nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रुटिपूर्ण दाल सुटुक्क फिर्ता

60bed173adc3f_Untitled-1-1623118859.gif

 प्याकेजिङमा त्रुटि भेटिएपछि गत फागुन १२ गते विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको गोदाममा सिलबन्दी गरिएको दाल निषेधाज्ञाको समयमा सुटुक्क फिर्ता पठाइएको छ । गत मङ्सिर १७ गते भन्सार जाँचपास गरेर भित्र्याइएको ४८ मेट्रिक टनमध्ये बिक्री हुन बाँकी ४० मेट्रिक टन दाल वैशाख ३० गते पैठारीकर्तामार्फत मुजाम्बिकस्थित उत्पादक एग्री कमोडिटिज फाइनान्सलाई नै फिर्ता पठाइएको हो ।
दाल फिर्ता पठाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चैत ३१ गते स्वीकृति दिएको थियो । विभागको निर्णयअनुसार विराटनगर भन्सार कार्यालयले दाल फिर्ता पठाउन वैशाख ३ गते स्वीकृति प्रदान गरेको थियो ।
पैठारी गरिएकोमध्ये आठ मेट्रिक टन दाल बिक्री भइसकेपछि प्याकेजिङमा त्रुटि फेला पारिएको ४० मेट्रिक टन दालको गोदाममा लगाइएको सिलबन्दी तोडेर भन्सार कार्यालय हुँदै जैसानीले एग्री कमोडिटिज फाइनान्सलाई दाल फिर्ता पठाएको छ । खरिदका क्रममा कुनै त्रुटि फेला पारिए १२० दिनभित्र फिर्ता लैजाने सर्तबमोजिम दाल फिर्ता पठाइएको जैसानीका प्रतिनिधिले बताएका छन् ।
दाल फिर्ता पठाइसकिएपछि प्रक्रियागत कागजातको विवरणसहित जैसानीले जेठ १२ गते विभागलाई जानकारी दिएको थियो । दालको सम्बन्धमा उत्पादक कम्पनिले नै आफ्नो प्याकेजिङमा त्रुटि भएको नेपालको कानुनले ठहर गरेमा फिर्ता लैजाने आशयको पत्र पठाएको थियो ।
दाल प्याकेजिङ गरिएको बोरामा उत्पादन र उपभोग्य अवधि परिवर्तन गरिएको लेबल टाँस गरिएको पाइएपछि कारबाहीस्वरूप तत्काल तीन लाख रुपियाँ जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले सिलबन्दीसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपियाँ जरिवाना गरेको हो ।
पैठारीकर्ता ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (ट्रेड फिड बीमा प्रमाणपत्र, अनाज र फिड ट्रेड) प्रमाणपत्रसहित जैसानीलाई पठाएका कारण फिर्ता लिनसमेत सहमत भएको र त्यही परिमाणको दाल पुनः जैसानीलाई पठाउने जनाएको छ ।
आयातकर्ता जैसानीलाई समेत खाद्य प्रयोगशाला, क्वारेन्टाइन र खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालयले ‘चारित्रिक गुणस्तरअनुरूप अनुकूल पाइएको’ भनेर स्वीकृति प्रदान गरिदिएको थियो तर जैसानीले आयात गरेको ४८ टनमध्ये गोदाममा फेला परेको ४० टन दाल प्याकेजिङ गरिएको दुई हजार सात सय बोराको बाहिरी भागमा दुईवटा लेबल भेटिएको थियो । उत्पादक कम्पनीले बोरामै प्रिन्ट गरेको लेबलमा सन् २०१३ मा उत्पादन भई २०१५ सम्ममा दाल उपभोग गर्ने अवधि लेखिएको थियो । बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेबलमा भने सन् २०२० मा उत्पादन भई २०२२ मा उपभोग्य मिति उल्लेख गरिएको थियो । यसलाई उत्पादक कम्पनीले कोरोना सङ्क्रमणका कारण बोरा अभाव हुँदा पहिलेको बोरा प्रयोग गरिएकाले दालमा कैफियत नभएको भन्दै फिर्ता लिन स्वीकार गरेको हो ।
खुद्रा बिक्रेता हुँदै आयातकर्तासम्म पुगेर गोदाम सिलबन्दी गरिएको दालको विषय निकै विवादित भएको थियो । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको २०७६ कात्तिक १७ गते गरेको निर्णयअनुसार दाल फिर्ता पठाउन नमिल्ने थियो । उत्पादकले लेबल विवरणमै उपभोग्य अवधिबारे स्पष्ट रूपमै उल्लेख गरेको अवस्था भएमा त्यस्ता वस्तुको विश्लेषण गर्न आवश्यक नपर्ने निर्णय विभागले आफैँ गरेको थियो । लेबलमै म्याद सकिएको वा म्याद बाँकी रहेको अवस्थामा पाइएको दाल सङ्कटको मौकामा सुटुक्क मिलाएर फिर्ता गरिएको छ ।
विभागको निर्णयअनुसार लेबलमै त्रुटि भेटिएका त्यस्ता खाद्य पदार्थ बरामद भएको अवस्थामा खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम मुचुल्कालगायत लेबलका बारेमा कारबाही गर्ने स्पष्ट निर्देशन थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले तीनवटा अवस्थामा कारबाही चलाउनुपर्ने देखिएको दालको विषय फिर्ता पठाउने निर्णय गर्दै सकिएको हो । सिलबन्दी गरिएको दाल नष्ट गर्ने, आयातकर्तालाई मुद्दा चलाउने वा फिर्ता पठाउन सक्ने अवस्था भए फिर्ता पठाउन अनुमति दिने तीन आधार रहेको पोखरेलको भनाइ छ ।गाेरखापत्रबाट