Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको जनकल्याण मावि भवन निर्माण नगर्ने ठेकेदारलाई कारबाही प्रकृया सुरु

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले थाहा नगरपालिकाको जन कल्याण माविको भवन निर्माण नगर्ने ठेकेदार कम्पनी बिरुद्ध कारबाही प्रकृया सुरु गर्ने भएको छ । जिसस मकवानपुरको ७७औं बोर्ड बैठकले धेरै पटक म्याद थप्दा समेत विद्यालय भवन निर्माण सम्पन्न नगरेको हुँदा कम्पनी बिरुद्ध कानुनी कारबाहीको प्रकृया सुरु गर्ने २० जेठमा निर्णय गरेको हो ।

जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले विद्यालय भवन निर्माणमा ठेकेदार पक्षले अप्ठ्यारो पारेको हुँदा कानुनी कारबाहीको प्रकृयामा जाने निर्णय गरेको हो । जिल्लाकै पुरानो जन कल्याण मावि तत्कालिन जिल्ला विकास समिति मार्फत भारीतय महावाणिज्य दुतावासको आर्थिक सहयोगमा ३ करोड २८ लाखमा ठेक्का सम्झौता भएको थियो । तर, पटक पटक म्याद थप गर्दा समेत विद्यालयको भवन निर्माण हुन नसकेपछि कारबाही प्रकृया सुरु गर्ने निर्णयमा पुगिएको जिसस प्रमुख खुलालले बताए । विद्यालय भवन नबन्दा नमुना विद्यालयको सुचिमा परेको उक्त विद्यालयलाई अप्ठ्रो परेको र भवन निर्माणका विषयमा ठेकेदार पक्षले ध्यान नदिएकाले प्रचलित कानुन बमाजिम कानुनी प्रकृयामा जाने निर्णय भएको उनले बताए ।

त्यस्तै आजको बोर्ड बैठकले सहयोगापेक्षी सडक व्यवस्थापनका लागि उपलब्ध गराउने सहयोग रकम सम्बन्धी कार्यविधि सेमेत पास गरेको छ । जिसस मकवानपुरकै पहलमा जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरिएको हुँदा त्यस्ता सहयोगापेक्षी सडक मानव व्यवस्थापनमा लागेका संघ संस्थालाई उपलब्ध गराईने सहयोगका लागि कार्यविधि तयार गरेर बोर्ड बैठकबाट पारित गरिएको हो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, सानुकान्छि स्याङतान, बुद्धिबहादुर स्याङ्तान, सरिता विक, सिता अधिकारी, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको उपस्थित रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०