Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी, विषालु च्याउ कसरी चिन्ने ?

mushroom-1622780415.jpg

मकवानपुरको विकट भेगमा रहेको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । १९ जेठमा घरनजिकैको जंगलबाट खोजेर ल्याएको च्याउ  पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् । 

बिरामीमध्ये ३ वर्षीय बालक प्रेमबहादुर प्रजा गम्भीर रहेको र उपचारका लागि एम्बुलेन्समार्फत चितवनको भरतपुर पुर्‍याइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

हरिशरण प्रजाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएसँगै स्वास्थ्यमा समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । हरिशरणकी पत्नीसहित अन्य छोराछोरीको अवस्था सामान्य भए पनि तीन वर्षीय छोराको अवस्था गम्भीर रहेको मल्लले जानकारी दिए ।

राक्सिराङमा विषालु च्याउ खाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् । ‘अनिकालका कारण यस्तो अवस्था सिर्जना भएको हो । त्यहाँ उत्पादित बालीले वर्षभरि खान पुग्दैन । त्यस कारण उनीहरू जंगलमा पाइने खानेकुरा संकलन गरेर खान्छन्,’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

 विषालु च्याउ कसरी चिन्ने ? 

वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तत्व पाइने स्वादिष्ट तरकारी होे । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ ।

विषालु च्याउको सेवनबाट विश्वभरि नै मानिसको मृत्यु हुने गर्छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् । नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउ मात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो हुन्छ । 

सामान्यतया खानयोग्य च्याउको माथि रहेको छाता छुँदा चिप्लो हुने गर्छ । यदि खस्रो भएमा उक्त च्याउ विषालु हुन्छ । 

वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पुर्‍याउनुपर्छ । तितो स्वाद, नमीठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुन् सक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् । 

विषालु च्याउ धेरै समयसम्म रहन्छ । जबकि, खानयोग्य च्याउ केही दिनपछि कुहिएर जाने गर्छ । विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ । यो हेर्दा सफा र आकर्षक देखिन्छ । 

कहिलेकाहीँ खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुन सक्छ ।

विषालु च्याउ खाँदा देखिने लक्षण

  • च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ । 
  • विषालु च्याउ खाँदा सुरुमा बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्छ । यसपछि बिरामीलाई केही सन्चो नभएको जस्तो महसुस हुन्छ । विषालु च्याउ खाइसकेपछि यसको विष शरीरको कलेजोसम्म पुग्छ । पित्तसँग मिलेर नयाँ तत्वको निर्माण गर्छ, जसले बिस्तारै मिर्गाैलाको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ । अन्त्यमा कलेजो र मिर्गौला फेल भई मृत्यु हुने सम्भावना अधिक रहन्छ । 
  • यसको असर हरेक उमेर समूहमा फरक हुन सक्छ । जस्तै, बालक तथा वृद्धवृद्धा छिटो प्रभावित हुने गर्छन् । 

कसरी बच्ने ?

  • हाम्रो समाजमा विषालु च्याउको सेवनबाट हुन सक्ने हानिको बारेमा खासै चर्चा गरिँदैन । यसका लागि समाजमा जनचेतना जगाउनु जरुरी हुन्छ । 
  • विशेषगरी बालबालिकालाई यसबारे जानकारी गराउनुपर्छ । आफूले राम्ररी चिनेको च्याउ मात्र प्रयोगमा ल्याउनुपर्छ । 
  • सकेसम्म विभिन्न प्रजातिका च्याउ मिसाएर पकाउनुहुँदैन । त्यस्तै, संकलन तथा भण्डारण गर्दा सजग रहन आवश्यक हुन्छ । 
  • च्याउको विष लागिहालेमा बान्ता गराउने र पखाला लगाउने कुनै विधि अपनाउन सकिन्छ । सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । जसले गर्दा बिरामीलाई विषले गर्न सक्ने हानिबाट बचाउन सकिन्छ । तर, च्याउको विषको उपचार निकै कठिन हुने र धैरैजसोको मृत्यु हुने भएकाले यसको प्रयोगमै सजगता अपनाउन जरुरी छ । (डा.विमललाल कर्णको सहयोगमा)

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०