Saturday, 4th July, 2026
वि.स.

स्कुले बालबालिका कोरोनाको उच्च जोखिममा

s-1617950145.jpg

स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ ।

काठमाण्डौ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए। यसअघि सरकारले ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखेको थियो । तर, पछिल्लो समय भने बालबालिका पनि उच्च जोखिममा परेका उनले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका सङ्क्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८  वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च छ ।

भारतसँग खुला सिमानाका रहेकाले नेपालमा सङ्क्रमणको जोखिम धेरै छ । नेपाल, बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भीडभाडमा नजान आग्रह गर्दै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०