Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महिलालाई टेम्पो चालक तालिमको समापन

दिगो आयआर्जन तथा सिप विकासको लागि महिलाहरुलाई एक महिने विद्युतीय टेम्पो चालक तालिमको आज एक कार्यक्रमबीच समापन गरिएको छ । अन्तरपार्टी महिला सञ्जाल मकवानपुरका अध्यक्ष लक्ष्मी पाख्रिनको अध्यक्षता तथा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अहिला विकास अधिकृत शोभा साह, जिविस मकवानपुरका बरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापा, अन्तरपार्टी महिला सञ्जाल मकवानपुरका पूर्व अध्यक्ष लक्ष्मी माझी लगायतको आतिथ्यता रहेको थियो ।

अन्तरपार्टी महिला सञ्जाल मकवानपुरले जिविसको आर्थिक सहयोगमा सञ्चालन गरेको तालिममा १५ जना सहभागी भएका थिए । सञ्जालले तालिम लिन चाहने महिलाहरुको निवेदन आह्वान गरेकोमा समावेशी तथा आवश्यकताको आधारमा छनोट गरी तालिम दिएको अन्तरपार्टी महिला सञ्जाल मकवानपुरका निवर्तमान अध्यक्ष बालकुमारी डल्लाकोटीले जानकारी दिनुभयो । तालिमको अनुभव सुनाउँदै सहभागी लक्ष्मी विश्वकर्मा र रमिला घलानले यसअघि गाडी देख्दा डर लाग्ने गरेकोमा अब राम्ररी चलाउन सक्ने बनेको बताउनुभयो । तालिमले आफूलाई टेम्पो चलाउन सक्षम बनाएकोमा खुसी व्यक्त गर्दै उहाँले अटो रिक्सा किन्ने र लाइसेन्स लिने प्रक्रियामा पनि केही सहयोग पाए काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैबीच, दिगो शान्ति, आयआर्जन तथा सीप विकासको लागि ५ दिने अन्तरक्रिया तथा प्रस्तावना लेखन तालिमको आजै उद्घाटन गरिएको छ । स्थानीय विकास अधिकारी मैनाली, अतिथिहरु र अन्य सहभागीले एकैसाथ थपडी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा विभिन्न १८ वटा गाविसबाट मानव बेचविखन बिरुद्धको सञ्जालका २–२ जनाका दरले ३६ जना सहभागी भएका छन् ।