nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको थाहानगरमा कृषि विज्ञान केन्द्र स्थापना भयो अब फाइदा के हुन्छ ?

मकवानपुरको थाहा नगरपालिकामा नेपालकै पहिलो कृषि विज्ञान केन्द्रको स्थापना गरिएको छ । थाहा नगरपालिका वडा नम्बर १ झम्केश्वरीमा कृषि वन विज्ञान विश्व विद्यालयका रजिष्टार प्राध्यापक डाक्टर मनराज कोलक्ष्यपतिले केन्द्रको उद्घाटन गरेका हुन् । 

केन्द्रको २७ जेठमा उद्घाटन गर्दै डाक्टर कोलक्ष्यपतिले विज्ञान केन्द्रलाई आंगिक क्याम्पसको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा मकवानपुर २ क्षेत्रमा सांसद सुभाषचन्द्र ठकुरीले थाहानगरमा केन्द्रको स्थापना हुनु यहाँको किसानहरुका लागि ठूलो सहयोग सावित भएको बताए । कृषि विज्ञान केन्द्रमा किसानहरुको समस्याको अनुसन्धान, कृषि बालीमा लाग्ने रोग, किरालगायतको अनुसन्धान गरी प्राप्त उपलब्धीलाई प्रयोगमा समेत ल्याउने गरी कार्य हुने कृषि संकायका कृषि प्रसार तथा ग्रामिण समाजशास्त्र विभिाग प्रमुख प्राध्यापक रामहरि तिमल्सिनाले बताए । यस किसिमको अभ्यास अमेरिकालगायतका विकशित देशमा भएको भएपनि नेपालमा पहिलो पटक विज्ञान केन्द्र नै स्थापना गरेर नयाँ कामको थालनी गरिएको तिमल्सिनाले बताए । 

कार्यक्रममा वन विज्ञान संकायका डीन बलराम भट्ट, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डीन प्राध्यापक शारदा थपलिया, कृषि संकायका डीन जयप्रकाश दत्त, परीक्षा नियन्त्रक नारायणराज जोशी, योजना निर्देशक डाक्टर अर्जुनकुमार श्रेष्ठ लगायत कृषि वैज्ञानिकहरुको उपस्थिती रहेको थियो । विज्ञान केन्द्रमा २७ जेठबाटै कर्मचारी       राखेर सेवा सुचारु ग्रिएको छ । कार्यक्रम कृषि र वन विश्व विद्यालय अन्तर्गतको अनुसन्धान तथा कृषि प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक डाक्टर नवराज देवकोटाको सभाध्यक्षतामा भएको थियो ।

केन्द्र स्थापनामा झम्केश्वरी विद्यालयको साथ

कृषि विज्ञान केन्द्र स्थापनाको लागि मकवानपुरको उत्तरी क्षेत्रका थुप्रै क्षेत्रमा संभाव्यता गरिए पश्चात् झम्केश्वरी मावि परिसरमा स्थापना गर्ने निर्णय भएको    हो । कृषि वन विज्ञान विश्व विद्यालयले मकवानपुरको दामन, बज्रवाराही, चित्लाङको विभिन्न ठाउँ छनौंटको विकल्प राखेकोमा सबै किसिमले झम्केश्वरी विद्यालयको जग्गा उपयूक्त भएकोले यहि स्थापना गरिएको विश्व विद्यालयले जनाएको छ । 

कृषि विज्ञान केन्द्र स्थापनाको गर्न झम्केश्वरी माविले १४ रोपनी जग्गा भोगचलनको लागि उपलब्ध गराएको प्रधानध्यापक उद्धव प्रसाद आचार्यले    बताए । विद्यालयले निर्णय गरी केन्द्र स्थापनाको लागि जग्गा दिइएको आचार्यले जानकारी दिए । विद्यालयको नाममा ९२ रोपनी ७ आना जग्गा रहेको छ । जग्गा उपलब्ध गराए वापत विज्ञान केन्द्रले वार्षिक ६० हजार रुपियाँ विद्यालयलाई दिने भएको छ । झम्केश्वरीको हाताभित्र रहेको साविक कृषि प्रविधि तालीम केन्द्रको दुईतले भवन पनि विज्ञान केन्द्रले नै भोगचलन गर्नेछ । भवनको समान्य मर्मत गरेर विज्ञान केन्द्रले सोही भवनमा कार्यालय   राखेको छ । 

झम्केश्वरीको कृषि विज्ञान केन्द्रलाई आंगिक क्याम्पसको रुपमा समेत विकास गर्ने लक्ष्य रहेकोले त्यसतर्फ सकारात्मक हुँदै आवश्यक परे अरु जग्गा समेत उपलब्ध गराउने सोचमा विद्यालय रहेको छ । 

थाहाका किसानसंगको सम्बन्ध पुरानो

कृषि वन विज्ञान विश्वविद्यालयले कृषि विज्ञान केन्द्र स्थापना हुनु पहिलेदेखि नै थाहानगरका प्ररम्भिक अनुसन्धान थालेको थियो । यहाँका किसानले प्रयोग गर्ने विषादी, रसायनिक मलको प्रयोग, त्यसको असरलगायतको विषयमा विश्व विद्यालय अनुसन्धानमा थियो । 

किसानहरुको खेत बारी र घरघरमै पुगेर कृषि संकायका कृषि प्रसार तथा ग्रामिण समाजशास्त्र विभाग प्रमुख प्राध्यापक रामहरि तिमल्सिनाले अनुसन्धान गरिरहेका थिए । किसानहरुको खेतीपातीका लागि गरिरहेका प्रयोग तथा आनीबानीमा वातावरणमैत्री बनाउनको लागि उनले पहल समेत थालेका थिए । तिमल्सिनाको पहलमा दामनका किसानहरुलाई वातावरणमैत्री खेती प्रणालीमा आधारित विभिन्न   सहजीकरण, जैविक विषदी बनाउने

 तरिका सिकाएका थिए भने बोझोको पाउडर बनाउन मेशिन समेत सहयोग गरेका     थिए । थाहाको किटेनीमा यस किसिमको सहयोग भएको थियो ।

विज्ञान केन्द्र उद्घाटनको अवसरमा किसटेनी स्थित कृषक समूहलाई वातावरणमैत्री कृषिका लागि नाडेफको सहयोगमा एउटा डिजिटल तराजु पनि वितरण गरिएको छ । किटेनीको कालीदेवी कृषक समूहलाई वातावरणमैत्री कृषि प्रविधिको लागि जैविक विषादी एवं मल परियोजनाका प्राध्यापक डाक्टर नवराज देवकोटाले तराजु हस्तान्तरण गरेका हुन् । 

अब किसानलाई के फाइदा हुन्छ ?

किसानहरुले खेतबारीमा लगाएको बालीमा लाग्ने रोग किराको अनुसन्धान विज्ञान केन्द्रले गर्नेछ । खेतीपातीमा नयाँ रोग देखियो वा बालीमा असर परेको जानकारीका आधारमा विज्ञान केन्द्रका कृषि प्राविधिक आउँनेछन् र, त्यसको फोटो खिच्ने, लक्षण टिपोट गरी माथिल्लो निकायमा रिपोटिङ गर्ने काम केन्द्रले गर्नेछ । 

थाहानगरमा स्थापना भएको कृषि विज्ञान केन्द्रबाट जति किसानले अपेक्षा गरेकाछन् त्यस अनुसार भने फाइदा लिन सकिने अवस्था छैन । विज्ञान केन्द्र स्थापना भएपछि रोग पत्ता लगाउने तथा उपचारसम्मको अपेक्षा किसानहरुको रहेको थियो । अनुसन्धान केन्द्रको रुपमा स्थापना भएकोले त्यस्ता कार्य विज्ञान केन्द्रबाट हुने छैन बरु, किसानहरुलाई सहजीकरण गर्दै सिकाइ केन्द्रको रुपमा भने अघि बढ्न सकिनेछ । झम्केश्वरीको विज्ञान केन्द्र कृषि र वन विश्व विद्यालयको विभिन्न विधा मध्ये कृषि अनुसन्धान तथा प्रसारको सानो युनिट मात्र हो ।

सुरजकुमार भुजेल, साप्ताहिक विकास खबरपत्रिकाबाट