र कुसंस्कार
  • निराशा, कुण्ठा र पीडा बोधको भावना
  • आर्थिक असमानता , अभाव ,अनिकाल र अशिक्षा
  • अपहरण ,लुट, बलात्कार ,हत्या र आतंक
  • राष्ट्रियता,स्वाभिमान र नैतिक निष्ठा
  • युद्ध ,भय र त्रासको क्रन्दन

यी र यस्ता मनोभावना बोकेको बिषय बस्तुलाई आधार बनाउँदै लेखिएका गजलहरूले उठान गरेको सन्दर्भहरू नै समकालीन गजलको प्रमुख स्वरहरू हुन्।

अन्त्य
कुनै समय यस्तो पनि थियो , जुन समय गजल भन्ने बित्तिकै नाक खुम्च्याइथ्यो। साहित्यको लामो आयाम भएका विधागत स्रष्टाहरूले गजल लेख्नेहरूलाई मान्दैन थिए।अझैसम्म पनि एकाध ब्यक्तिहरू भेटिन्छन् जो गजललाई साहित्य विधानै स्वीकादैनन्।गजलका शेरमा प्राप्त हुने चमत्कारीता र थोरै शब्दले धेरै कुरा अभिब्यक्त गर्ने जुन सामर्थ्य गजलमा बिद्यमान छ त्यसका कारण हिजो आज गजल लेख्ने र सुन्ने स्रोताको संख्या तुलनात्मक रूपमा तिव्रगतिमा बढ्दैछ।यो बिधा कुनै  निश्चित  भूगोल ,सिमारेखा र सिमित वर्ग समुदायमा मात्र केन्द्रीकृत छैन।गजलले आफ्नो आयाम विश्वब्यापीकरण गरिसकेको छ र एक भाषाबाट बहु भाषामा यसले आफ्नो प्रवेश प्राप्त गरिसकेको तथ्य सर्व विदितै छ।अतः गजल भन्ने बित्तिकै कसैले नाक खुम्च्याउनु पर्ने र लेखकीय पहिचान स्थापना गर्नकै लागि अन्य विधातिर दौडिराख्नु पर्ने आबश्यक्ता छैन।प्रयोग ,अनुसन्धान र चर्चाको बिषय बनिसकेको गजल बिधा नेपाली साहित्यकै इतिहास पल्टाउने र स्वतन्त्र अस्तित्वको मापनै गर्ने हो भने पनि अन्य विधा भन्दा धेरै छापिने,पढिने र धेरैले सुनिदिने लोकप्रिय विधाको रूपमा वर्चस्व कायम गरिसकेको सर्व स्वीकार्य बिधा हो।लेखनको गुणात्मकता सँगसँगै गजलले ब्यहोरेको पुरातनवादी  लाञ्छना ,बौद्धिक हेयको दृष्टिकोणको अन्त्यले पनि आगामी  समय गजलको भविष्य उज्वल छ भन्न सहजै अनुमान लगाउँन सकिन्छ।

गजल लेखनको प्रारम्भिक समय भन्दा हिजोआजको लेखनमा गुणात्मकता निकै  बढ्दै गएको पाइन्छ ।सुरूको लेखनमा नियमको सुत्रात्मकता र विचारको सिधा प्रस्तुतिका कारण कला र सौन्दर्यता नगन्य मात्रामा भेटिन्थ्यो।जसका कारण गजल सपाट, यान्त्रिक र रूखो जस्तो अनुभूत बोध हुन्थ्यो ।संख्यात्मक रूपमा लेखकहरूको वृद्धि,आपसी प्रतिस्पर्धा रसंस्थागत रूपमा बहस छलफल र प्रकाशनका कारण वर्तमान समय गजललाई प्रभावकारी बनाउँन शब्द र अर्थहरूको सञ्जाल तयार गरि सौन्दर्य उत्पन्न गराउँन विबिन्न प्रकारका शैली शिल्पको प्रयोगगरि भावगत संप्रेषणमा कुनै किसिमको अष्पष्टता विना नै विचारको प्रवाह गर्ने शैली अबलम्वन गर्ने प्रतिवद्ध गजलकारहरूको उपस्थितिले नेपाली गजलको गुणात्मकता अभिवृद्धि भएको प्रतीत हुन्छ।बिषय बस्तुलाई सहज चेतना प्रवाह गर्न र विचारलाई  प्रौढ  बनाउँदै सरलतामा पनि गहनता बृद्धिगरि पछिल्लो  समय गजल सिर्जनामा हास्य ब्यङ्यात्मक सुत्रात्मक ,प्रतिकात्मकात्मक,सूचनात्मक,ब्याख्यात्मक र आलङ्कारीक शैलीको प्रयोग गर्दै भावलाई हार्दिकता,मनोहारी र श्रृती मधुर बनाउँने जुन पद्धतिको विकास भएको छ त्यसले मानवीय संवेदनामा तरङ्ग  ल्याउँने र भाव गम्भीर  बन्ने अबस्था कायम भएको छ।यो नेपाली गजलकोलागि सुखद पक्ष हो।जसका कारण गजल विधामा बिद्यमान पुरातनवादी संकिण मानसिकता र दरिद्र दृष्टिकोण कोणको अन्त्य भइ नकारात्मक विचार राख्नेहरूको मानसिकतामा सकारात्मक भावको विकास सँगै गजल प्रतिको दृष्टिकोण परिवर्तन हुदै आएको देखिन्छ ।गजललाई आजको स्थितिमा ल्याउन गजल प्रदान विधागत पत्रिकाको प्रकाशन ,प्रतिस्पर्धात्मक कार्यक्रमको आयोजना ,छलफल अन्तक्रिर्या र संयुक्त कृतिको प्रकाशन गर्ने कार्य पनि प्रमुख हुन्।यी र यस्ता अनेकौं कार्यहरू नियमित संञ्चालन गर्ने अभियानमा जुटेका अनेकौं ब्यक्ति मध्ये एक सोनाम धन्य ब्यक्ति हुन् पुष्प अधिकारी।

अञ्जली चितवनमा रहेर पनि गजल विधामा देश हाँक्ने कुशल संगठक हुन्।यिनले साहित्यक क्षेत्रमा गरेको अतुलनीय कामको मूल्यांकन समयले अबश्य गर्ने छ।आगामी दिनमा पनि यसरी नै आफ्नो उर्वर समय साधना र सिर्जनामा लाग्ने प्रेरणा जागि रहोस् हार्दिक शुभकामना ।

(- लेखक अञ्जान, पालुङ साहित्य परिषद्का अध्यक्ष हुन्  9845124769)