nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

उहिलेको देउसिरेः ‘घुर्कि लगाएर भए पनि दुई चार पैसा त थप्न करै लगाउँथ्यौं’

श्री श्री श्री......देउसिरे
आयौ घुमिफिरी......देउसिरे
यो बडा घरमा......देउसिरे
बडै चाला......देउसिरे
बत्ती बाल......देउसिरे
नाङ्लामा हाल......देउसिरे
कालो कोट......देउसिरे
पानदशको नोट...........देउसिरे

यसरी देउसिरे भन्थ्यौं हामी । २००६ सालमा जन्मेको म । आठ–नौ वर्षको हुँदादेखि देउसिरे खेल्न जान थालें । त्यतिखेरको देउसिरेको कुरै बेग्लै । अहिलेको देउसिरे त के देउसिरे, त्यस्तै ठाउँमा देउसिरे भन्ने ठाउँमा ‘रक्सीले ’ भन्न थालेका छन् । विकृति फैलिएको छ अहिले । पहिले देउसिरे सम्झिँदा अहिले पनि आफूलाई केटाकेटी जस्तै लाग्छ । रमाइलो लाग्छ ।

. . . . . . . . . . 

देउसिरे खेल्ने दिन आउन लागेपछि हामीलाई खुब रमाइलो लाग्थ्यो । कहिले आउला त्यो दिन जस्तो लाग्थ्यो । गोरु तिहारको रातीदेखि भाइटीकाको विहानसम्म देउसिरे खेल्थ्यौं । को–को जाने भनेर चाहिँ हामी एक–दुई दिन अघि नै सल्लाह गथ्र्याैं । समूहमा नमिल्ने र अघिल्लो पटक किचकिच गर्नेलाई नलाने सल्लाह हुन्थ्यो । त्यस्तालाई सुटुक्क छलेर वा थाहै नदिई देउसिरे खेल्न जान्थ्यौं । प्रायः हामी नौ–दश जना हुन्थ्यौं । पूर्णध्वज गोतामे, सुवर्णध्वज गोतामे, सुकदेव रायमाझी लगायत हाम्रो एउटा समूह थियो । त्यसो त गाउँमा धेरै देउसिरे खेल्ने समूहहरु भेटिन्थे  । झण्डै बीस–तीस समूहरु भेटिन्थे । औंशीको रात, पुरै अँधेरो । उज्यालोको नाममा छ्वाली,  सल्लाको दियालो हुन्थ्यो । कहिलेकाहिँ लालटिन र कसैकसैसँग टर्च हुन्थ्यो । हावाले हानेर लालटिन छिनछिनमा निभ्थ्यो । अँध्यारोमा कति लड्थ्यौं, कति । त्यै भएर देउसिरे भट्याउँदा पनि भन्ने गथ्र्यौं –

अँधेरी रातमा ......देउसिरे
जुन छैन साथमा......देउसिरे
लड्दै पड्दै......देउसिरे
घुँडा फोड्दै......देउसिरे
आयौ हामी ......देउसिरे
यो बडा घरमा..........देउसिरे

एउटै घरमा दश–पन्ध्र मिनेट खेल्थ्यौं हामी । कुनै घर नबिराई खेल्थ्यौं । कुनै घरमा छुटायो भने हामीलाई गरिब भनेर छुट्याएको भनेर चित्त दुखाउँथे । कहिलेकाहिँ एउटै घरमा दुई–तीन समूह एकैचोटी देउसिरे खेल्न पुग्थे । त्यस्तो बेला एउटा समूहले भट्याउन थालेपछि अर्को समूहचाहिँ अर्को घरतिर लाग्थे । कहिलेकाहिँ मिसिएर पनि खेल्थ्यौं । 

. . . . . . . . . . 

देउसिरेलाई भेटी दिने चलन बडो गजबको थियो । अहिले जस्तै झ्यालैबाट फाल्ने कहाँ हो र । आज देउसिरे खेल्ने दिन, देउसिरेका हुलहरु आउँछन् भनेर घरबेटीहरु पहिले नै कुरेर बस्थे । पल्लो गाउँतिर वा पल्लो घरतिर देउसिरे भनेको सुनेपछि उनीहरु पनि तयारी गर्न थाल्थे । साँच्चै भन्नु पर्दा पाहुनालाई सत्कार गरेजस्तै गर्थे उनीहरु । माला उनिएको हुन्थ्यो, नाङ्लामा धान–चामल(अक्षता), दियोवत्ती, भेटी(पैसा), सेलरोटी, मिठाई आदि हालेर झिलीमिली पारेर आँगनमा ल्याउँथे । घरबेटीहरु भित्र सेल पकाइरहेका हुन्थे, दिदीबहिनीहरु भोलिपल्टको लागि सयपत्री र मखमलीको माला उनिरहेका हुन्थे । हामीले देउसी भट्याउन थालेपछि उनीहरु पनि आँगनमा आउँथे । 

अकल बहादुरसंगको भेटघाटमा विकासखबर टिमकहिले काहिँ हामीलाई दक्षिणामा चाहिँ अलि चित्त बुझ्दैनथ्यो भनौं अलि फकाउन पाए पाँचदश रुपियाँ थप्लान् की भन्ने आस हुन्थ्यो । त्यसो त हामी पहिले नै घरबेटीलाई मक्ख पाथ्र्यौं–

कालो–कालो कोट छ......देउसिरे
यसो हेर्दाखेरी ......देउसिरे
हजारको नोट छ......देउसिरे
सिंगै हाल्ने होकी......देउसिरे
साटी हाल्ने होकी......देउसिरे
सल्लाह गर्छन्......देउसिरे

यदि त्यो घरमा कोही जागिरे छन् भने चाहिँ हामी यसरी फकाउँथ्यौं

लाहुरबाट आको ......देउसिरे
कति दुःख पाको ......देउसिरे
घुमाउने टोकरी......देउसिरे
वर्ष दिनको नोकरी......देउसिरे
धेरै पैसा आयो    ......देउसिरे

यसरी पहिले नै मक्ख पारेपछि घरबेटीले जना हेरी पैसा राख्थे । त्यसमा पनि पाँचदश थप्लान् भनेर फेरि भट्याउन थाल्थ्यौं –

पाँचोटा रुपियाँ......देउसिरे
तर काटी खाउलाउ......देउसिरे
झिकेर लैजाऊ    ......देउसिरे
भोलि चुरा लाउलाऊ......देउसिरे
हामी छाडी जानेछौं    ......देउसिरे
सीदा मात्र लानेछौं......देउसिरे

यसरी घुर्कि लगाएर भए पनि दुई चार पैसा त थप्न करै लगाउँथ्यौं । पछि थप्न आउँदा चाहिँ घरका अरु सदस्यहरु आउँथे । कतै कतै चाहिँ माइती आएका चेलीबेटीहरुले पनि थपिदिन्थे । पचास–सय राखे भने त हामीलाई लाख हुन्थ्यो । 

. . . . . . . . . . 

देउसिरे भन्ने शैली पनि हाम्रो गजबको थियो । त्यतिखेर सबैले बडो मिलाएर देउसिरे भन्थे । खैंजेडी, मादल आदि बाजा लिएर मात्र देउसी खेलिन्थ्यो । गुरुले बीचमा बसेर भट्याएपछि सबैले एकै स्वरमा देउसिरे भन्थे । देउसिरेमा हामी त्यतिखेरको व्यवहारिक कुराहरु भन्थ्यौं । त्यही भएर पनि रमाइलो लाथ्यो । कहिलेकाहिँ बीचबीचमा गीत पनि गाउँथ्यौं । गीत गाउँदा त झनै रमाइलो हुन्थ्यो । कुनै कुनै घरमा चाहिँ ख्याली पनि भन्न लगाउँथे । हामी ख्याली पनि भन्थ्यौं–

राजाको खोपियामा सुनको काइँयो, लट्टा प¥यो रानीको केश
फाटिदिए बादलु, हेर्थे होला माइतीको देश

कहिले काहिँ हामी छड्के नि गाउँथ्यौं । 
खोलाखाली माछा मारी ल्याउँला
केलाई गुन्द्रुकको तिउन्
गाउँभरि तरुनी
बुढी स्वास्नी केलाई ल्याउँला...

. . . . . . . . . . 

घरबेटीले दिएको दानदक्षिणा लिएपछि आसिक नदिई हिँड्दैनथ्यौं । उनीहरु के आसिक देलान् भनेर ध्यानपूर्वक सुन्थे । हामी भन्थ्यौं–

१६ देउसी भाई......देउसिरे
यो बडा घरमा......देउसिरे
अहिले आउँदा......देउसिरे
छ्वालीको छानो ......देउसिरे
अर्को साल आउँदा......देउसिरे
जस्ताको छानो ......देउसिरे
होइ जाओस् ......देउसिरे
खरको दाँती......देउसिरे
१६ भाइ देउसे ......देउसिरे
लागौं अब ताँती......देउसिरे

त्यतिखेर दुई पाखे र चार पाखे घरहरु हुन्थे । छ्वाली र खरले छाएको । ढुङ्गा र जस्ताले छाएको घर त धनीमानीको मात्र हुन्थ्यो । त्यही भएर हामी जस्ताको छानो होओस् भनेर आशिक दिन्थ्यौं । जस्ताकै छानो छ भने चाहिँ अरुअरु आसिक दिन्थ्यौं । 

. . . . . . . . . . 

राती देउसी खेल्दा कसैकसैको घरमा चाहिँ ढोकै खोल्थेनन् । भित्र दियालो बलेको पनि देखिँदैनथ्यो । अनि रातभरि करायो, दक्षिणा हरायो भनेजस्तो हुन्थ्यो । हामीलाई नरमाइलो लाग्थ्यो । अनि कसैकसैले त त्यस्तो घरको ढोकामा सिस्नु झुण्ड्याइदिने पनि गर्थे । भोलिपल्ट उठेर ढोका खोल्दा सिस्नुले पोलोस् भनेर त्यसो गरेका । हामीले चाहिँ त्यतिसम्म गरेनौं । 

. . . . . . . . . . 

देउसिरे खेलिसकेपछि अन्तिममा हामी पैसा भाग लगाउँथ्यौं । सबैले विश्वास गरेको व्यक्तिले पैसा राखेको हुन्थ्यो । एउटाको भागमा ३०–४० रुपियाँ पथ्र्यो । त्यही पैसा हामी भोलिपल्ट दिदीबहिनीलाई भाइटीकामा दक्षिणा दिन्थ्यौं । त्यतिखेर पैसाको मुख देख्न गाह्रो हुन्थ्यो । देउसी खेलेर अलिअलि पैसा हात पर्दा हामी ज्यादै खुशी हुन्थ्यौं । देउसिरेबाट जम्मा भएको चामल लगेर तिहारपछि वनभात खान्थ्यौं । अहिले मान्छेहरु यसलाई पिकनिक भन्दारहेछन् । देउसिरे खेलेर जम्मा भएको चामलको भात साह्रो मिठो लाग्ने । त्यतिखेर गाउँमै फलेको फलामे चामल हुन्थ्यो । नाचगान गरेर जंगलै थर्काउँदै हामी बनभात खान्थ्यौं । 

. . . . . . . . . . 

त्यही रौसले होला अहिले पनि मलाई देउसिरे खेल्न मन लाग्छ । त्यही भएर आठ–दश जना बुढापाका जम्मा गरेर मैले यसपाली एफएममा देउसिरे गीत रेकर्ड गराएको छु ।

-हेर्नुहोस् भिडियो, उहिलेको देउसिरे भाका...

(विकासखबर डटकम टिमले केसीसँग गरेको कुराकानीमा आधारित)



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)