Friday, 26th June, 2026
वि.स.

जिर्ण बन्यो, थाहाको ऐतिहासिक महत्व बोकेको चार नारायण

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको उत्तरी मकवानपुरको थाहा नगरपालिकामा धार्मिक महत्वका स्थलहरुको जगेर्नामा खास प्राथमिकता दिइएको पाइँदैन । ऎतिहाँसिक महत्व बोकेका धार्मिक सम्पदाहरुको जीर्ण अवस्था देख्दा पछिल्ला पुस्ताले ति सम्पदाहरु कहानीमा मात्र सुन्न पाउने होकि भन्ने आशङ्का गर्न सकिन्छ । धार्मिक विषयलाई लिएर बहस र छलफल गर्ने समय जनमानसमा कम भेटिन्छ । भनिन्छ नि, ूनजिकको तिर्थ हेलाू । वास्तवमा यस्तै भएको छ थाहा नगरपालिका वडा नं २ मा रहेको चार नारायण मन्दिरहरुको अवस्था पनि ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको शेषनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौ उपत्यकामा चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिर पर्दछ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । जहाँ पुजा गर्नका लागी देशभरका मानिसहरु पुग्ने गर्दछन । 

काठमाडौ पछिको चार नारायण यहि उत्तरी क्षेत्रकै थाहा नगरपालिका वडा नं २ को पालुङमा पर्दछ । पालुङमा रहेको चार नारायणमा चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिर नै पर्दछ । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्व मानिने उक्त मन्दिरहरु अचेल संरक्षण र प्रचारको अत्यावश्यकतामा गुज्रिरहेका छन् । हरिबोधिनी एकादशीको दिनमा उक्त मन्दिरमा थाहा नगरपालिकाका बिभिन्न स्थानहरुबाट मानिसहरु पुजा आजा गर्न आउने भएता पनि पछिल्लो समय पुजा गर्न आउनेको संख्या घटेको  पालुङका स्थानिय मधुकर बिक्रम श्रेष्ठले बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको शंखुनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

पालुङ गाउँको पुर्वदिशातर्फ चागुनारायण, पश्चिमतर्फ शङ्खुनारायण, उत्तरतर्फ बिशङ्खु नारायण र  दक्षिणतर्फ शेषनारायणको मन्दिर रहेको छ । दक्षिणतर्फ रहेको शेषनारायण मन्दिरको अवस्था भने अन्यको तुलनामा निक्कै नै जिर्ण भैसकेको छ । पुर्व तर्फ रहेको चागुनारायण मन्दिर भने जिर्ण भएका कारण भुकम्प अघि नै स्थानियको पहलमा निर्माण गरिएको स्थानिय शिव बहादुर कार्कीले बताए । उनका अनुसार आफ्नै गाउँमा भएको नारायण मन्दिरहरुको नाम, महत्व र बिशेषताको बारेमा स्थानियहरुलाई नै खास जानकारी नभएको बताए ।

परापूर्व कालमा पालुङ गाउँको सुरक्षाको लागि पालुङको चारै दिशामा चार नारायण स्थापना गरिएको भए पनि हाल संरक्षण गर्ने निश्चित समिति र निकाय नभएको कारण मन्दिर जिर्ण अवस्थामा पुगेको पालुङका एक बुद्धिजीवी शम्भु राज नापितले बताए । उनका अनुसार चारैवटा मन्दिरको स्थापना छुट्टाछुट्टै समयमा भएकोले पनि कुनै जिर्ण त कुनै सामान्य अवस्थामा रहेको बताए । मन्दिरको अवस्था जिर्ण हुँदै गर्दा पनि समुदायमा उक्त मन्दिर संरक्षणको लागी कुनै समिती र सम्बन्धित निकाय नभए पछि संरक्षणको लागी घच्घच्याउन नसकिएको उनले बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको विशंखुनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

खास त चारैवटा नारायणको मन्दिर छुट्टाछुट्टै ब्यक्तिले आफ्नो ब्यक्तिगत रुपमा निर्माण गरेको वडा नं २ का वडाध्यक्ष गुप्त बहादुर कार्कीले बताए । ब्यक्तिगत रुपमा बनाइएको हुनाले पनि जिर्ण भएको अवस्थामा उसैले बनाउने र संरक्षण गर्ने गरेकाले समाजिक रुपमा संरक्षणको लागी खास पहल नभएको उनले बताए । ब्यक्तिगत सम्पत्ति झै मानिने भएकाले पनि समुदायले चासो नदिएको भए पनि अवका दिनमा निर्माण पक्षकै सहभागीतामा समिति बनाएर नै संरक्षण र प्रचार प्रसारका लागी पहल गरिने समेत वडाध्यक्ष कार्कीले बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको चाँगुनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

थाहा नगरपालिकामा रहेका थुप्रै धार्मिक स्थलहरु मध्य पनि महत्त्वपूर्ण धार्मिक स्थलहरुको संरक्षण र प्रचारप्रसार गर्न सकेमा धार्मिक पर्यटक भित्र्याइ स्थानियहरुको जीवनस्तर उकास्न र आम्दानिको स्रोत बढाउन सकिन्छ । जसको ज्वलन्त उदाहरणको रुपमा पालुङको चार नारायणको मन्दिर हो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।