Thursday, 2nd July, 2026
वि.स.

गाउँपालिकाद्वारा सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स प्रयोग 

मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई मोबाइल एप्स प्रयोग गरी प्रसुति सेवा दिन सुरु भएको छ ।कैलाश गाउँपालिकाभित्र रहेका ५ वटा स्वास्थ्य चौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । गाउँपालिकाले एप्स निर्माण गरी ५ वटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल बितरण गरेको छ । बितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारेको जानकारी विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसुति सेवा हेर्ने कर्मचारीले अध्यावधिक गर्नेछन् । अध्यावधिक गरिएको बिवरण बमोजिम एप्सले समय अबधिको आधारमा ‘नोटिफिकेसन’ पठाउने र सोही नोटिफिकेसन बमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहार गर्नेगरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए । 

‘स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सुविधलाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ’, अध्यक्ष मुक्तानले भने–‘हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्नेगरी सेवा दिन उद्यत छौँ ।’ एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीहरुको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने मुक्तानले बताए । 

गाउँपालिकाले चालू आर्थिक बर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने संख्या ३० भन्दा बढी भएमा प्रति बालबालिका ५ सय रुपियाँका दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ । ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनेका संख्या बृद्धि गर्नका लागि कर्मचारीलाई सक्रिय पार्न यस्तो निर्णय गरेका हौ’, अध्यक्ष मुक्तानले भने । उनका अनुसार भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी ५ वटा स्वास्थ्य चौकीबीच स्वास्थ्य संस्थामा बच्चा जन्माउने संख्यामा बृद्धि हुनेछ । ५ वटै स्वास्थ्य चौकीमा प्रसुति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र संख्या बृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिको रहेको उनले बताए । 

यसैबीच गाउँपालिकाले ५ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई नगदसहित सम्मान गरेको छ । भार्ता स्वास्थ्यचौकीकी कृष्णमाया थिङ, कटुन्जे स्वास्थ्य चौकीकी शुभद्रा प्रजा, नामटार स्वास्थ्य चौकीकी लक्ष्मी रिजाल, गोगनेस्वास्थ्य चौकीकी गंगा आलेमगर र डाँडाखर्क स्वास्थ्यचौकीकी सुनमाया नेगीलाई सम्मान गरिएको हो । उनीहरुलाई २१ सय रुपियाँका दरले नगदै पुरस्कार प्रदान गरिएको छ । 

यस्तै कैलाश गाउँपालिकामा बुधवार कुपोषणसम्बन्धी अभिमुखीकरण भएको छ । स्वास्थ्यकर्मी भोला चौलागाईले सहजीकरण गरेको अभिमुखीकरणमा महिला स्वयम्सेविकाहरु, स्वास्थ्यचौकीका प्रमुखहरु तथा स्वास्थ्यकर्मीहरु सहभागी थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान र प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले सहभागीहरुलाई कुपोषण समस्याबाट हटाउनका लागि कर्मचारी र स्वयम्सेविकाहरुले खटिएर काम गर्न सबैलाई आग्रह गरे । 
 



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com