nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राजनीतिक अस्थीरताले विकासका मुद्दा ओझेलमा 

राजनीतिक अस्थीरताका कारण विकासका मुद्दाहरु ओझेलमा परेको संचारकर्मीहरुले बताएकाछन् । उनीहरुले विकासमार्फत राष्ट्रिय समृद्धि प्राप्त गर्न विकास पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने मत राखेका हुन् । विकास पत्रकार मञ्च (फोडेज) को पहिलो साधारण सभामा सोमबार राजधानीमा विकास पत्रकारिता गर्नेहरुले यस्तो बताएका हुन् । 

साधारणसभामा मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले अस्थीर राजनीतिका कारण विकासका मुद्दाहरु ओझेलमा परेको बताए । उनले विकसित मुलुकका सञ्चारमाध्यमहरुले विकासलाई प्राथमिकता दिएको जानकारी दिँदै भने, ‘विकास पत्रकारितामा खोज पत्रकारिता नमिसाएसम्म सञ्चारमाध्यममा स्थान दिन पनि मिल्दैन । गहन ढंगबाट विकास पत्रकारिता गरिए समाज र राष्ट्रको विकासमा सघाउ पुग्नेछ ।’ मञ्चका सचिव चन्द्रमणि भट्टराईले विकास पत्रकारिताभित्र थुप्रै क्षेत्र समेटिने भएकाले मञ्चमा स्वास्थ्य, शिक्षा, संस्कृति, मानवअधिकार, वातावरण, अर्थतन्त्र आदिमा कार्यरत पत्रकार पनि आवद्ध हुन सक्ने र सामूहिक आवाज शक्तिमा रुपान्तरित हुने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरीले विकास शब्दले व्यापक क्षेत्र ओगट्ने भएकाले विकास पत्रकारिताको सही प्रयोग गर्न सके समग्रमा देश र देशबासीलाई धेरै फाइदा पुग्नेमा जोड दिए । ग्रीन मिडियाका उपाध्यक्ष शंकर खनालले विकास सबैको चासोको विषय भएकाले यससम्बन्धी जतिसक्दो धेरै सूचना तत्काल सम्प्रेषण हुनुपर्ने र यसका लागि पत्रकार एकजुट हुनुपर्ने बताए । कार्यक्रममा मञ्चका सदस्यहरु सोम शर्मा बजगाई, जीवन बस्नेत, मेनुका कार्की, सबिन ढकाल लगायतले विकास पत्रकारिताबारे बोलेका थिए ।

साधारण सभामा अध्यक्ष ढुङ्गानाले आगामी कार्यदिशा, सचिव भट्टराईले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टेकराज थामीले  आयव्यय विवरण प्रस्तुत गरेका थिए । सभाले ४४ जना साधारण सदस्यको सदस्यतासमेत स्वीकृत गरेको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)