Thursday, 3rd September, 2026
वि.स.

भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो

मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर २९ गते विवाह हुने तय भएकोमा सरोकारवालाहरुको टोलीले २५ मंसिर रोक लगाएको छ । विगत ५ महिना अघि भाञ्जी दिदीको घर जाने क्रममा परिचय भई फोन सम्पर्क मार्फत कुराकानी भै प्रेम सम्बन्धमा रहेका उक्त जोडिले परिवारसँग छलफल गरी विवाहको टुंगो लगाएका थिए । 

स्थानीय एक सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत बालिकाको कलिलो उमेरमा विवाह हुन लागेको चित्त नबुझेका कारण स्थानीयले सिविन बाल हेल्पलाइन नेपालको पैसा नलाग्ने फोन १०९८ मा फोनमार्फत् विवाह रोकिदिन भनी सहयोगका लागि अनुरोध गरेका थिए । उनका सूचनाका आधारमा बाल हेल्पलाइनले जिल्ला बालकल्याण समिति, महिला तथा बालबािलका कार्यालय हेटौँडा र भिमफेदी गाउँपालिकासँगको सहकार्यमा तत्काल बालिकाको परिवार खोजी गरी स्थलगत भ्रमण गरी वस्तुस्थितिका आधारमा बालिकालाई उद्धार गरी बाल हेल्पलाइनको आपत्कालीन संरक्षण गृहमा ल्याई बालिका, उनको अभिभावक र केटा पक्षलाई कानुनी पक्षको बारेमा सचेत गराउनुका साथै मनोविमर्श सेवा समेत उपलब्ध गराइएको बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए । बालिकाको उद्धारको लागि भिमफेदी गाउँपालिकाका महिला तथा बालबालिका फाँटकी महिला विकास निरीक्षक दुर्गा घिमिरे, उक्त गाउँपालिका अन्तर्गत सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरु एवम् बाल हेल्पलाइन मकवानपुरका मनोसामाजिक विमर्शकर्ता सम्झना अधिकारी लगायतको सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गरिएको हो ।

यस क्रममा केटा पक्षबाट विवाह गर्ने तयारीमा रहेका उक्त युवकले आपूmले पे्रमिकालाई विवाह गरी घरमा आप्mनी वृद्ध आमाको स्याहार गर्ने व्यक्ति कोही नभएकाले विवाह गर्न लागेको कारण बताउँदै विवाहपश्चात् उनलाई घरमा छाडेर आपूm पुनः वैदेशिक रोजगारीमा जान लागेको बताए । उनले बालविवाहको कानूनको बारेमा नबुझेका कारण बिहे गर्न लागेको बताउँदै अब कानून विपरीत नगई बालिका २० वर्ष पूरा भएपछि मात्रै अभिभावकको सहमतिमा आपूmले विवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै बालिका र उनका अभिभावकले पनि २० वर्षपछि बालिकालाई आत्मनिर्भर गराइ मात्र विवाह गरिदिने कुरामा प्रतिबद्ध भएको जिल्ला बालकल्याण समितिका सूचना व्यवस्थापन अधिकृत रवि हमालले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका अध्यक्ष चक्रबहादुर बुढाले बालिकालाई नियमित विद्यालय पठाइ कम्तिमा २० वर्ष पुरा भएपछि मात्रै विवाह गराउन अभिभावकलाई जोड दिएका थिए । बालबालिकाको विवाह गराइदिने जो कोही पनि बालविवाहको कानूनको भागीदार रहने कुरामा समेत सचेत गराए । 

महिला तथा बालबालिका कार्यालय हेटौँडाका प्रमुख महिला विकास अधिकृत एवम् जिल्ला बाल कल्याण अधिकारी विष्णु कुमारी लामिछानेले केटा पक्षलाई बालिकालाई जबरजस्ती विवाह गर्न खोजे कानूनी सजाय भोग्नुपर्ने चेतावनी दिनुभयो । बालिका हाल नियमित विद्यालय गइरहेको अभिभावकले बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif