nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर पदयात्राको एउटा कथा...

unyuchaur-1692457410.jpg

थाहानगरको विकासको आधार, कृषि पर्यटन र पूर्वाधार । पर्यटनको सन्दर्भमा अहिले थाहा नगरपालिकामा पदमार्ग, पद यात्रा बहुचर्चित बनेको छ । विशेषगरी पालुङ–आग्रा पदमार्ग अहिले पदयात्रीहरुको रोजाइ बनेको छ । यो थाहा नगरपालिकाको लागि विशेष गर्वको विषय हो । यसको प्रर्वधनका लागि थाहा नगरपालिकाका गणेश विष्ट, माधब कार्कीसहितका युवाहरु विशेष सक्रिय छन् । पदयात्राकै मेसोमा संगालिएका  अनुभव र बटुललिएका जानकारीलाई समेटेर गोपीचन्द्र कार्कीलिखित सेतोपाटीमा छापिएको सामग्री यहाँ जस्ताको त्यस्तै राखिएको छ । 

‘अस्पताल डाँडा’ मा जुका थेरापी

मौर्य सम्राट अशोक बुद्धका अनुयायी थिए। एउटा ठूलो युद्धपछि राजपाठ छाडेर बुद्धधर्मको प्रचारमा निरन्तर लागे। बुद्ध जहाँजहाँ पुगेका थिए उनी पनि त्यहीँ त्यहीँ पुग्दै स्तुप, स्मारक बनाउँदै हिँडेका थिए। राजा अशोक, छोरी चारुमतीसँग ईशापूर्व २७३ मा लुम्विनी पुगेका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ।

लुम्बिनीबाट छोरी चारुमती काठमाडौं आउँदा चित्लाङ भएर आएकी थिइन्। त्यसै क्रममा नेपाल मण्डल आउने गौंडो चित्लाङमा उनले ‘चैत्य’ बनाएकी थिइन्। त्यही चैत्यसँगै लङ मिलाएर घर बनेपछि ‘चैत्यलङ’ भन्दा भन्दै अपभ्रंश भइ पछि चित्लाङ भन्न थालियो। उनले बनाएको त्यो चैत्य सातधारा नजिकै अहिले पनि छँदैछ। त्यस्तै चैत्य जाने बाटोलाई नेवारीमा ‘चैत्य वनेगु लँ’ भनिन्छ। यही ‘चैत्य वनेगु लँ’ बाटै चित्लाङ नाम रहन गयो भन्ने जनश्रुति रहेको छ ।

हामी चित्लाङ, पालुङ जानका लागि महादेवस्थान चेकपोष्टबाट चन्द्रागिरि केबलकार जाने बाटो हुँदै चुनदेवीतिर अघि बढ्यौं। यो बाटो चित्लाङ, पालुङ, हेटौंडा पुग्ने बाटो हो।

ठूलो पहिरो नजाँदा अहिले यो बाह्रै महिना गाडी आउजाउ गर्नसक्ने भएको छ। तीनै तहका राज्यहरूले ध्यान दिने हो भने यो बाटो कृषिउपज तरकारी काठमाडौं ल्याउन वा पर्यटकीय हिसाबले बाह्रै महिना घुम्न सकिने छोटो, रमाइलो हरियाली चित्लाङ, पालुङ हुँदै टिस्टुङ, दामन, हेटौंडासम्मको यात्रा गर्न सकिन्छ। घुम्न रूचाउनेहरूलाई घुम्ने ठाउँसम्म आवतजावत गर्ने सडक चुस्तदुरूस्त भैदिने हो भने यात्राका लागि कुनै साइत जुराइ रहन पर्दैन।

साउन महिनाको २० गते।

मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङ हुँदै पालुङ वरपर घुम्न जानेक्रममा तीनथानाबाट बिहान ५:३० मा गाडी चढ्यौं।

घुम्न रूचाउनेहरूको समूहले बनाएको ‘द वाल्कर्स ’ यसको आयोजक थियो।  घुम्न लत लागेकाहरू असार होस् वा साउन, झरी होस् वा बादल वा उखरमाउलो गर्मी र कठ्याङ्ग्रिने चिसो नै किन नहोस् घरमा बस्दैनन्।

भनिन्छ नि झरी बादल, गर्मी जाडो भन्नेहरू कहीँ पनि पुग्न सक्दैनन्। हाम्रो नेपालमा बाह्रै महिना घुम्न मिल्ने पर्यटकीय क्षेत्रहरू छन्। ती हरेक क्षेत्रमा पुग्दा बाह्रै महिना ऋतु अनुसारका दृश्यहरूको मनोरञ्जन लिन सकिन्छ।

चित्लाङ पुगेर मनोज भाइको पसलमा चिया खायौं। त्रिभुवन राजपथ बन्नुअघि चित्लाङ क्षेत्र विशेष थलो नै थियो। राणाकालमा नेपाल खाल्डोबाट बाहिर जानेहरू चन्द्रागिरि, चित्लाङ, कुलेखानी, भीमफेदी, हेटौंडा, अमलेखगन्ज, वीरगन्ज हुँदै रक्सौल पुग्थे।त्यसक्रममा राणाहरूलगायत अन्य बटुवाहरू चित्लाङमा बास बस्दथे। त्यसैले त्यतिबेला बाहिर जाने र उपत्यका भित्रिने नाका रहेकोले यो अति नै चहलपहलको ठाउँ थियो।

चित्लाङको पुरानो नाम चित्रापुर हो।

चित्लाङ हाल थाहा नगरपालिकाको ९ नंं वडामा पर्दछ। यसअघि दुई पटक चित्लाङमा घुम्दा त्यहाँको बुढापाकाको कुरा सुन्दा यहाँ थुप्रै शिलालेखहरू बेवारिसे अवस्थामा अझ भनौँ हँसिया र खुर्पी उदाउने ढुङ्गाका रूपमा यत्रतत्र रहेका छन्, धेरै त हराइ पनि सके। यी पुराना शिलापत्रको संरक्षण गर्नेतिर कसैको ध्यान गएको देखिन्न भन्ने गुनासो सुन्न पाइन्थ्यो।

चित्लाङबाट हामी दामन, हेटौंडा निस्कने बाटोतिर लाग्यौं त्यसलाई छाडेर अब पालुङ लाग्ने सडक हुँदै कुन्छालतिर लाग्यौं। यता गोपालीहरूको बस्ती छ।

पुराना टायल झिंगटीका घरहरू झुरुप्प झुरुप्प रहेका बस्तीहरू अझै देख्न सकिन्छ। कहीँ पिच गरिएको, कहीँ ग्राभेल भएको बाटो हुँदै हामी प्रहरी चौकी अगाडिको बुद्धचोकमा पुगेर केही फोटोहरू खिच्यौं। यहाँबाट दामन ११ किमी र हेटौंडा ६७ किमी पर रहेछ। हामी गाउँबस्ती हुँदै पिच गरिएको सडकै सडक डाँडाबास स्मारक पुग्यौं। स्मारकमा पानीको आकर्षक फोहोरा रहेछ। यो यसै वर्ष करिब २३ लाखमा निर्मित भएको कुरा ढोकामै रहेको सूचना बोर्डले बताइरहेको थियो।

घुमघाम, फोटो, टिकटक र सेल्फी हानेर निस्कियौं। बिहानीको खाजा खान हामी बाटोमुनिको ‘रोजाइ होमस्टे’ पुग्यौं।

प्रोपाइटर युवा गणेश लामा दम्पतीले २५ जना पदयात्रीलाई फूलका गुच्छा दिँदै स्वागत गर्नु भयो।

दोस्रो तलाको आधा भागमा गोलो पारिएर राखेको मेचमा हाम्रो आसन जम्यो। आधा भागमा चाहिँ पहिलेदेखि नै आलुले आसन जमाइरहेकै थियो।

सुरूमै सगुन आयो तीनपाने, नखानेलाई तात्तातो चिया। स्थानीय उत्पादनले बनेका सेल, अण्डा, अचार, कोदोको पुवा, कचौराभरि राजमा मिसिएको आलुको तरकारी, भुटेको मकै भटमासले सजिएका थाल हातहातमा आइपुगे।

बिहानी खाजा थपिथपि खुवाइयो। मटानमा थुप्रिएको आलु देखेर मन थाम्न नसक्नेहरूले ढकको दुई सयमै काठमाडौं ल्याइपुर्‍याए।

फोटो पत्रकार युवा भाइ गणेश विष्टले पदयात्राको बाटोबारे रोचक ढंगले जानकारी दिए। पदयात्रा उन्यूँ चौरबाट सुरू भयो। उन्यूँ चौर खप्तडतिरको सानो पाटन जस्तै रहेछ। हरियाली थुम्का थुम्की भएको सुन्दर चउर रहेछ। भोकले खरिएर सलबलाएका जुकाको वास्तै नगरी टिकटक बन्यो, सेल्फी चल्यो। यहाँको सुन्दरतामा डुब्दा साँच्चै भूस्वर्गकै आनन्द मिल्यो।

थोरै उकालो लागेपछि अण्डा डाँडामा पुग्यौं। यसलाई स्थानीय भाषामा ‘नागा फुम गाङ’ भनिँदो रहेछ। यो हेर्दा अण्डा आकारकै थियो। ठाउँ-ठाउँमा राता च्याउ भेटिएका थिए। हाम्रा साथमा स्थानीय केसी भाइ र लामा भाइ भएकाले घना जङ्गल पार गराउँदै मन्त्र गुफा पुर्‍याए।

पहिले पहिले झाँक्री विद्या सिकाउने गुरूले मन्त्र सुनाउन यहाँ लाने भएकाले यस गुफालाई मन्त्र गुफा भनिएको रहेछ। मन्त्र गुफाको प्रवेशद्वार सिधै उभिन सकिने, त्यसपछि क्रमश: कुप्रिँदै कुप्रिँदै गुफाबाट बाहिर निस्कन भुइँमै सुतेर निस्कनु पर्ने, मानव विकासको सृष्टि चक्रको ठीक उल्टो।

वनको सानो गोरेटो बाटो पत्ता लगाउँदै हामी समुन्द्र सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको 'अस्पताल डाँडा' पुग्यौं। जहाँ हुस्सु र कुइरोका आनन्द लिन सकिने। यहाँ वन डुन्युको साग प्रशस्तै रहेछ। हाम्रै एक जना साथीले भकाभक टिप्न थालेपछि अरू पनि कस्सिए र झोलाभरी ल्याउन भ्याए। पहिले पहिले अस्पताल नभएका बेला गाईवस्तु चराउँदै यहाँ आइपुग्ने बिरामी गोठालाहरू यस डाँडामा बसेर फर्कंदा सन्चो भएकोले, पछि पछि बिरामी हुनेहरू यहाँ आएर बस्दा रोग निको भएकोले यस डाँडाको नामै अस्पताल डाँडा रहेको कुरा गणेश विष्टले बताउनु भयो।

हामीले भने बसुन्जेल जुकाको थेरापी मज्जाले लियौँ।

अर्का स्थानीय केशर लामाले बताए अनुसार पारिपट्टी देखिने डाँडामा पहिले रानीपोखरी थियो। त्यहाँ अहिले पनि त्यसको भग्नावशेष रहेको छ, त्यहाँ इँटाका टुक्राहरू पाइन्छ। बुढापाकाहरूले भने अनुसार यहाँको पानी दलाई लामाले लगेपछि रानी पोखरी सुकेको भनिन्छ। अर्को किंवदन्ती अनुसार यहाँ रहेको ठूलो सर्प कसैले मारिदिएपछि रानीपोखरीको पानी सुक्दै गएको कुरा मेरा बा लगायत अरू बुढापाकाहरूले भनेको भनी हामीलाई सुनाउनु भयो।

अस्पताल डाँडाको थाप्लोमा एकछिन सुस्ताएर हामी घना जङ्गलको चिसापनी, गान्टेचौर, खोर थाप्रे, गैरी भन्ज्याङ हुँदै ओर्लियौं। जहाँबाट पालुङ बजार र वरपरका मनमोहक दृश्य हेर्न सकिने रहेछ।

ओरालो न सम्म, बाटाभरि हरियो लेउ जमेकाले धेरैले माछा मार्दै पदयात्राको अर्को महत्वपूर्ण स्थल भकारी ढुङ्गा पुग्यौँ। भकारी ढुङ्गा वास्तवमै भकारीजस्तै थियो।

यस क्षेत्रको अर्को महत्वपूर्ण ऐतिहासिक क्षेत्र पालुङ गढी हो। जहाँ पृथ्वीनारायण शाहले एकीकरणका सिलसिलामा बस्ती माथिको उँचा डाँडामा गढी बनाइएको रहेछ। उतिबेला बनेका ढुङ्गाका ठूलाठूला पर्खाल अहिले पनि यहाँ रहेछन्। त्यस क्षेत्रको अवलोकन पछि हामी बस्ती हुँदै तल रहेको फाँट बजार पुग्दा करिब ३:३० बजेको थियो। बजार पूर्व-पश्चिमको बनावटमा रहेछ।

पालुङका तरकारी काठमाडौं, हेटौंडा र वीरगन्ज पुग्न बजारका सडकपेटी, पसलका ठाउँ-ठाउँमा बोरामा प्याक भएर बसिरहेका थिए बन्दा, काउली, भान्टा, खोर्सानी, मूला आदि। चारैतिर डाँडाले घेरिएको पालुङ फाँट विभिन्न तरकारीले भरिएका थिए। त्यसो त चारैतिरका वन जङ्गल पनि रूखै रूखले भरिएका देखिन्छन्।

अहिलेसम्म डाँडाको बस्ती खेतीयोग्य फाँटमा ओर्लिएको छैन त्यसैले नीलो आकाशमुनि फाट्फुटृ घर, विभिन्न तरकरीले भरिपूर्ण हरियाली फाँट र हिउँका थुप्राजस्ता सेता टनेलबाहेक अरू केही देखिँदैन।

पालुङ क्षेत्र ऐतिहासिक, प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्रबाहेक कृषि पर्यटनका लागि पनि अति महत्वपूर्ण रहेछ। चित्लाङ, पालुङ क्षेत्रमा देशभरिका कृषि पर्यटकहरूलाई अध्ययन थलो बनाउन सकिन्छ। यहाँका परिश्रमी कृषकहरूका मेहनतले फाँटहरू हराभरा भएको देख्दा, तीनै तहका सरकारले यो सहरबासीका तरकारी भण्डार क्षेत्रलाई जथाभावी बनिने सिमेन्ट कंक्रिटका थुप्रोबाट जोगाउन सके पालुङ पछिसम्मै पालुङ हुने थियो।

आफू घुम्न पुगेको मकवानपुर जिल्लामा पर्ने ‘पालुङ’ को नाम चाहिँ यसरी रहेको रहेछ, पालुङको ‘त छेँ ’टोलमा एउटा लामो ढुङ्गा छ। यसलाई नेवारी भाषामा ‘पालोँ’ भनिन्छ।  नेवारी भाषामा ‘पा ’ भनेको ठूलो र ‘लोँ’ भनेको ढुङ्गा हो। ठूलो ढुङ्गा भएको हुनाले यस स्थानलाई ‘पालोँ ’भनिँदा भनिँदै यसैबाट अपभ्रंश भई पालुङ रहन गएको रहेछ। अर्को भनाइ अनुसार नेवारी भाषामा ‘पा’ भन्नाले डाँडा र ‘लुँ’ को माने सुनौलौ सुन्दर अर्थिने हुँदा वरिपरि रमणीय डाँडा भएकाले पनि यो थलोको नाम ‘पालुँ’ हुँदै पालुङ हुन गएको भनाइ छ।

तामाङ भाषामा ‘पा’को अर्थ देश, थलो हुन्छ भने ‘लुङ’ले डाँडाकाँडा भन्ने बुझाउँछ। यसरी हेर्दा डाँडाकाँडाले भरिएको सुन्दर मनोरम ठाउँलाई पालुङ भनिएको भन्ने जनश्रुति पाइन्छ।

फाँटबजारको उत्तरतर्फ घोप्टिएको पाथी आकारको डाँडामाथि पाथिभरा देवीको मन्दिर रहेछ। सिँढी चढेर त्यहाँ पुग्यौँ। चारैतिर देखिने सुन्दर दृश्यसँगै पाथीभरा देवीको मन्दिर अवलोकन गरेर हामी पेटपूजाका लागि तल रहेको डाँडाघरे होमस्टेमा ओर्लियौं। होमस्टेको प्रवेशद्वारमै डाँडाघरे बाको ठूलो तस्बिर रहेको थियो। उहाँकै अगाडि टेबलमा रुद्राक्षका माला थाक परेर बसेका थिए र ढकमक्क फूल सजिएका थिए।

होमस्टे (घरबास) को चलन अनुसार हातहातमा फूल, ५४ रुद्राक्षका फलबाट बनेका माला पहिर्‍याउँदै पदयात्रीलाई स्वागत गरिने चलन रहेछ।

'डाँडाघरे बा' को होमस्टेबारे बुझ्दा थाहा लाग्यो, ‘बा’ भारतीय सैनिक सेवाबाट रिटायर्डपछि खेतीपातीकै काममा सक्रिय हुुनु भएको रहेछ। उहाँलाई सबैले डाँडाघरे बाका रूपमा चिन्दा रहेछन्। बाको मृत्युपछि छोरा माधव कार्की लाहुरे बन्न छिमेकतिर नगइ आफ्नै थलोमा केही गर्ने सोचले उहाँकै सम्झनामा होमस्टेको नाम ‘डाँडाघरे बाको होमस्टे’ भनेर चलाउनु भएको रहेछ।

अतिथिलाई पूरै परिवार खटिएर पारिवारिक वातावरणमा स्थानीय उत्पादन खुवाउनु हुँदो रहेछ।

खानापछि हामीले घुम्नुपर्ने ठाउँ थियो जनताले हरेक कुरा थाहा पाउनु पर्छ, थाहा पाउने प्रयत्न गर्नुपर्छ, थाहा दिनुपर्छ भन्ने ‘थाहा’ का प्रणेता रुपचन्द्र विष्टको शालिक भएको स्थानमा, चौंसठठी ज्योर्तिलिङ्गका रूपमा कहलिएको शिव मन्दिर, शिखर शैलीको गोरखनाथ मन्दिर। पानी झम्केरै परेको, बेला घर्किएको, फर्कंदा बाटो अप्ठ्यारो र लामै रहेकोले ती ठाउँमा पुग्न सकेनौं। बाँकी ठाउँका लागि पुनः आउने  मनसुवा लिएर पालुङ आग्रा पदयात्राको घुमाइबाट बिदा लिएर हिँड्यौं।

जाँदा ठूला-ठूला पहरा र भिर देखेर डराएको मन फर्कंदा झमक्कै रातमा एकैपटक देउराली आएर रोकियो। देउरालीबाट उपत्यकाको झलमल हेर्दै गाडी ओर्लियो। काठमाडौं खाल्डोका हामी भ्यागुताहरू घुमाइका क्रममा सहृदयी साथीहरूको आत्मीय भाव सम्झदै, घुमाइले हाँसेर चंगा भएको मन मुटु मस्तिष्क लिएर, बिहान सखारै उडेको चरीझैं बेलुका आफ्नै गुँडमा फर्कियौं।