nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 15th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सीडीओको आँखामा खुर्सानी हाल्ने ‘खुर्सानी मैया’
तिनै सीडीओले गोली हान्न दिएनन्, सुरक्षाकर्मीलाई

२०५३ सालमा कमलकुमारी शाहीको परिवार भोकमरीमा पर्‍यो  । माओवादी सशस्त्र द्वन्द्व चर्किंदै थियो । माओवादी कार्यकर्तालाई के मतलब ! उनकै घरमा संख्या तोक्दै खाना बनाउनु भन्ने आदेश दिन्थे । कमलकुमारीसँग अन्नपात केही थिएन । तर, आदेश स्वीकार्दै जोडजाम गरेर पकाउनुपथ्र्यो ।

त्यस समय दुर्गम जिल्लाहरुमा खाद्य संस्थानले चामल बाँड्थ्यो, सरकारले । चामल थोरै बाँडिने भए पनि हजारौं सर्वसाधारणको सदरमुकाममा भीड लाग्थ्यो । साविकको दुनै गाविस, धुपीचौरकी कमलकुमारी पनि राशन कार्ड बोकेर खाद्य संस्थानको गोदाममा पुगिन् । उनको घरमा परिवार संख्या थोरै थियो । राशन कार्डमा पनि दुईजनाको मात्र नाम थियो । बाबुसँग धुपीचौरमा पाल टाँगेर बसेकी थिइन् ।

संख्या थोरै भएकाले चामल पनि थोरै आउँथ्यो । तर, घरको अवस्था सम्झेर उनले धेरै चामल लिने बिचार गरिन् । जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारीसँग बिन्ती गरेर धेरै चामलको सिफारिस पाउने योजना बनाइन् ।

जिल्लाका प्रजिअ चानचुने व्यक्ति होइनन् । त्यो पनि संकटका बेला । उनले चाहँदा जोकोहीलाई कानूनी उल्झन लगाएर फसाउन सक्थे । द्वन्द्व चर्किएकाले जोकोहीले प्रजिअसँग कुरा गर्न त के नजिक पर्न पनि गाह्रो मान्थे । त्यसैमाथि उनी त महिला थिइन् । तर, कमलकुमारीलाई कुनै डर र धक लागेन । साहस गरिन् । उनी चामलको सिफारिस माग्न जिल्ला प्रशासन पुगिन् । प्रजिअकहाँ पुगेर उनले निर्धक्क तर नरम स्वरले भनिन्, ‘श्रीमान्, मलाई चामलको कुपन लेखिदिनुपर्‍यो, हामी गरिबको जग्गा पनि छैन, भएको जग्गामा पनि उत्पादन हुँदैन । हामीलाई चामल मिलाई दिनुपर्‍यो  ।’

प्रजिअले जवाफ दिए, ‘अहिले चामल छैन ।’ ‘श्रीमान्, आएको चामलजति ठेकेदारहरुलाई दिने, मन परेका र चिनेजानेका मान्छेहरुलाई मात्रै दिने,’ कमलकुमारीले पनि निर्धक्कसँग जवाफ फर्काइन्, ‘हामी गरिबले के खाने, हाम्रो पीडा कसले बुझिदिने ?’

फेरि प्रजिअको बोली फुट्यो, ‘मेरो मनपरेको मान्छेलाई १५, २० क्विन्टल भए पनि दिन सक्छु, तर मन नपरेको मान्छेलाई एक किलो पनि दिन सक्दिनँ । तपाईं तुरुन्तै जानुस्, के गर्न सक्नुहुन्छ गर्नुस् ।’

बाटोघाटामा आफ्नो कुरा काट्ने गरेको बताउँदै कमलकुमारीलाई जस्तोसुकै अन्यायमा परे पनि न्याय दिन नसक्ने जवाफ प्रजिअले दिए ।

मसानघाटको त्रिपाल उठाउन आदेश

दुःख, कष्ट गरेर मसानघाटमा पाल टाँगी एक्लै बसेकी उनको थातथलोबाट नै उठाउने खेल भयो । तर, सफल भएनन्, प्रजिअ ।
‘तुरुन्त यो ठाउँ छाड्, सार्वजनिक ठाउँमा बस्न पाइँदैन’ भन्दै प्रशासनबाट आदेश आयो । भोकभोकै खनेको खेतमा लगाइएको अन्नबाली जोगाउन लगाइएको घेराबार हटाउने आदेश भयो ।

सानैमा बिहे गरेर घरबार बिग्रेकी उनले एक्लै संघर्ष गर्नुसम्म गरिन् । पटक–पटक प्रजिअ नै आफूमाथि खनिएपछि कमलकुमारीलाई असह्य भयो ।

अन्याय खप्न सकिनन्, उनले । प्रशासनभित्रै आफ्नो आवेग पोख्न थालिन् । चामलकै विषयमा प्रशासनमै भनाभन भयो ।

‘प्रशासन भनेको जनतालाई न्याय दिने ठाउँ हो,’ उनी जंगिइन्, ‘सीडीओ भएर पनि बाहिर बोर्ड हेर्न भ्याउनुभएको छैन कि क्या हो ?’

त्यससमय प्रजिअ लीलानिधि कोइराला थिए । कमलकुमारीको बोलीले कोइरालाको दिमाग तात्तियो । हातपात गरेर बाहिर निकाल्नेसम्मको धम्की दिए ।

कमलकुमारीले अझै निडर भएर भनिन्, ‘के गर्न सक्नुहुन्छ गर्नुहोस्, ल हातपात गरेर देखाउनुस् ।’ उनी प्रजिअको कुर्सीसम्मै पुगिन् ।

प्रजिअ कोइराला मौन भए । एकछिनपछि फेरि भने, ‘तपाईं बाहिर गइहाल्नुस् त !’ तर, कमलकुमारी निस्किनन् । त्यहीं निडरका साथ बसिरहिन् । फेरि पेचिलो जवाफ फर्काइन्, ‘यो तपाईंको बाउको बिर्ता होइन । यो त प्रशासन कार्यालय हो, अन्याय परेकाले न्याय माग्ने घर हो । तर, तपाईंले यो कुरा बुझ्नुभएन ।’

प्रजिअ फेरि चुप बसे । कमलकुमारी भने चर्किरहिन् । ‘सीडीओ सा’प तपाईंले बोलेर देखाउनुभयो, मलाई केही गर्न सक्नुभएन,’ उनले आफ्नो परिचय खुलाउँदै भनिन्, ‘म गरेर देखाउनेछु, मेरो नाम कमलकुमारी शाही हो । घर धुपीचौर । बाटोमा आँउदाजाँदा होस पुर्‍याउनुहोला । म जे पनि गर्नसक्छु, सचेत भएर हिँड्नुहोला ।’ उनी यति भन्दै टेबुल ठोकेर प्रशासनबाट निस्किइन् ।

कमलकुमारीमा नेतृत्व क्षमता थियो । उनी खेतीपाती गर्थिन् । २३ साउन ०५३, जनै पूर्णिमाको दिन । दुईजना गार्डसहित प्रजिअ उनकै घरतिर आउँदै थिए ।

कमलकुमारीले प्रशासन कार्यालयमा आफूले दिएको धम्की सम्झिइन् । मौका यही हो भन्दै झुप्रोभित्र पसिन् । उनको झुप्रो बाटोछेउमा थियो । प्रजिअको टोली आँगनमा नपुग्दै उनी बाहिर निस्किन् । अगाडि बढेर उनले प्रजिअको आँखामा पानी छ्यापिदिइन् । प्रजिअ भुईंमा पछारिए । पानीमा खुर्सानीको धुलो मिसाइएको थियो । प्रजिअमाथि हमला भएपछि गार्डहरुले कमलकुमारीलाई समातेर पेस्तोल ‘कक’ गरे । गोली हान्न तयार भए । तर, प्रजिअले नै रोके ।

‘केहीबेर हात हालाहाल भइसकेपछि समाता–समात गर्ने क्रममा गार्डहरुको कपडासमेत च्यातियो,’ कमलकुमारीले विगत सम्झिइन् । उनले आफ्नो बाचा त पूरा गरिन् । तर, कानूनी फन्दामा परिन् । सार्वजानिक अपराध मुद्दा लगाएर सदरमुकाम दुनै लगियो ।

प्रहरीको हिरासतमा राखियो । १५ दिनपछि उनी पाँच हजार धरौटीमा छुटिन् । १५ दिनपछि उनीसँग भेट हुँदा प्रजिअ कोइरालाले भने, ‘तपाईंलाई म गोली ठोकिदिन्थें, केवल विद्रोही भनेर मुचुल्का गरे भइहाल्थ्यो । तर, तपाईंको मिहिनेत देख्दा जिउँदो राखेको हुँ, अबदेखि यस्तो नगर्नुहोला ।’

कमलकुमारीले तीन वर्ष मुद्दासमेत लडिन् । प्रजिअको आँखामा खुर्सानी हालेकै कारण उनी जिल्लाभर अहिले ‘खुर्सानी मैया’को रुपमा परिचित छिन् ।

कृषि र राजनीतिमा मन

अहिले उनी डोल्पाकी सफल कृषक हुन् । कृषिबाटै थुप्रै प्रमाणपत्रसमेत पाइसकेकी छन् । राष्ट्रपति कृषि पुरस्कारसमेत पाइसकेकी छन् । उनी राजनीतिकर्मी पनि हुन् । गत ३१ वैशाखको स्थानीय चुनावमा नयाँशक्ति नेपालबाट मेयरमा चुनाव लडेकी थिइन् । तर, सफल भइनन् । अहिले उनी देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, विकृति, विसंगतीविरुद्ध आवाज उठाउँदै आएको संस्था मिसन नेपाल डोल्पामा आवद्ध छिन् ।

६० वर्ष टेक्नै लागेकी कमलकुमारीमा अहिले पनि अन्यायविरुद्ध लड्ने साहस कायमै छ । ‘म अहिले ५९ वर्षकी भएँ, समाज सेवा, दुःखी, बेसहारालाई सहयोग गर्ने, अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाउने अठोट छ,’ उनले भनिन्, ‘भोलिका दिनमा पनि अत्याचारी, भ्रष्टाचारीहरुको आँखामा खुर्सानी छर्नु मेरा लागि नयाँ कुरा हुने छैन ।’

प्रस्तुति: रामचन्द्र न्यौपाने, डोल्पा, अनलाइन खबरबाट साभार



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)