Sunday, 30th August, 2026
वि.स.

इन्द्रसरोवर:- स्वास्थ्य स्वयमसेविकाले मास्क समेत नपाएको गुनासो

rahat-1-1586847730.jpg

हाल कोरोना भाइरस (कोभिड १९) विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनका लागि स्वास्थ्य स्वयमसेवीकाहरुलाई खटाउने भएको छ । यसरी खटाउने स्वयमसेविकाहरुलाई सरकारले व्यक्तिगत सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउने जनाएको छ । संक्रमणको विषम परिस्थितिमा गाउँघरमा स्वास्थ्य सेवा तथा सचेतना फैलाइरहेका स्वास्थ्य स्वयमसेवीकाहरु आफै असुरक्षित रहेको महसुस गरिरहेका छन् । 
इन्द्रसरोवर गाउँपालिकामा भने यतिखेर गाउँगाउँमा खटिरहेका स्वयमसेविकाहरुले एउटा मास्क समेत नपाएको गुनासो गरेका छन् । आफुहरु गाउँगाउँमा सचेतना फैलाउँदै दिनहँु हिड्नु पर्ने, गाउँका मानिसलाई कोरोनाको बारेमा सम्झाई बुझाई गर्ने, कोहि कसैलाई असामान्य लक्षण तथा स्वास्थ्य समस्या देखा परेमा आकस्मिक सेवा प्रदान गर्नुका साथै स्वास्थ्य संस्थामा पुर्याउन समन्वय गर्नु पर्ने हुँदा आफुहरुको सुरक्षाको लागि मास्क, सेनिटाईजर लगायत अन्य कुनै पनि व्यक्तिगत सुरक्षाका सामाग्रीहरु नपाएको गुनासो गरेका छन् । आफुले स्वास्थ्य चौकीमा मास्कको माग गर्दा स्वास्थ्य चौकीमा समेत मास्कको अभाव भएको प्रतिक्रिया प्राप्त भएको एक स्वयमसेवीकाले बताउनु भयो ।

लकडाउनको प्रभावले बजारहरु सुनसान भएपनि गाउँमा भने हो हल्ला र भिडभाड बढिरहेका कारण गाउँमा रहेका स्वास्थ्यकर्मीले सचेतना फैलाउने क्रममा व्यक्तिगत सुरक्षाको लागि स्थानीय तहको ध्यान नगएको स्वयमसेवीकाहरुले गुनासो गरेका छन् । इन्द्रसरोवर गाउँपालिका भित्र जम्मा ३७ जना स्वास्थ्य स्वयमसेविका रहेकाछन् । 

इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मन्नुनाथ अधिकारीले भने स्थानीय तहले नै मास्कको अभाव झेलीरहेको बताउनु भयो । जिल्लाले नै मास्क उपलब्ध गराउन नसकेको र स्थानीय स्तरमा नै किन्दा पनि महँगोमा किन्नु पर्ने र महँगोमा किन्दा बिल पनि नहुँदा आफुहरुलाई व्यवस्थापन गर्न समस्या भएको उहाँले बताउनु भयो । 

गाउँपालिका सँग सेनिटाईजर भने रहेको बताउँदै गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा मंगलबार नै सेनिटाईजर पुर्याउने उहाँले बताउनु भयो । स्वयमसेवीकाहरुलाई खटाउने सम्बन्धमा निर्देशिका बनिरहेको र गाउँपालिकामा पनि छलफल भैरहेको उहाँले बताउनु भयो । ज्वरो जाँच्नको लागि प्रत्यक्ष सम्पर्क हुनु पर्ने भएकोले प्रत्येक वडामा क्लिनिक राखेर ज्वरो जाच्ने योजना रहेको उहाँले बताउनुभयो । 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।