Monday, 17th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

सिस्नेरी घटनाका पीडितद्वारा एन्फा एकेडेमी इन्द्रसरोवरमा तोडफोड

Anfa-Sisneri-1536x777-1730010363.jpg

मकवानुपर सिस्नेरी घटनाका पीडित परिवारका सदस्यले एन्फा एकेडेमीको होस्टेल र विद्यालयको झ्यालको सिसा तोडफोड गरेका छन् । १० कार्तिक दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ को एन्फा एकेडेमी रहेको वत्सला मावि परिसरमा पुगेका उनीहरूले होस्टेल र विद्यालयमा ढुंगा हानेका हुन् । ढुंगा प्रहारबाट होस्टेल र विद्यालयका केही झ्यालका सिसाहरू फुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिएका छन् ।

उनले सिस्नेरी घटनालाई राजनीतीकरण गर्न खोज्दा घटना भएको आरोप लगाएका छन् । पीडित परिवारका सदस्यलाई थप पीडा दिने उद्देश्यले उक्त घटना गराइएको उनको दाबी छ । ‘सिस्नेरी घटनालाई लिएर केही मानिसले राजनीति गर्ने प्रयास गरेका छन् । उनीहरूले नै पीडितका परिवारलाई प्रयोग गरेर पीडामाथि थप पीडा दिएका छन्,ֹ’ उनले भने, ‘पीडित परिवारसँगै गएर प्रधानमन्त्री र दलका नेताहरूसँग भेटेर घटनाको सत्यतथ्य छानबिनका लागि समिति बनाउन मैले पनि आग्रह गरेको छु ।’ घटनास्थलमा रहेका जिल्ला समन्वय समितिका अध्यक्ष एवं मृतक विद्यार्थी खेलाडी अनुपम घलानका बुबा ललित घलानले सम्झाएर रोकेपछि थप तोडफोड हुन नपाएको आफूले बुझेको उनले बताए ।

गत १२ असोजमा पहिरोमा परी एकेडेमीका ६ जना विद्यार्थी खेलाडीको ज्यान गएको थियो । उनीहरूको स्मरणमा पूजा लगाउने उद्देश्यले एकेडेमी पुगेका केही अभिभावकले विद्यालय र होस्टेलमा ढुंगा हानेको जिल्ला समन्वय समितिका अध्यक्षसमेत रहेका मृतक खेलाडी अनुपमका बुबा ललितले जानकारी दिए । उनले छोराहरू बसेर अध्ययन र प्रशिक्षण गरेको स्थानमा पुग्दा उत्पन्न आवेगका कारण घटना भएको बताए । ‘हामी शनिबार एकेडेमीमा पूजा लगाउने उद्देश्यले पुगेका थियौँ । उक्त स्थानमा पुग्दा आमाहरूले मन थाम्न नसक्दा आवेगमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट केही झ्यालका सिसा फुटेका छन्,’ उनले भने, ‘घटना नहुनु भइसक्यो भनेर सम्झाइ बुझाइ गरेपछि उहाँहरू थामिनुभयो ।’

गत असोज १२ गते बिहान कुलेखानी ड्यामको सतह भरिएर ढोका खोलिएपछि एकेडेमीको होस्टेलमा रहेका ३६ जना विद्यार्थी र होस्टेल वार्डेन गाउँतर्फ जाने क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परी ६ जना विद्यार्थी पुरिएका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०