Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लकडाउनको पीडाः ‘हिरोको रोल’ लास्टमा नि आएन ! (भिडियो सहित)

मकवानपुरको थाहा नगरपालिका तरकारी उत्पादनको ‘हब’ हो । यहाँका किसान तरकारी उत्पादनमा दिनरात मिहिनत गर्छन् । यिनै किसान मध्येका एक हुन्, निरोज प्रधान । जो मुलुकमा सशस्त्र द्वन्द्ध हुँदा समेत देशकै ‘गाउँले हिरो’ कहलिए। उनी यो मानेमा कि, गाउँबाट विस्थापित नभई उत्पादनमा लागेका मिहिनती कृषक भएकै कारण गाउँले हिरो भए, धेरै पुरस्कार पाए अनि प्रशंसित भए । उनी अहिले ४८ वर्षका भए । कृषक निरोज प्रधान कच्चा उमेरबाटै खेतीपातीमा लागे, यसमै भविष्य देखेर रोजगारीका लागि देश छोड्नूको त कुरे छाडौ, गाउँ पनि छाडेनन् । परम्परागत खेती तोडेर आधुनिक खेतीपातीमा लाग्ने तत्कालिन पालुङ गाविसमा उनी पहिलो व्यक्ति पनि हुन् । उनी अहिले पनि कृषिका हिरो नै हुन्, नयाँ खेती प्रविधि भित्र्याउने मिहिनती युवा हुन् । 

कृषक निरोज प्रधान । फोटो: गणेश विष्ट/थाहा टाइम्सकृषक प्रधानको अहिले ४ वटा ठूल्ठूला आधुनिक टनेल छन् । उनी यहि टनेलमा उत्पादनमा आधुनीकता दिन्छन् र बजार पठाउँछन् । खुल्ला रुपमा पनि उनले खेती गरेका छन् । कृषक प्रधानले नेपालमै नौलो रातो, पहेँलो रंगको भेडे खुर्सानी खेती सुरु गरेका छन् । यो खेती थाहानगरका लागि मात्र नयाँ होईन नेपालकै लागि नयाँ खेती हो । नेपालमै उनका टिमले यो खेती भित्र्याएका हुन् । उनले थाहा नगरपालिका वडा नम्बर २ मा चारवटा टनेल बनाएर सुरु गरेको नयाँ प्रजातिको भेडेखुर्सानी काठमाडौंका पाँचतारे होटेलसम्म पुग्छन् । गतवर्ष ट्रायलका रुपमा शुरु गरेपनि राम्रो उत्पादन दिएपछि उनी यसतर्फ आकर्षित भएका हुन् । यसपालि भेडेखुर्सानीको उत्पादन झन राम्रो छ । एक सिजनमा एकपटक मात्र उत्पादन हुने भेडेखोर्सानीबाट राम्रो आम्दानी गरेका कृषक निरोज केही महिनादेखि निराश छन् ।

२०६८ सालकाे समाचार कटिङकोरोना नियन्त्रणका लागि छ महिनादेखि पटकपटक जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण  भेडेखुर्सानी टनेलमै कुहिन थालेपछि उनी निराश देखिएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट केही अनुदान सहयोग पाएपछि चारवटा टनेलमा दुई हजार बोट क्याप्सिकनबाट व्यावसायिक खेती सुरु गरेका उनले निषेधाज्ञाको अवधिमा मात्र एक हजार केजी बोटमै कुहिएको टुलुटुलु हेर्नुको विकल्प नभएको गुनासो गरे । २५ लाख लागतमा चारवटा टनेल निर्माणपछि जापानबाट बिऊ खरिद गरी नेपालमै नौलो खेती सुरु गरेका निरोजले निषेधाज्ञाका कारण सुपरमार्केट, मार्ट र ठूला होटेलहरू पूर्ण रूपमा बन्द हुँदा क्याप्सिकन बोटमै कुहिन थालेको बताए । उनले अनलाइनबाटै सम्पर्क गरेर थेरथोर त बजार पठाए तर सोचे जति उत्पादन बजार पठाउनै सकेनन् । ‘असार, साउन र भदौमा मात्र फल्छ ।’ उनले भने, –‘यसको मुख्य बजार काठमाडौं हो, तर त्यही ठूलो सहर पूर्ण ठप्प हुँदा यता म बोटमा हेरेर निराश हुनुको विकल्प रहेन ।’ 

फोटो: गणेश विष्ट/थाहा टाइम्सलकडाउन र निषेधाज्ञाअघि प्रतिकेजी पाँच सयमा बिक्री गरे पनि अहिलेको अवस्थामा कुहाएर फाल्नुभन्दा तीन सय रुपैयाँ केजीमा एक–दुई क्विन्टल बिक्री भइरहेको उनले बताए । पाकिसकेपछि पनि बोटमै १५–२० दिन राख्न मिल्ने हुँदा अहिलेसम्म शतप्रतिशत घाटा नभए पनि यो महिनाभित्र सबै बिक्री गर्न नसके समस्या हुने उनको भनाइ छ । करिब १० वर्ष अघि ‘कृषिका हिरो’को रुपमा कहलिएका निरोजले आफूले उत्पादन गरेको सबै तरुकारी कुहिएर जाँदा समेत बजार पठाउन सकेनन् अर्थात ‘हिरोको रोल’ लास्टमा पनि आएन । 

कृषक निरोज प्रधानसंगको कुराकानी हेर्नुहोस् भिडियोः

यसैबीच निरोजको सिको सिक्दै रातो, पहेँलो भेडेखुर्सानी खेती गरेका अर्का किसान उमेश श्रेष्ठ अझ बढी तनावमा छन् । थाहा नगरपालिकाकै ३९ वर्षीय उमेशले चार हजार दुई सय बोट क्याप्सिकन रोपेका छन् । अहिले ती सबै पाकेर बोटमै कुहिने अवस्थामा पुग्दा उनी निकै चिन्तित छन् । ‘बोटमै कुहाएर राखौँ कि टिपेर फालौँ,’ उनले भने, ‘पसिना बगाएर हुर्काएको भेडेखुर्सानी बोटमै कुहिँदा नाफा–घाटाभन्दा खेर गएको चिन्ताले सताएको छ ।’

कृषक राजकुमार घिसिङ । फोटो: गणेश विष्ट/थाहा टाइम्सकोरोनाअघि आफूले फलाएको भेडेखुर्सानी थानकोट, सतुंगल, नैकाप, सीतापाइला हुँदै बालुवाटारसम्म बिक्री गर्ने गरेको उनले बताए । दसैँअघि जनजीवन सामान्य भए, उत्पादनको आधा बिक्री गर्न सकिने आशा कायमै राखेका छन् । 

अर्का किसान राजकुमार घिसिङको पीडा पनि उस्तै छ । आठ लाख लागतमा एक टन भेडेखुर्सानी उत्पादन गरेका राजकुमार अब कहाँ लगेर बिक्री गर्ने अन्योलमा छन् । ‘सबै क्षेत्र ठप्प छ, विशेषगरी होटेलमा सलादको रूपमा भेडेखुर्सानी प्रयोग गरिन्छ,’ उनले भने, ‘होटेल अझै बन्द भइरहे कुहाएर फाल्नुको विकल्प देख्दिनँ ।’