Friday, 26th June, 2026
वि.स.

तेस्रो थाहा महोत्सवमा उत्कृष्ट कृषकलाई पुरस्कारै पुरस्कार

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा यहि १० कार्तिकदेखि १८ सम्म हुने तेस्रो थाहा महोत्सवमा उत्कृष्ट कृषकहरुलाई पुरस्कारै पुरस्कारको व्यवस्था गरिएको छ । विकासखबर डटकमका सम्पादक कुमार नेगीसँग कुराकानी गर्दै आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले यस्तो बताएका हुन् । 
पुरस्कारका लागि भने कृषकहरुले आफूले उत्पादन गरेका सामग्रीहरु महोत्सवमै ल्याउनु पर्नेछ । महोत्सव शुरु हुने दिन १० कात्तिकमै ल्याइएका कृषि उपजहरुको पुरस्कारका लागि मूल्याङ्कन हुने संयोजक प्रधानले बताए । प्रधानका अनुसार प्रदर्शनीमा तरकारीबाली तर्फ फलेको बोट सहित ल्याउनु पर्नेछ । त्यस्तै अन्नबालीतर्फ फलेको बोटसहित कम्तीमा दुईवटा बोट, मसलाबाली, आलु बाली, फलफूल फलेको हाँगासहित र तेलहन र अन्य विविध कृषि उपज ल्याउनु पर्नेछ । 
प्रदर्शनीमा राखिएका उपजहरुमध्येबाट बाली समूह अनुसार मूल्याङ्कन गरिनेछ । बालीसमूह अनुसार  प्रथप, द्वितीय, तृतीयको अतिरिक्त अन्य २८ जनालाई सान्त्वना पुरस्कार दिइने आयोजकले बताएको छ । प्रतियोगितामा प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्ट्रिक पम्प सहित ५ हजार रुपियाँको बीउ, देस्रोलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको बीउ, तेस्रो हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको बीउ पुरस्कार रहेको संयोजक प्रधानले बताए ।  
प्रतियोगिताको पहिलो पुरस्कार आर.आर. एग्र्र्र्रो.एण्ड जनरल सप्लायर्सले पम्प र नेपाल सिड कम्पनीले विउ उपलब्ध गराउने भएको भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार आयोजकले व्यवस्था गरेको छ ।
प्रतियोगिताको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले सहयोग गरेका छन् ।