nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इच्छा [कविता]
-विर्खे अञ्जान

Lax-1631845650.jpg

"इच्छा"

खेलेर आफ्नै बा को छातिमा परेड
गाँउदै छ  एक हुल व्वाँसहरू राष्ट्रियताको गीत
हल्लाउँदै इशारामा तिनका दास टाउको 
अलाप्दै छन् - समृद्धिको चर्को नारा
थापेर अस्मिताको पसल
गरिदैछ आमाको व्यापार 
विवेक बन्दकी राखेरै यो देशको सरकार 
भनिरहेछ -- हाम्रो सार्वभौम सधैं अटल रहने छ ।

कसको इशारामा चल्छ यो देश
कसले हल्लाइ रहेछ सत्ताको कुर्सी 
कहाँ पुग्न बुर्कुसी मारिरहेछन् निर्वाचित नेता
कुन विश्वासको भर्याङमा चढिरहेका होलान् निरीह जनता
प्रश्न स्वयं प्रश्नहरूकै भुमरीमा  अलमलिएको छ अचेल ।

दिनानुदिन बलात्कृत हुदैछ  राष्ट्रियता 

थापिदैछ जुवाघरमा हाम्रो स्वतन्त्र जिन्दगी  
र , पहिचानको खोजी गरिदा नगरिदै 
बिक्री हुदैछ अन्तर्राष्ट्रिय बजारमा हाम्रो अस्मिता ।

एकपटक फेरि 
यो देशको खातिर 
बगाउनु पर्ने भएको रगत
मरेर आफू जोगिन्छ भने जन्मभूमि 
ओ ! सरकार रेटिदेऊ मेरो घाँटी
र चढाइदेऊ देशको सिमानामा ।

 सधै कसैको दास बन्नुभन्दा
म यो देशको सहिद बन्न चाहान्छु ।