Wednesday, 2nd September, 2026
वि.स.

जिरो होम डेलिभरीका लागी एम्बुलेन्स भाडा गाउँपालिकाले प्रदान गर्ने: अध्यक्ष लामा

IMG_20181231_072735-1546220853.jpg

गर्भवती महिलाहरुले स्वास्थ्य चौकीमा नै प्रसुती गराउन एम्बुलेन्समा गएमा गाउँपालिकाले नै एम्बुलेन्स भाडा प्रदान गर्ने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेल पौवामा चन्द्रगढी स्वास्थ्य चौकीको उद्घाटन समरोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लामाले यस्तो बताएको हो ।  घरमा नै प्रसुती गराउदा बच्चा र आमाको स्वास्थ्यमा हुने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित मातृत्वका लागी गाउँपालिकाले जिरो होम डेलिभरी अभियान अन्तर्गत सो योजना ल्याइएको बताए ।


इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनको सभाध्यक्षतामा संचालित कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्यता रहेको थियो । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा निजि आवसमा ३ वटा कोठा भाडामा लिएर हालको लागी स्वास्थ्य चौकीको सेवा प्रदान गर्ने व्यवस्था गरिए पनि निश्चित समयपछी पायक पर्ने जग्गा मिलेमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गर्ने योजना रहेको सभाध्यक्ष महर्जनले बताए । 


चन्द्रगढी स्वास्थ्य चौकीको स्थापना भए पश्चात इन्द्रसरोवर गाउँपालिकाको प्रत्येक वडामा एक एक वटा स्वास्थ्य चौकी भएको छ । स्वास्थ्य चौकीको नियमित सेवा प्रदान गर्नका लागी इन्द्रसरोवर गाउँपालिका भित्रै भएका स्वास्थ्य स्वयमसेविकाहरुलाई नै समायोजन गरिने र केहि समय पछि नै नेपाल सरकार मार्फत कर्मचारी दरबन्दी पुरा गरिने इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ्य संयोजक प्रवेश पौडेलले बताए । तत्कालका लागी चन्द्रगढी स्वास्थ्य चौकीमा ५ जना स्वयंसेविका र ३ जना कर्मचारी मार्फत सामान्य स्वास्थ्य सेवा मात्र प्रदान गरिने उनले बताए ।


आइतवार नै सो कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमा कुमारी लामाको चन्द्रगढी स्वास्थ्य चौकीका प्रमुख रमेश कुमार यादवबाट रक्तचाप जाँच गरी स्वास्थ्य सेवा सुरु गरिएको छ ।

स्वास्थ्यमा गाउँपालिकाद्वारा योजना थप
महिला स्वयमसेविकाहरुलाई स्वास्थ्य सेवामा अझ सक्षम र उत्साहित बनाउनका लागी गाउँपालिकाले प्रतिव्यक्ति मासिक १५ सय रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने, गर्भवती महिलाहरुको लागी भिडियो एक्से क्याम्प संचालन गर्ने, गाउँपालिकाको सिस्नेरीमा ल्याव टेस्ट संचालन भैसकेको र अब फाखेल स्वास्थ्य चौकीमा पनि ल्याव टेस्ट संचालन गर्ने, वृद्धहरुको प्रेसर र सुगर जाँच कार्यक्रमलाई निरन्तरता दिने, पाटन अस्पताल संगको समन्वयमा स्वास्थ्य चौकी तथा अस्पताल सम्म जान नसकी घरमै उपचार नपाएर बसेका असहाय वृद्धहरुको लागी घरमै स्वास्थ्यकर्मी गएर अवस्था हेरी उपचारको लागी व्यवस्था मिलाउने, इन्द्रसरोवर गाउँपालिका वडा नं २ को भालुखर्कमा स्वास्थ्य केन्द्र स्थापना गर्ने लागायतका कार्यक्रमहरु गर्न गाउँपालिकाले योजना बनाएको कार्यक्रमका बिच इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताए ।


कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, गाउँपालिकाका स्वास्थ्य संयोजक प्रवेश पौडेल, कार्यपालिका सदस्य मञ्जु रुम्बा, राजनीतिक दल, स्वास्थ्य चौकी प्रमुखहरु, स्वयमसेविकाहरु, टोल विकास समितिका अध्यक्षहरु, समाजसेवीहरु र सञ्चारकर्मीहरुको आतिथ्यता तथा सहभागिता रहेको थियो ।

 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Thaha-002-1774415222.gif