Tuesday, 25th August, 2026
वि.स.

अब चट्याङको पनि पूर्वानुमान गरिने

chatyang-1588735701.jpg

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वानुमान गर्नेगरी काम भइरहेको जानकारी दिए।

विभागले यसअघि वर्षात, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ। समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए ।

‘चट्याङबाट हरेक वर्ष १ सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’ उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए।

सिंचाइ मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समयपछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताए। जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए ।

‘अरु देशमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं ।’ उनले नेपालको चुरे रेन्ज चट्याङको बढी जोखिममा रहेको उल्लेख गरे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif