Friday, 7th August, 2026
वि.स.

कामदारको छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन म्यानपावर कम्पनीहरूलाई विभागको कडा निर्देशन

काठमाडौं ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउन म्यानपावर कम्पनीहरूका नाममा कडा निर्देशन जारी गरेको छ।

बिहीबार छनोट प्रक्रियासम्बन्धी विशेष सूचना जारी गर्दै विभागले राष्ट्रिय दैनिक पत्रिकामा पूर्वस्वीकृतिअनुसार सूचना प्रकाशित भएपछि आवेदन दिने सबै आवेदकको नाम कम्पनीको सूचना पाटीमा अनिवार्य रूपमा टाँस्न भनेको छ। साथै, छनोट नभएका व्यक्तिहरूलाई के-कति कारणले छनोट नगरिएको हो, सोको स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ मा म्यानपावर कम्पनीहरूले कामदार छनोटका लागि कम्तीमा सात दिनको समय दिएर राष्ट्रियस्तरको पत्रिका र आफ्नै वेबसाइटमा विज्ञापन छाप्नुपर्ने कानुनी प्रावधान छ। सो अवधिमा परेका आवेदनहरूको आधारमा कामदारको योग्यता र अनुभव जाँच गरी छानिएका व्यक्तिहरूको सूची कार्यालयको सूचना पाटीमा टाँस्नुपर्ने र एक प्रति विभागमा बुझाउनुपर्ने हुन्छ।

विभागका अनुसार सात दिनको म्यादभित्र आएका सबै निवेदकको निवेदन दर्ता गरी सातौं दिनपछि एकमुष्ट सूची संस्थाको वेबसाइटमा सार्वजनिक गरेर मात्रै छनोट प्रक्रिया अघि बढाउन म्यानपावरहरूलाई भनिएको छ।

विज्ञापन छापेर समय तोकिए पनि म्यानपावर कम्पनीहरूले ‘कोटा सकिसक्यो’ भन्दै सर्वसाधारणलाई आवेदन दिनबाट वञ्चित गराउने र प्रक्रियाबाटै बाहिर राख्ने गरेको व्यापक गुनासो आएपछि विभागले यो कदम चालेको हो। नयाँ व्यवस्थाले वैदेशिक रोजगारीमा जाने कामदार छनोटलाई थप मर्यादित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।









Thaha-002-1774415222.gif