Monday, 17th August, 2026
वि.स.

एउटै बोटमा फल्यो ३२ किलो किवी

kibi-1762942534.jpg

मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गर्न सफल भएका छन् । भीमफेदी गाउँपालिका –५, सुपिङमा गरिएको किवी खेतीबाट यहाँका किसानले एउटा बोटबाट न्यूनतम १० किलोदेखि ३२ किलोसम्म किवी फलाउन सफल हुनुभएको हो ।

“पर्याप्त मल र पानी, गोडमेल भयो भने एउटै बोटबाट पनि राम्रो आम्दानी लिन सकिन्छ” सुपिङमा व्यावसायिक किवी खेती गर्दै आउनुभएका किसान सुरज थिङले भन्नुभयो । किमुशेरी ग्रुप प्रालिमार्फत सञ्चालित उक्त किवी फर्म तीन जना युवाले करिब दुई करोड रुपियाँको लगानीमा सञ्चालन गरेका हुन् । करिब ७० रोपनी क्षेत्रफलमा गरिएको किवी खेतीबाट गत वर्ष साढे तीन टन उत्पादन भएको थियो । 

२०७८ सालदेखि थालनी गरिएको किवी खेती गत वर्षबाट फल्न थालेको हो । “अहिले राम्रो उत्पादन दिन थालेको छ । यो बहुवर्षे बाली भएकाले ४०–५० वर्षसम्म फल दिन सक्छ” किसान थिङले भन्नुभयो । १५ वर्षका लागि जग्गा भाडामा लिएर गरिएको खेतीले अहिले बजारमा राम्रो स्थान पाएको छ । “किवीको माग राम्रो छ, यहाँ उत्पादन भएको किवी काठमाडौँ, पोखरा, चितवन, हेटौँडा लगायतका बजारमा बिक्री हुन्छ, बजारको समस्या छैन” उहाँले थप्नुभयो ।

अहिले किवी प्रतिकिलो १५० देखि २०० रुपियाँमा बिक्री भइरहेको छ । कात्तिकबाट टिप्न सुरु गरिएको किवी मङ्सिरसम्म टिपिन्छ । फर्ममा स्थानीय आधा दर्जनभन्दा बढीले रोजगारी पाउनुभएको छ । यो खेती बागमती प्रदेश सरकारको ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गरिएको हो । प्रदेश तथा स्थानीय सरकारले युवालाई किवी खेतीका लागि प्रोत्साहनस्वरूप सहयोग पनि गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif