nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हारैहारमा बाँचेका मकवानपुर फाखेलका जितबहादुर

नाम जितबहादुर गाउमा सिकारी भनेर चिनिने । तर, जिन्दगीमा सधैं हारैहार । यही हारमा बाँचिरहेका छन् फाखेल १, गोठभित्ताका जितबहादुर पाख्रिन । मकवानपुर र काठमाडौंको सीमामा पर्ने हुमानेभञ्ज्याङ नजिक रहेको गोठभित्ता टोलमा बस्दै आएका ८४ वर्षीय जितबहादुरको जिन्दगी हारमा गुज्रदै आएको छ । विसं १९८९ कात्तिकमा जन्मिएका उनी २०१७ मा नेपाली सेनामा भर्ती भए । तत्कालीन राजा महेन्द्र शाहले नेपालको पूर्वी पहाडी क्षेत्रमा भएको द्वन्द्वमा युद्ध गरेका जितबहादुरले युद्ध त जिते । तर, युद्धपछि जीवनमा लगातार पराजय भोगिरहेका छन् । पेन्सन नपाईकन उनले १० वर्षमै जागिर छोडे ।

ब्यारेकका साथीले उनीविरुद्ध मेजरलाई कुरा लगाएपछि उपदानमै चित्त बुझाएर जागिर छाड्नुपर्‍यो । जागिर छाडेको वर्ष दिनमै बायाँ खुट्टा गुमाए । कसरी घाउ लाग्यो, त्यो जितबहादुरलाई पत्तो छैन । सानो घाउकै कारण ०२८ मा बायाँ खुट्टा काटेर फाल्नुपर्‍यो । दायाँ खुट्टामा पनि संक्रमण फैलिएर ०३४ मा काट्नुपर्‍यो । उपदानको रकमले उपचार गर्न नपुगेर घरछेउको बारी पनि छिमेकीलाई बिक्री गर्न बाध्य भए उनी । दुवै खुट्टा गुमाएको ३० वर्षपछि ०६४ सालमा पत्नीको पनि निधन भयो । जितबहादुर अहिले एक छोराका साथमा दैनिकी गुजारिरहेका छन् । दुवै हातमा छालाको पन्जा र छोटो धोती बेरेर लाज ढाकेका छन् । लाज ढाक्ने स्थानसम्मको खुट्टाको भाग काटिएको छ । ३९ वर्षदेखि पाख्रिन हातले टेकेर घिस्रँदै यताउति गर्छन्, कान्तिपुरमा प्रकाशित छ । यो उनको दैनिकी पनि हो । ढुंगामाटोको दुईतले घरको छिँढीमा बस्ने पाख्रिनको घर ०७२ को भूकम्पले भत्काइदियो । त्यही जोखिम पूर्ण घरको छिँडीमा उनको बास छ । भूकम्पले घरको गारो चिरा पारेको छ ।

अपांगता भए पनि मनभरि जोस भएका पाख्रिनले भन्छन्, ‘भूकम्प सधैं आउँदैन, आयो भने मरे मरिन्छ छिँढीमा सुत्नुको विकल्प छैन ।’ घरबाहिर सुत्न सरकारले पाल दिएको थियो । त्यो पनि च्यातिएकाले समस्या थपिएको हो । उनलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्नका लागि प्लान इन्टरनेसनलको सहयोगमा सामुदायिक ऊर्जा तथा पर्यावरणीय विकास मञ्चले जस्तापाताको संक्रमणकालीन आवास भवन निर्माण गरिरहेको छ । ‘साताभित्र अस्थायी भवन निर्माण पूरा हुन्छ,’ मञ्चका अध्यक्ष मणिराज सुवेदीले भने, ‘उनलाई आरामसँग बस्न हुने टहरा बनाउँन लागेका छौं ।’ साथमै रहेको ३० वर्षीय छोरा सुस्त छन् । जेठो छोराले वास्ता नगर्दा अहिले जितबहादुरले कष्टकर जीवन बिताइरहेका छन् ।

समथर भागमा घिस्रेर हिँड्न त्यति समस्या मान्दैनन् । उकालोमा समस्या हुन्छ । घरनजिक सडक छ । सडकछेउ पुग्न उनलाई कठिन हुन्छ । घरबाट सडकसम्म पुग्नु उकालो छ । हवीलचियर भए सजिलो हुनेे थियो । ‘हवीलचियर किन्ने पैसा छैन, कसो गर्नु ?’ उनले दुखेसो गरे । उनी दुवै हातले टेक्दै घस्रेर ओल्लोपल्लो घर गर्छन् । खेतीपाती गर्न सके हातमुख जोर्न पुग्ने गरी अन्न उब्जाउ हुने बारी छ । छिमेकीले बाली लगाउने र भित्र्याउने बेलामा सहयोग गर्छन् । ‘खेतीपाती गर्न सके खान पुग्ने जग्गा छ,’ छिमेकी सोमबहादुर लामाले भने, ‘बाली लगाउन र भित्र्याउन सहयोग गरेका छौं ।’ उनको घर हुमानेभञ्ज्याङबाट ५ सय मिटरको दूरीमा पर्छ ।