Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाको ‘ह्याट्रिक’, जिल्लामै फेरि उत्कृष्ट

थाहा नगरपालिका मकवानपुर जिल्लामै उत्कृष्ट घोषित भएको छ । 

जिल्ला समन्वय समितिको छैठौं जिल्ला सभाको अवसरमा हेटौंडामा थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरु मध्ये उत्कृष्ट घोषणा गरेको हो । थाहा यससहित जिल्ला समन्वय समितिको मूल्याङ्कनमा तेस्रो पटक उत्कृष्ट घोषित भएको हो । उत्कृष्ट घोषणा भएको थाहा नगरपालिकालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीलाई सम्मान पत्र हस्तान्तरण गरे । 

जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहहरुको कार्य प्रगति तथा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन कार्यविधि, २०७७ को समेत अंकभारलाई आधार मानी पुरस्कृत गरिएको जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिए । थाहा नगरपालिकाले ७९.५ अंक प्राप्त गरेको छ । 

त्यसैगरी मकवानपुरको दोस्रो स्थानीय तह मनहरी र तेस्रो बकैया गाउँपालिका भएको छ । 

यसैबीच नगरपालिका जिल्लामै उत्कृष्ट घोषणा पश्चात नगर प्रमुख लवशेर विष्टले सम्पुर्ण जनप्रतिनीधि, कर्मचारीहरुमा आभार व्यक्त गरेका छन् । पालिकाको सफलता आम नगरबासीको सफलता भएको बताउँदै सफलताको उचाई कायम राख्न आगामि दिनमा सम्पूर्णको सहयोग आवश्यक रहेको बताए । नगर उपप्रमुख खड्ग गोपालीले जिल्लामै उत्कृष्ट भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्णमा धन्यवाद दिएका छन् ।  उपप्रमुख गोपालीले सफलता एकल पहलले नभई सामुहिक कामको प्रतिफल भएकोे बताए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०