Thursday, 20th August, 2026
वि.स.

असार मसान्तसम्म रोजगारदाता सूचीकृत हुने

विभिन्न कारणबाट सरकारले तोकेको समयावधिभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन नसकेका रोजगारदाता तथा श्रमिकले आगामी असार मसान्तसम्म कोषमा सूचीकृत हुन सक्ने भएका छन् ।

सामाजिक सुरक्षा कोष सञ्चालक समितिको हालैको बैठकले कोषमा सूचीकरणका लागि आउन नसकेका रोजगारदाता वा श्रमिकलाई आगामी असार मसान्तसम्म सूचीकरण गर्न सक्ने निर्णय गरेको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनुभयो । सरकारले गत कात्तिक २६ गते नेपाल राजपत्रमा एक सूचना प्रकाशित गरी यही वैशाख १५ गतेभित्र विभिन्न चरणमा मुलुकभरका रोजगारदातालाई कोषमा सूचीकृत हुन आह्वान गरेको थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको सन्दर्भमा विभिन्न नीतिगत अस्पष्टता रहेको भन्दै रोजगारदाताले सूचीकरणमा आलटाल गर्दै आएका थिए । सरकारले काठमाडौंउपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले गत फागुन ६, काठमाडौँ उपत्यका बाहेकका प्रदेश नं ३ का रोजगारदाताले गत फागुन १५, प्रदेश नं १ का रोजगारदताले गत चैत १, प्रदेश नं २ का रोजगारदाताले गत चैत १५, गण्डकी प्रदेश र प्रदेश नं ५ का रोजगारदाताले यही वैशाख १ तथा कर्णाली र सदूरपश्चिम प्रदेशका रोजगारदाताले यही वैशाख १५ गतेसम्म आफूलाई कोषमा सूचीकरण गराउनुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी सूचीकरण भएका रोजगारदाताले तीन महिनाभित्र आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेका व्यक्तिलाई कोषमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको थियो । बुधबारसम्म विभिन्न प्रदेशका गरी दुई हजार ४१७ रोजगारदाता र तीन हजार ७१९ योगदानकर्ता सूचीकरण भइसकेका कोषले जनाएको छ ।



Thaha-002-1774415222.gif