nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगरको इन्द्रायणी जात्राको दोस्रो दिनको पुजा सकियो, मुख्य पुजामा भ्यागुतादेखि नरबलीसम्म 

DSC_0319_3-1481774008.JPG

मकवानपुर थाहानगरको इन्द्रायणी जात्रा ३० मंसीमा समापन हुँदैछ । तीनवर्षे मेलाको अन्तिम दिन हो । दोस्रो दिन मुख्य पुजा र आज अन्तिम पुजाविधि सहित जात्रा समापन हुन्छ । 
पढ्नुहोस् जात्रा विधिः

दोस्रो दिनः
तीनवर्षे  अर्थात परेवा तिथीको दिन विहान सबेरै ठकु जु जु गंगाजीमा नुहाई धुवाई गरी शुद्ध गरी पुजा सामाग्री तयार पारेपछि देउलाहरु ठकु जु जु को घरमा बाजा बजाई लिन आउँछन् र ठकु जु जु को पुजाको साथै कर्माचार्य पनि जान्छ ।सर्व प्रथम ठकु जु जु को पुजा सकेपछि मात्र अन्य गाउँलेहरुको पुजा शुरु हुन्छ । त्यो दिनको जात्रालाई मूल जात्रा पनि भनिन्छ । त्यो दिन बली पुजा गर्नेहरुको लाईन छुट्टै हुन्छ । भजन किर्तन गर्नेहरु छुट्टै हुन्छन् । पञ्चबली पुजा छुट्टै हुन्छ । बाटो नाप्नेहरुको पुजा छुट्टै हुन्छ । त्यसै क्रममा बली पुजा तात्रन्त्रीक कर्माचार्यबाट बली बोका संकल्प गर्छन् । आचार्यबाट बोकाको टाउकोमा जल चढाई–यस जुनीमा पशु भएर जन्मेपछि श्री भगवान महामयी भगवती जगत जननी माताको पाउमा रक्त चढाई मुक्त हुन चहान्छु । अब कोटी कोटी जन्ममा पनि पशु भएर जन्म लिन नपरोस्, सदा सदा बैकुण्ठ बास होस भनी मन्त्र पढेर फूल अक्षता बली बोकाको टाउकोमा हाली दिन्छन् । त्यसपछि मानी मन्तरेर कानमा हालेपछि बोका प्रसन्न हुन्छ, त्यसपछि बोकालाई इन्द्रायणी स्थान भित्र लगिन्छ र बली चढान्न्छ ।  यसरी हजारौं हजार बली पुजा हुन्छ । त्यो दिन बहुत हर्ष उल्लासका साथ दर्शकहरुले जात्रा अवलोकन गरेको हुन्छ । धिमे बाजामा नाच्ने, बाँसुरी बाजामा नाच्ने, विभिन्न बाजामा नाच्दै गाउँदै देवी परिक्रमा गर्ने हजारौ हजार दर्शक महानुभावहरु हुन्छन् । यसरी क्रमशः लाईनमा आउने सबै बली पुजा यहि रीतले हुन्छ । त्यो दिन करिब दिउँसो २÷३ बजेसम्म बली पुजा, पञ्चबली पुजा एकनासले चलि नै रहन्छ । देवी स्थान भित्र बली काट्ने, पुजा गर्ने मध्ये देउता नाइके १, देउता पाले १, गाउा नाइके १, इन्द्रायणी पुजारी १, भगवती पुजारी १, काला भैरब पुजारी १ समेत ६ जनाले सबै भक्तजनहरुको पुजा गरिदिन्छ । सो दिनको पुजा समाप्त भएपछि दोस्रो दिनको जात्रा पनि सकिएको हुन्छ । त्यसपछि पुजा कर्ताहरु हातमुख धोएर आउँछ र पुजारीहरुलाई भण्डारेले खाना खुवाउँछ । त्यसपछि अब बोकाको टाउको झिक्ने काम शुरु हुन्छ र ठकु जु जु को घरबाट पुजा ल्याई पुजा गरिसकेपछि बोकाको टाउको चलाई फिजाई दिन्छ र १६ द्वारहरुको बोकाको टाउको बाँडीदिन्छन् । त्यस दिन अरु पुजा गरिदैन  र फूल प्रसाद बाँड्ने काम शुरु हुन्छ । १६ द्वारहरुले टाउको घरमा लगेर त्यसै रात माइस्थानमा मध्ये रातमा टाउके भोज गरिन्छ । सो दोस्रो दिनको रातमा इन्द्रायणी माईको प्राङ्गण मसानमा कोटी होम गरिन्छ । 

कोटी होमको सामाग्री र विधिः
हातको नङले छोडाएको धानको अक्षता             माना १
शुद्ध माटोमा उमारेको कालो भटमास               माना १
लाजा शुद्ध गरी भुटेको                                माना १
नरिवल जट्टा                                           १ वटा
नौ थरी सद्मी                                          माना १
नौ धरी पुजा फूल                     आवश्यक  अनुसार
पञ्चरंगी धागो                         आवश्यक अनुसार

जलचरहरुमाः
जिउँदो माछा एक जोर, जिउँदो च्यापाः माछा आठ औला भएको एक जोर, सकेसम्म पाहा नभएमा जिउँदो भ्यागुता एक जोर, आठ खुट्टे गँङटो एक जोर, 

स्थल जीवः
जिउँदो चरा भँगेरा एक जोर, सर्प जिउँदो उक जोर, बोकाको टाउको एक, दाउरा आवश्यकता अनुसार, पैयूँको लिङ्गो चार, सादा कपडा सात मीटर ।
उपरोक्त सामाग्री संकलन गर्नको लागि गुठी राखिएको छ । सो सामाग्री भण्डार कोठामा जम्मा भएपछि रातमा मसानमा पैयूँको चार लिङ्गो चार शुरमा गाडिन्छ । सादा कपडाले बेरिन्छ । उपरोक्त सामाग्रीहरु मसान भित्र लान्छ र इन्द्रायणी देवीको गलामा पञ्चरंगी धागोले बेरेर क्षत्रपालमा ल्याई, क्षत्रपाललाई पनि त्यसै धागोले बाँधेर होमको लिङ्गोमा बाँधिन्छ । अब त्यो मसानको चौ घेरो भित्र एक तान्त्रीक कर्माचार्य ठकु जु जु तीन पुजारी सहित भित्र बस्छ । त्यसपछि त्यही भित्र आगो बालेपछि अरु कसैले त्यहाँ भित्र हेनृ पाउने छैन, त्यसपछि कर्माचार्यले पि गँ चालिसगण देवी देवता, भूतप्रेत मसान उठाई खान दिन्छ । बोकाको टाउको, नरिवल जट्टटा आगोमा होम गरिन्छ । त्यसपछि जल मसान, कलबीर मसान, आकाशदेवी, पातालदेवी, पञ्च महाभूत, ४९ वायू, जलदेवी, आदि इत्यादी चालिस गणका देवी देवता जुन रुपमा खान आउँछन् के के खाने भन्छन् जसले जे मागे पनि कालो भट्टमास र (आख्यो) अक्षताले आवश्यक अनुसार खाना बनाइदिन्छ । यसरी मागे जति ४० गणका राक्षस देवी देवताहरुलाई इच्छापूर्ण भोजन खान दिन्छ त्यसै अनुसार सर्प, भ्यागुता, माछा, देव दानव अनुसार विभिन्न जिवात्मा जिउँदै होम गर्दै खाक पार्दै लगेको हुन्छ । सबैलाई सन्तुष्ट पार्दै लगेको हुन्छ । बोकाको टाउको जट्टा नरिवल, खाक हुँदै जान्छ, होमको सामाग्री पनि शेष हुँदै जान्छ । होमको विधि पनि घट्दै जान्छ अन्तिममा अर कोही बाँकी छ कि भनी प्रश्न गर्दा एउटा भयंकर राक्षस उत्पन्न भएर मलाई नरवली जन्माएर खान देऊ भनेर आउँछ, त्यस घडीमा कर्माचार्यले तान्त्रीक विधिबाट नरवली उत्पन्न गर्ने समय समाप्त भइसकेको हुनाले आजबाट यसै यन्द्रायणी देवीको इलाका भित्र कुनै पनि मानिस या पशुप्राणीहरुलाई दुःख कष्ट नदिनु होला अबको १२ वर्ष पछाडि नरबली ल्याएर नरबली चढाउँला अहिले भने श्री भगवती पुजारीको अंग काटेर रगत चढाउँला भनेर भगवती पुजारीले धारिलो हतियारले आफ्नो बायाँ हातको कान्छी औला रेटेर तुरुरु..रुरर रगतको धारो होमको आगोमा झारिन्छ । र, होम गर्ने कार्य समाप्त हुन्छ । 

टाउके भोजको विधिः
मसान होम गर्ने कार्य समाप्त भएपछि इन्द्रायणी मन्दिरको बाँयातर्फ खुल्ला चौरमा देउलाहरुद्वारा सिठा, घोचाले बारेर (बले) छाप्रो बनाएको हुन्छ । त्यस छाप्रोमा तीन कवलका १६ द्वारहरुको  सहदर दाजुभाईहरुको ठाउँमा बसी भोज खाइन्छ । भोज खाइसकेपछि टाउके भोज शुरु हुन्छ । सबै बोकाको टाउको आठ भागमा काटेको हुन्छ । जसमध्ये दायाँ आखा, बायाँ आखा, दायाँ कान, बायाँ कान, दायाँ बङ्गारा, बायाँ बङ्गारा, थुतुनो, जिब्रो गरी आठ भागमा छुट्टयाएको हुन्छ । यसरी रोलक्रम मिलाएर जेठालाई दायाँ आँखा, माइलालाई मायाँ आँखा, साइलालाई दायाँ कान, काइलालाई बायाँ कान, कान्छालाई दायाँ बङ्गारा, जेठालाई बायाँ बङ्गारा, थुतुनो आचार्यलाई, जिब्रो पुजा राख्नेलाई यसरी टाउके भोज समाप्त हुन्छ । भोज समाप्त भएपछि छाप्रो बनाउने देउलाहरुलाई नेग, जोगको रुपमा हरेक दाजुभाइहरुबाट एक÷एक पाथी चिउरा दिन्छ यसरी टाउके भोजको कार्य सकिएपछि भण्डार कोठामा एक माना चामलको भात पकाएर विधि पूर्वक पुजा गरेर चारै दिशामा चढाउन लान्छ । यो भने सबै देवी देवतालाई विदा गर्नलाई चार दिशाको बाटो खोल्ने भनिन्छ । यसरी बाटो खोलेपछि देवी स्थानमा सैले भोज चढाएर कँडाली उठाएर कँडाली भित्र दियो बालेर बाजागाजा सहित गाउँ भित्र्याइन्छ । यति कार्य सकिएपछि १६ द्वारहरुको जात्रा सकिन्छ । यति बेला विहान ३/४ बजेको हुन्छ । यती पुजा ३० मंसीर विहानसम्म भएको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)