nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने
बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान

IMG_20210610_070741-1623288208.jpg

यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुई/तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको मनसुनी वर्षाका कारण बाढीपहिरोका घटना बढ्ने आकलन गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहनेछ । ‘२८ देखि ३० जेठसम्म मनसुन सक्रिय हुने आकलन गरिएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभुति पोखरेलले भनिन् । मनसुन मध्यअसोज अर्थात् १०५ दिन नेपाली आकाशमा कायम रहन्छ । जसअनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ, जसलाई प्रतिशतमा हेर्दा ३५–६५ देखिन्छ ।

लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुने देखिन्छ । हिमाली तथा उच्च पहाडी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ५५–६५ प्रतिशत छ भने त्योभन्दा तल्लो बेल्टमा ४५–५५ प्रतिशत । यसैगरी, सिवालिक क्षेत्रमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५–४५ प्रतिशत छ । लुम्बिनी प्रदेशको दक्षिणी भूभाग, बागमतीको चितवन क्षेत्र र प्रदेश २ को बारा, पर्सामा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५–४५ प्रतिशत छ । तर, प्रदेश १ को तराई र २ का पूर्वी तराईमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५ प्रतिशत छ । गत वर्ष गण्डकी प्रदेशमा केन्द्रित वर्षा हुँदा सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भएको थियो । त्यसअघिल्लो वर्ष प्रदेश १, २ र बागमतीको अधिकांश भूभागसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा भएको थियो ।

बाढीपहिरोको जोखिम 

गत वर्ष मुलुकमा ठूल्ठूला पहिरो खसेका थिए । मनसुनी अवधिमा सिन्धुपाल्चोक, म्याग्दी, कालिकोट, बझाङलगायत जिल्लामा ठुल्ठूला पहिरो खस्दा दुई सय ९६ जनाको मृत्यु भएको थियो । त्यसैगरी, बाढीमा ४३ जनाको ज्यान गएको थियो । यो वर्ष बाढीपहिरोका घटना अझ बढ्न सक्ने भएकाले जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।

पछिल्लो १० वर्षको तथ्यांक र मनसुन पूर्वानुमानमा आधारित रही राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको विश्लेषणअनुसार यस वर्ष बाढी र पहिरोबाट क्रमशः १७ लाख र एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ । पहिरोमा २४ हजार ६ सय ७८ घरपरिवार प्रभावित हुने आकलन गरिएको छ । गत हिउँद र प्रिमनसुनमा १२ प्रतिशत बढी डढेलो लागेकाले पनि भूस्खलनका घटना बढ्ने आकलन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विक्रम श्रेष्ठले मनसुनी अवधिमा बाढीपहिरोका घटना बढ्ने भएकाले हरेक दिन मौसमको आकलन गरेर प्रभावित क्षेत्रका नागरिकका मोबाइलमा सन्देशमूलक एमएमएस पठाइने बताए । ‘२४ घन्टा ड्युटीको व्यवस्था गरेका छौँ, पूर्वानुमान, तत्कालको अवस्थाबारे जानकारी दिनेछौँ,’ श्रेष्ठले भने । नयाँपत्रिकाबाट