Thursday, 20th August, 2026
वि.स.

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
सुविधासम्पन्न शाैचालय थपियाे

IMG-20260820-WA0046-1787234367.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धि र विद्यालय व्यवस्थापनका क्षेत्रमा समेत उत्कृष्ट बन्दै गएको छ। च्वाइस नेपालको सहयोगमा सुविधा सम्पन्न शौचालय तथा अन्य संरचना निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि थपिएको हो।

४ भाद्रमा थाहा नगरपालिका प्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्यतामा नवनिर्मित संरचना हस्तान्तरण तथा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा LDSC का प्रमुख डा. कार्ल जोनसन, उनकी धर्मपत्नी लिन्डा रिडिङ जोनसन, च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ललगायतको उपस्थिति थियो।

कार्यक्रममा झम्केश्वरी बाजा व्यवस्थापन समितिले उत्कृष्ट धिमे बाजासहित सांस्कृतिक प्रस्तुति दिएको थियो। विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

भौतिक विकाससँगै शैक्षिक गुणस्तर प्राथमिकतामा : प्रधानाध्यापक श्रेष्ठ 

विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले विद्यालयको विकासमा भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखिएको बताए।

उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, स्थानीय सरकार तथा सहयोगी संघसंस्थाबीचको सहकार्यबाट विद्यालयको विकास सम्भव भएको बताए।

च्वाइस नेपालको सहयोगमा निर्माण भएको सुविधा सम्पन्न शौचालयले विद्यार्थी तथा शिक्षक–कर्मचारीका लागि स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरण निर्माणमा सहयोग पुगेको उनले बताए।

विद्यालयले आगामी दिनमा प्रविधिमैत्री शिक्षण, विद्यार्थी अनुशासन, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्ने प्रधानाध्यापक श्रेष्ठले बताए। राम्रो नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन तथा अपेक्षाकृत कमजोर विद्यार्थीलाई थप सहयोग गर्ने योजना रहेको उनको भनाइ थियो।

विद्यालय सबैको साझा सम्पत्ति : अध्यक्ष लामिछाने

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन लामिछानेले विद्यालयलाई स्थानीय समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताए।

उनले व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, स्थानीय सरकार तथा सहयोगी संस्थाबीचको सहकार्यले विद्यालयलाई थप व्यवस्थित र उत्कृष्ट बनाउन सकिने बताए।

च्वाइस नेपालको सहयोगमा निर्माण भएको संरचना विद्यालयको आवश्यकता र प्राथमिकतासँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको उनले बताए। नयाँ संरचना निर्माणसँगै त्यसको संरक्षण, उचित प्रयोग र दीर्घकालीन व्यवस्थापनमा समेत सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

विद्यालयको विकास साझा प्रयासको परिणाम : प्रदिप प्रधान

विद्यालयका निवर्तमान अध्यक्ष प्रदीप प्रधानले झम्केश्वरी मावि आजको अवस्थामा आइपुग्नुमा व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा सहयोगी संस्थाको निरन्तर योगदान रहेको बताए।

उनले विद्यालयको वास्तविक सफलता भवन र भौतिक संरचनाले मात्र निर्धारण नगर्ने भन्दै विद्यार्थीको ज्ञान, सीप, संस्कार, अनुशासन र व्यवहारमा देखिने सकारात्मक परिवर्तन नै विद्यालयको मुख्य उपलब्धि भएको बताए।

शिक्षकको मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावकको सहयोगका कारण विद्यालयले राम्रो शैक्षिक नतिजा हासिल गर्न सफल भएको उनको भनाइ थियो। थाहा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्ने पहिचानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ राम्रो उपलब्धि हासिल गर्नुपर्ने उनले बताए।

थाहा नगरपालिकामै उत्कृष्ट विद्यालय बन्ने आधार : नगर प्रमुख बिष्ट

थाहा नगरपालिका प्रमुख विष्णु बिष्टले झम्केश्वरी माध्यमिक विद्यालय थाहा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुका साथै व्यवस्थित विद्यालयका रूपमा अघि बढिरहेकोमा खुसी व्यक्त गरे।

उनले विद्यालयको शैक्षिक उपलब्धि, व्यवस्थापन तथा भौतिक पूर्वाधारमा देखिएको प्रगतिले आफूलाई खुसी बनाएको बताए।

विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध नङ र मासुको जस्तै आत्मीय र बलियो हुनुपर्ने बताउँदै नगर प्रमुख बिष्टले झम्केश्वरीमा यी पक्षबीचको सहकार्य राम्रो रहेको बताए।

व्यवस्थित शौचालयले विद्यार्थीलाई सहज : रितिका

कार्यक्रममा कक्षा १० की छात्रा रितिका लामिछानेले सुविधा सम्पन्न तथा व्यवस्थित शौचालय निर्माण भएपछि विद्यार्थीलाई सहज भएको बताइन्।

स्वच्छ र व्यवस्थित शौचालयको सुविधाले विद्यार्थीको दैनिक जीवन तथा पठनपाठनमा समेत सकारात्मक प्रभाव परेको उनले बताइन्। निर्माणमा सहयोग गर्ने च्वाइस नेपाल तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै उनले नयाँ संरचनाको संरक्षण र सरसफाइमा विद्यार्थी पनि जिम्मेवार बन्नुपर्ने बताइन्।

च्वाइस नेपाल डा. जोनसनको सहयोग

कार्यक्रममा DNPC का प्रमुख डा. कार्ल जोनसनले नवनिर्मित संरचनाले विद्यार्थीको स्वास्थ्य, सरसफाइ तथा सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने बताए।

उनले विद्यालयको विकासमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवारलाई शुभकामना दिए।

च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपानेले विद्यालयको आवश्यकता र विद्यार्थीको हितलाई ध्यानमा राखेर संरचना निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा सहयोगी संस्था तथा अतिथिहरूलाई विद्यालयले मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।

प्रथम त्रैमासिक परीक्षाको नतिजा पनि उत्साहजनक

संरचना हस्तान्तरणपछि विद्यालयले शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।

विद्यालयका अनुसार विभिन्न कक्षा तथा विषयमा विद्यार्थीहरूले राम्रो प्रदर्शन गरेका छन्। नतिजा सार्वजनिक भएपछि विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षमा उत्साह थपिएको थियो।

प्रधानाध्यापक गणेशमान श्रेष्ठले नतिजालाई विद्यार्थीको सिकाइ उपलब्धिको महत्वपूर्ण सूचकका रूपमा लिनुपर्ने बताए। राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई थप प्रोत्साहन तथा अपेक्षाकृत कमजोर विद्यार्थीलाई आवश्यक सहयोग गरिने उनले बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन लामिछानेले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै शैक्षिक गुणस्तर सुधारलाई निरन्तर प्राथमिकतामा राखिने बताए।

निवर्तमान अध्यक्ष प्रदीप प्रधानले विद्यालयको शैक्षिक उपलब्धि निरन्तर सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि मेहनत र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए।

यसरी एउटै अवसरमा भौतिक पूर्वाधार हस्तान्तरण र प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न भएपछि झम्केश्वरी माध्यमिक विद्यालयमा भौतिक तथा शैक्षिक दुवै क्षेत्रमा उत्साह थपिएको छ।

भौतिक पूर्वाधारमा थपिँदै गएको सुविधा, व्यवस्थित व्यवस्थापन, शिक्षक–विद्यार्थीको सक्रियता, अभिभावकको सहयोग, समुदायको अपनत्व र सहयोगी संस्थाको साथले झम्केश्वरी माविलाई थाहा नगरपालिकाकै अग्रणी विद्यालयका रूपमा अघि बढाउन थप आधार तयार गरेको छ।

तस्बिरहरु भुपेन्द्र गाेपाली 

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०






Thaha-002-1774415222.gif