nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 24th February, 2024
वि.स.
1000043965-1707579226.jpg

टिस्टुङकाे साेचनीय ६ कुरा
रामजी बलामी

931_Tistung-Deurali-Makwa-1623670389.jpg

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका-६ स्थित टिष्टुङ पालुङ तरकारीका लागि प्रख्यात छ । तरकारीका लागि पकेट क्षेत्र मानिने यो लघु उपत्यका पर्यावरण र पर्यटकीय दृष्टिकोणले पनि उत्तिक्कै स्वच्छ र महत्वपूर्ण मानिन्छ ।

निषेधाज्ञाकाबीच फेरि एकपटक टिष्टुङ जाने अवसर मिल्यो । त्यहाँको लिलाखेल, संगमचोक र इकुन्डोलका करिव १५० घर परिवारलाई स्वास्थ्य सामग्री वितरण गर्ने सिलसिलामा भाइ सुदर्शनसँगै म पनि शुक्रवार बिहान त्यसतर्फ लागेको थिएँ ।

न टन्टलापुर घाम, न त मुसलधारे वर्षा, न अरुबेला जस्तो सवारीसाधनको जाम । नागढुँगाको ओरालो, सातघुम्तीको उकालोदेखि देउरालीको ओरालो झर्दासम्म पनि उस्तै मौसम । जता हेर्‍यो त्यतै हरियाली जसले आँखा र मन मस्तिष्कलाई निकै आनन्द र शान्त दिलाउँदो रहेछ । बाइरोडको बाटोबाट देखिने गाउँबस्तीहरु र जताततै खनिएका नागबेली सडकहरु नै रमाइलो यात्राका खुराकहरु बने ।

सडकमा गाई, भैँसी, बाख्रा र फाटफुट्ट गुडेका सवारीसाधन मात्र । सडकमै बसेर आरु बेच्ने स्थानीय बालबालिका सँगको गफगाफ त झनै मीठो । ‘एउटा मान्छेको मायाले पनि कति फरक पार्छ जिन्दगीमा’ भने जस्तै देउराली डाँडामा बहने हावाले मात्रै पनि कति धेरै फरक पार्दो रहेछ यात्रामा । काठमाडौंबाट टिष्टुङ जाँदा त्यसठाउँमा पुगेपछि ताजगी अनुभव हुँदो रहेछ यो मौसममा ।

गन्तब्य टिष्टुङ जुन ठाउँलाई अहिले बज्रवाराही पनि भनिन्छ । जहाँ अहिले आलु खन्ने, बन्दा लगायतका तरकारी बेच्ने र धान रोप्ने चटारो चलिरहेको छ । अहिले त्यहाँका स्थानीय घरमा भन्दा बढी खेतवारीमा भेटिन्छन् । स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गर्ने हाम्रो कार्यक्रम थियो ।

छोटो समयावधि र शुक्रवारदेखि शुरु भएको मनसुनका कारण धेरै ठाउँमा घुमेर र स्थानीयसँग कुराकानी गर्ने समय खासै मिलेन । तरपनि भेटे जत्तिकैका स्थानीयसँगको कुराकानी र देखिएका दृश्यले आम समुदायको पीडालाई महसुस गर्न सकिन्थ्यो ।

विकास निर्माणको चिन्ता तर युवापुस्ता छैन

यहाँका स्थानीयको सबैभन्दा ठूलो गुनासो छ, ‘जो नेता आएपनि कुन्छाल—कुलेखानी सडक कालोपत्रे भएन’ ।

२०३२ मा बनेको यो बाटो अझै कालोपत्रे हुन सकेको छैन । हरेक निर्वाचनमा मूलमुद्धा बन्ने गरेको यो सडकको विषयमा यहाँका सांसद विरोध खतिवडालाई पनि राम्रैसँग थाहा छ । किनकी खतिवडाको चुनावी एजेण्डाको प्राथमिकतामा पनि यही सडक परेको थियो । केन्द्र र प्रदेश सरकारले पटकपटक बजेट विनियोजना गरेपनि सडक नबनेपछि स्थानीयको आक्रोश चुलिएको छ। भन्छन्,“भएको सडक पिच भएको छैन, फेरि सडक विस्तार गर्ने भनेर दायाँबायाँ १५ मिटर छोड्न लगाइएको छ ।”

यही सडकमा पर्ने गाउँ लिलाखेलबासी अहिले बोरिङको पानीमा निर्भर छ । गाइवस्तुलाई खुवाउन र तरकारीको विरुवामा हाल्न समेत बोरिङको पानी किन्नु परेको छ । किनकी यहाँको पानीको मुख्य स्रोत अहिले सुकेको छ । यहाँका स्थानीयले पुस्तौदेखि प्रयोग गर्दै आएको पानीको मुहान सुकेपछि अहिले हिउँदयाममा त पानीको हाहाकार नै हुने गरेको रहेछ ।

केही महिनाअघि बिजुली काटिएर बोरिङको पानी नआएपछि झण्डै दुई किलोमिटर टाढा पुगेर खानेपानी ल्याउनु परेको स्थानीयको गुनासो छ । अहिले सुकेको पानीको मुहानको आसपास नै अन्यत्र पानी रसाएको देखिन्छ । त्यसकारण पानीको मुहान सरेको स्थानीयको अनुमान छ ।

त्यहाँका वडाध्यक्ष शशिधर सुवेदीको आँकलन पनि त्यहिँ नै छ । मुहान खोजेर पानीको ब्यवस्थापन गर्नुपर्ने सुवेदीको भनाइ छ । मुहान त्यतिकै छाड्दा पानीको समस्या मात्रै होइन धाराले ओगटेको जमिन मिचिनेमा स्थानीयको चिन्ता छ । यसै विषयमा केही महिनाअघि स्थानीय र जग्गाधनीबीच झगडा पनि भएको रहेछ ।

गाउँटोलदेखि गोठबारीसम्म सडक सञ्जाल जोड्ने स्थानीयको चाहना छ। आधा घण्टाको छलफलमा एक दर्जन भन्दा बढी योजना उनीहरुले सुनाए । तर विडम्वना कामका लागि नेतृत्व लिने ब्यक्तिको खाँचो छ । “पढे लेखेका युवापुस्ता सबै शहर पसेका छन्, विकास भएन भनेर मात्रै भएन, अघि सर्ने युवा जमात पनि गाउँमा हुनुपर्‍यो” स्थानीय कृष्ण बलामीको गुनासो छ।

गत वर्ष गाउँकै युवाहरुको सक्रियतामा टोलटोलमा बाटो पुर्‍याइएको थियो । “टोलटोलको गोरेटो बाटोलाई कम्तिमा अटो चलाउन मिल्ने बनाउने मन छ, तर के गर्नु कतिपयले कुरा बुझ्दैनन्,” वडाध्यक्ष सुवेदीले आफ्नो रहर र पीडा एकसाथ पोखे ।

बज्रवाराही मन्दिरमा पाटी भरिए, शौचालयको समस्या

टिष्टुङको सबैभन्दा ठूलो धार्मिक आस्थाको केन्द्र बज्रवाराही माइलाई अन्यत्र भएका बज्रवाराहीको आमा भन्ने जनश्रुती छ । मन्दिरमा पर्याप्त जग्गाजमिन छन् । तर ती जग्गाहरुमध्ये अहिले धेरैजसो जग्गा ब्यक्तिले आफ्नो नाममा गरिसकेका छन् । मन्दिर परिसरलाई अहिले स्थानीयले चिटिक्क बनाएका छन् । कलात्मक धारा, पुल र थरिथरिका पाटीपौवाले भक्तजनलाई मात्रै सहज बनाएको छैन पर्यटकीय गन्तब्य स्थल समेत बन्न पुगेको छ ।

बज्रवाराहीको मूलगेटदेखि मन्दिरसम्म लस्करै विभिन्न ब्यक्ति तथा संस्थाले दर्जनौ पाटीपौवा बनाएका छन् । नजिकै वस्ती नभएकाले मेलापर्वहरुमा थकाइ मार्न र घामपानीबाट जोगिनका लागि यस्ता पाटीपौवाहरु बनाइएका हुन् । यहाँ वर्षेनी जस्तो नयाँ पाटी बन्ने क्रम जारी छ तर पुराना पाटीहरुको पुनर्निमाण भएको देखिदैन ।

अझ विडम्वनाको कुरा त के छ भने यहाँ शौचालयको अभाव छ । भएको शौचालयको अवस्था त झनै बिजोक छ । हरेक शनिवार र चाडपर्वहरुमा मन्दिरमा पूजा गर्न जानेहरुको भीड लाग्ने गर्छ । अझ हरेक तीन वर्षमा लाग्ने मेलामा त थेगिनसक्नुको भीड लाग्ने गर्छ ।

छोराबुहारी एकातिर, बुबाआमा अर्कोतिर

नेपाली समाजमा बुबाआमा र छोराबुहारीबीच देखिएको टकरावबाट टिष्टुङ पनि अछुतो छैन । आफ्ना छोराबुहारीले नहेरेपछि एक बुद्ध दम्पत्तीले आफ्नो भागमा रहेको सबै जग्गा जमिन बेचेर देवघाट जान लागेका रहेछन् । सबै बेच्दा झण्डै डेढ करोड रुपैंया हात लाग्ने रहेछ ।

छोराबुहारी भने उक्त जग्गाजमिन बेच्न नदिने मनसायमा रहेछन् । धेरै जना छोराबुहारी हुँदा बुबाआमालाई कसले हेर्ने भन्ने विषयमा मनमुटाव हुने गर्छ जुन समस्या ती बृद्ध दम्पत्तीले पनि भोगिरहेका छन् ।

कोरोना महामारीले गर्दा वडा कार्यालयले जनप्रतिनिधि मार्फत् बृद्धभत्ता घरघरमै पुर्‍याई दिने ब्यवस्था गरेको रहेछ । घरघरमै सुविधा दिँदापनि उल्टै जनप्रतिनिधिमाथि शंका गर्न थालेकोमा वडाध्यक्ष सुवेदीको दुखेसो छ । भन्छन्, “झन् समस्या होला भनेर घरमै भत्ता वितरण गर्‍यौं, हजुरआमाले त खुशी भएर आशिर्वाद दिनुभयो तर बुहारीले अनेकन आरोप लगाएर गाली गर्नुभयो ।”

जनप्रतिनिधिले पैसा खाएर घरघरमै भत्ता बाँडेको आरोप बुहारीले लगाएकी रहिछन् ।

जनचेतनाको खाँचो

मान्छेलाई चेतनशील प्राणी त्यसकारण भनिन्छ किनकी उसमा चेतना हुन्छ । तर, चेतनाको अभावमा नकारात्मक सोच, संकुचित सोच, अटेरीपन, हेपाहा प्रवृति जस्तो ब्यवहारहरु प्रदर्शित हुन्छ।

पछिल्लो समय यहाँ पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु थुप्रै देखिए । तर परिक्षण गर्न अधिकांश मानेनन् । किनकी कोरोना पोजेटिभ देखियो भने आइसोलेशन सेन्टरमा लैजाने डर ।

जबकी यहाँ २० शैय्याको सुविधासम्पन्न बज्रवाराही आइसोलेशन सेन्टर बनाइएको छ । “परिक्षण गर्न मान्दै मान्दैनन, त्यसपछि हामीले घरमै बसेर औषधि खाँदा हुन्छ भनेपछि केहीले परिक्षण गर्न माने, कतिले मानेनन्,” वडाध्यक्ष सुवेदीले गाउँको चेतनास्तर यसरी प्रकाश पारे।

परिक्षण गर्न नमान्नेहरु मात्रै होइन कतिपय त परिवारमा कोरोना पोजेटिभ देखिँदादेखिँदै पनि मास्क नलगाइ बजार डुल्ने गरेको बताउँछन् संगमचोकका सौगात बलामी । “कि एकान्तमा जानू, कि घरमै बस्नू तर यहाँ त झन् भीडभाडमा गएर अरुलाई सारुँला झै गर्छन्” उनको गुनासो छ ।

यतिमात्रै होइन कोरोना संक्रमितलाई भेदभाव गर्नेदेखि कोरोना सारेको भनेर गाली गर्नेसम्मका ब्यवहारहरु हुने गरेको पाइयो ।

हामीले निःशुल्क मास्क दिएर प्रयोग गर्न आग्रह गर्दापनि “गाउँमा मास्क किन चाहियो र ?” भन्ने प्रश्न सुन्नु पर्‍यो । त्यसो भन्नेहरुका लागि हाम्रो जवाफ हुन्थ्यो, “एक्लै खेतवारी हिँड्दा नलगाए पनि भीडभाड, मेलापात र बजारमा जाँदा लगाउनुहोस् ।”

काठमाडौंमा भन्दा महङ्गो जग्गा, दलालीको विगविगी उस्तै

काठमाडौंबाहिर भएकाले टिष्टुङ, पालुङ, चित्लाङतिर जग्गा सस्तो होला कि भन्ने लाग्नु स्वभाविक हो । तर काँठ क्षेत्रमा भन्दा टिष्टुङको सरस्वती बजार आसपासको जग्गाको भाउ दुईगुणा बढी छ ।

यस क्षेत्रको सरस्वती बजार आसपासका जग्गा प्रतिआना २० देखि २५ लाख रुपैंयाको हाराहारीमा बेचविखन भईरहेको छ । यसबाहेक भित्रि सडकहरुमा पनि प्रतिआना ४ देखि ५ लाख रुपैंया आनामा जग्गा विक्रि भइरहेको छ ।

अझ विडम्बना त के भने यहाँ जग्गा बेच्नेहरु भन्दा किन्नेहरु धेरै छन् । यसले गर्दा वर्षेनी अप्रत्याशितरुपमा जग्गाको मूल्यवृद्धि भईरहेको छ । जग्गाको मूल्य दुई वर्षमा दोब्बरले बढेको स्थानीय बताउँछन् ।

विशेषत काठमाडौं र हेटौंडाबाट दलालको पछि लागेर जग्गा खोज्दै गाउँवस्ती पस्नेहरुको संख्या बाक्लो छ । यसले गर्दा यहाँको भीरपाखादेखि खेतीयोग्य जमिनसमेत बिक्रि भईरहेको छ।

विद्यालय भवन बन्यो, विद्यार्थी घट्यो

यहाँको सबैभन्दा पुरानो विद्यालय श्री गणेश प्राविको अहिले चिटिक्क परेको सुविधासम्पन्न विद्यालय बनेको छ । २०७२ को भूकम्पले पुरानो भवन भत्किएपछि अहिले नयाँ भवन बनाइएको छ । शान्त ठाउँमा बनाइएको यो भवनमा पर्याप्त कक्षाकोठाहरु छन् । तर विडम्वना विद्यार्थी भने पर्याप्त छैनन् ।

“विद्यालय त राम्रो बन्यो तर विद्यार्थी नै आउँदैनन्” विद्यालयका पूर्व शिक्षक सौगात बलामी भन्छन् । स्थानीय अभिभावकले आफ्नो विद्यार्थीलाई धमाधम बोर्डिङ स्कुलमा भर्ना गरेपछि सरकारी विद्यालयको यो हालत भएको हो ।

गत वर्ष ३५ जना विद्यार्थी रहेकामा यो वर्ष त्यति पनि नहुने हो कि भन्ने विद्यालयको आंकलन छ । प्राथमिक तहमा अध्ययन गर्ने मात्रै होइन आधारभूत कक्षामा उपस्थित हुने बालबालिका समेत सिमित छन्।

नयाँ भवनका कक्षाकोठाहरु पूर्णरुपमा सदुपयोग नभएको त एकातिर छँदैछ अर्कोतिर सोही विद्यालयको दुई वटा पुराना भवन प्रयोगविहिन भएको छ ।

यसका साथै भरपर्दो स्वास्थ्य संस्था नहुनु, स्थानीय मेडिकलले उपचार भन्दा ‘बिजनेश’ मा ध्यान दिनु, नजिकै प्रहरी चौकी नहुनु जस्ता गुनासा पनि स्थानीयको छ।  टिष्टुङका यी समस्या सम्बोधनका लागि स्थानीय सरोकारवाला ब्यक्ति र संघसस्थाहरु अग्रसर होलान् भन्ने अपेक्षा छ । लाेकपथबाट