nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सत्ता जोगाउन मन्त्रालय थप्दै प्रदेशहरू

1618760355-karnali-1623286842.jpg

संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् ।

आवश्यकता र औचित्यभन्दा पनि व्यक्ति तथा दलहरूलाई भागबन्डा पुर्‍याउन मन्त्रालय र मन्त्रीको संख्या थप्ने संसदीय व्यवस्थाको पुरानो विकृति प्रदेशमा सरेको हो । प्रदेशमा साढे ३ वर्षसम्म ७ वटा मन्त्रालय रहेकामा अहिले ११ वटासम्म पुगेका छन् ।

२०७४ माघमा गठन भएका प्रदेश सरकारहरूले स्रोत साधन, नीति, कानुन, कर्मचारी, भौतिक पूर्वाधारलगायतका आधारभूत आवश्यकताको अभावबीच काम गरिरहेका छन् । आफ्नो संरचनालाई जेनतेन स्थापित गर्न प्रयत्नशील रहेका बेला मन्त्रालयको संख्या बढाइँदा दीर्घकालीन आर्थिक बोझ थपिएको छ । यसले संघीयताका विरोधीलाई मात्रै नभएर आममानिसमा पनि नकारात्मक दृष्टिकोण मौलाउने देखिएको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका संघीयता विज्ञ खिमलाल देवकोटा मन्त्रालय थप्ने जस्ता गतिविधिका कारण संघीयतालाई लिएर थप प्रश्न उठ्ने बताउँछन् ।

‘संघीयताले जग बसाल्ने बेला दुर्भाग्यपूर्ण राजनीतिक अवस्था निम्तिएको छ । जसरी पनि सरकार टिकाउने, गुटको संरक्षण गर्ने, व्यक्ति खुसी पार्ने कार्यका लागि मन्त्रालयको संख्या थप्ने प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठ्न सक्छ,’ उनले भने, ‘संघीयताप्रति जनताको विश्वास कसरी ट्टुाउने भन्ने एकथरीको चाहना देखिएका बेला त्यसले थप मलजल गर्छ ।’ आर्थिक रूपमा चुनौती सामना गरिरहेका प्रदेशहरूले आर्थिक बोझ थप्ने निर्णय लिँदै जानु स्वयं प्रदेशका लागि हितकर नरहेको उनको भनाइ छ । उनले एकपछि अर्को गरी सबै प्रदेशको राजनीति अस्थिर हुनुको कारक केन्द्रीय राजनीति नै रहेको बताए । उनी यो सबै परिस्थितिको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै दिन्छन् ।

केही महिनाअघिसम्म केन्द्रमा र प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा तत्कालीन नेकपाको बहुमतीय सरकार थियो । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटना गरेपछि विकसित राजनीतिक घटनाक्रमले नेकपा विभाजनपूर्वको अवस्थामा पुगेपछि र एमालेमै पनि आन्तरिक विवाद चर्किएपछि केन्द्रसँगै प्रदेशको राजनीति अस्थिर बनेको हो । प्रदेश २ मा भने प्रधानमन्त्री ओलीलाई साथ दिने कि विरोध गर्ने भन्ने विषयमा जनता समाजवादी पार्टीमा आएको ‘फुट’ ले असर गरेको छ ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको प्रस्तावमा कांग्रेस र एमालेकै माधव नेपाल पक्षधर सांसदको साथ लिए । एकल बहुमत रहेको एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गर्दा उनको सत्ता जोगिएको हो । सरकारमा कांग्रेस र एमालेको नेपाल पक्षलाई ठाउँ दिन मुख्यमन्त्री शाहीले ७ वटा मन्त्रालयलाई बढाएर ८ वटा बनाएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकार जोगाउन जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री पद दिएका छन् । त्यसका लागि उनले दुईवटा मन्त्रालयलाई टुक्राएर मन्त्रालयको संख्या ९ पुर्‍याएका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पार्टी फुटेपछि अल्पमतमा छन् । उनले मन्त्रालय थपेर ‘गुन्डा नाइके’ पृष्ठभूमिका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाए । गण्डकीमा अहिले ८ वटा मन्त्रालय छन् । पोखरेल र गुरुङ दुवै प्रधानमन्त्री ओली पक्षधर एमाले नेता हुन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि सरकार जोगाउन मंगलबार मन्त्रालय फुटाएर ११ वटा पुर्‍याएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउतले दुई दिनअघि महन्थ ठाकुर पक्षका मन्त्री हटाएका थिए । उनले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन मन्त्रालय संख्या बढाएका हुन् ।

संघीयता तथा प्रशासनका जानकार काशीराज दाहाल संविधानले दिएको अधिकारअनुसार प्रदेशको कार्यबोझ हेरेर व्यापक छलफल र राजनीतिक सहमतिका आधारमा प्रदेशमा ७ वटा मन्त्रालय राख्ने निर्णय भएको बताउँछन् । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले २०७४ सालमा दिएको प्रतिवेदनले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारीसहित ७ वटा मन्त्रालय राख्न सिफारिस गरेको थियो । तत्कालीन संघीय मन्त्रिपरिषद्ले त्यहीअनुसार प्रदेशमा मन्त्रालयको संरचना रहने निर्णय गरेको थियो ।

कर्मचारी समायोजन तथा दरबन्दीको स्वीकृति पनि प्रदेशका लागि ७ वटा मन्त्रालयलाई नै आधार मानेर गरिएको छ । प्रदेशका लागि २२ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । तर सबै प्रदेशमा गरी १३ हजार हाराहारी मात्रै कर्मचारी कार्यरत छन् । मन्त्रालय थपिने बित्तिकै थपिने चुनौती नै कर्मचारीको व्यवस्थापन हुन्छ । प्रदेश मन्त्रालयका सचिव संघका सहसचिवस्तरका कर्मचारी हुन्छन् । अहिले थपिने मन्त्रालयलाई आवश्यक पर्ने सहसचिव स्वीकृत दरबन्दीभन्दा बाहिरबाट मिलाउनुपर्ने हुन्छ । त्यसको सबैखाले दायित्व संघ सरकारमाथि पर्न जान्छ ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष रहेका प्रशासनविद् दाहालले प्रदेशमा एउटा मन्त्रालय थपिनुको असर धेरैतिर पर्ने बताउँछन् । प्रदेशमा ७ मन्त्रालय राख्न गरिएको सिफारिसअनुसार प्रदेश सरकारहरूले साढे ३ वर्ष कार्यान्वयन गर्नुलाई राम्रो मानिएको बताए । ‘प्रदेशको काम विशेषगरी समन्वय गर्ने हो । उसको कार्यबोझअनुसार ७ वटा मन्त्रालय उपयुक्त छ, मन्त्रालय थप्नुको औचित्य नै छैन । मुलुक संघीयतामा गइसकेपछि काम र अधिकार तीन तहमा बाँडिएकाले सबैले आफ्नो प्रशासनिक खर्च कम गर्नुपर्नेमा उल्टो भइरहेको छ,’ उनले भने, ‘मन्त्रालय थप्दा त्यसले आर्थिक व्ययभार कस्तो पर्छ भन्नेतर्फ कसैलाई मतलबै नहुने संस्कार बसेको छ । प्रशासनिक खर्च घटाउने र विकास बढाउनेभन्दा नेता र दललाई कसरी व्यवस्थापन गर्नेमै सबैको ध्यान रहनु चिन्ताजनक हो ।’

संविधानमा केन्द्रमा २५ जनासम्मको मन्त्रिपरिषद् रहने व्यवस्था छ । प्रदेशको हकमा प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्न सकिने प्रावधान छ । केन्द्रमा मन्त्रीको संख्या २५ नाघेको छैन । संवैधानिक व्यवस्थाअनुसार प्रदेश १ मा १९, प्रदेश २ मा २१, वाग्मतीमा २२, गण्डकीमा १२, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ जनाको मन्त्रिपरिषद् बन्न सक्छ । राष्ट्रिय सभा सदस्य देवकोटा भने त्यसलाई संविधानकै त्रुटि मान्छन् । प्रदेशसभाको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी मन्त्रीको संख्या हुनुपर्ने उनको तर्क छ । ‘भारतको राजधानी दिल्ली जस्तो ठूलो जनसंख्या र कार्यबोझ भएको ठाउँमा ७ वटा मन्त्रालय छन्,’ उनले भने, ‘संविधानको कमजोरीलाई टेकेर होइन, आवश्यकता र औचित्यका आधारमा मात्रै संरचना थपिनुपर्छ ।’ उनले अहिलेकै मन्त्रीहरूले काम नपाइरहेको उल्लेख गर्दै उनले थपिएका मन्त्रीको ‘झन्डा हल्लाएर’ घुम्नेबाहेकको काम नहुने बताए ।

जिल्ला तहमा कुनै कार्यालय नरहेको प्रदेशको आन्तरिक मामिला मन्त्रालयलाई पनि टुक्राएर दुईवटा बनाइएको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले गत वर्ष सरकारलाई बुझाएको प्रतिवेदनमा प्रशासनिक खर्च कम गर्न मन्त्रालय तथा विभागको संख्या घटाउन सिफारिस गरिएको थियो । प्रदेशको हकमा पनि त्यस्तै सुझाव थियो । आयोगका अध्यक्षसमेत रहेका योजना तथा अर्थविद् डिल्लीराज खनाल अर्थतन्त्र खुम्चिएको र कोभिड महामारीले मुलुकको स्रोत साधनमै चुनौती थपिएका बेला चालु खर्च बढाउने गरी मन्त्रालय थप्ने निर्णय दुर्भाग्यपूर्ण रहेको बताउँछन् । ‘अहिले थोरै स्रोत साधनबाट बढी प्रतिफल लिने बेला हो ।

तर मुलुक विकास र समृद्धिको बाटो बिराएर फेरि अनिश्चितता र अस्थिरताको बाटोमा गएको छ,’ उनले भने, ‘शक्तिको जोड घटाउ सत्तामा कसरी टिक्ने, कसरी अर्कोलाई फाल्ने चक्रमा प्रवेश गरेको छ । अनपेक्षित दिशामा बढ्नुको दुष्परिणामकै असर अहिले प्रदेशहरूमा पनि देखिएको हो ।’ उनले बिनाऔचित्य मन्त्रालय थप्ने कार्यले अनुत्पादक खर्च बढाउने र त्यसले थप आर्थिक चुनौती निम्त्याउने बताए । खनालले भनेजस्तै प्रदेशहरूको चालु खर्च बढ्दो छ । उनीहरू बजेटका लागि केन्द्रमै आश्रित रहेका छन् । मन्त्रालय थपिएसँगै चालु खर्च बढ्ने निश्चित छ ।